शनिबार, २६ सेप्टेम्बर, २०२६
08:23 | १३:०८

बाढी पीडितहरूको सहयोगार्थ लन्डनमा विशेष चित्रकला प्रदर्शनी गर्दै कलाकार गोविन्द साह ‘आजाद’

नेपाली लिङ्क सेप्टेम्बर २६, २०२६

लन्डन- नेपालको हिमाली क्षेत्रमा हालै आएको विनाशकारी बाढी पहिरो पीडितहरूको सहयोगार्थ चर्चित नेपाली कलाकार गोविन्द साह ‘आजाद’ ले लण्डनमा एक विशेष चित्रकला प्रदर्शनी आयोजना गर्ने तयारी गरेका छन्।

आगामी १६ अक्टोबरका दिन लन्डनस्थित ‘सुन्दरम ट्यागोर ग्यालेरी‘ मा आयोजना हुने उक्त प्रदर्शनीको उद्घाटन बेलायतका लागि कार्यवाहक नेपाली राजदूत बिपिन दुवाडीले गर्ने कार्यक्रम छ।

प्रदर्शनीमा राखिएका उत्कृष्ट चित्रहरूको लिलामीबाट सङ्कलित सम्पूर्ण रकम नेपालका बाढीप्रभावित समुदायको राहत तथा पुनःस्थापनामा सहयोग गरिनेछ।

आफ्नो कलामार्फत प्राकृतिक विपत्तिमा परेका देशवासीप्रति ऐक्यबद्धता जनाउन यो पहल गरिएको कलाकार साहले बताए।

“कला केवल सिर्जनात्मक अभिव्यक्तिको माध्यम मात्र होइन, यो मानिसहरूलाई जोड्ने र मानवीय पीडामा मलम लगाउने सशक्त माध्यम पनि हो,” साहले भने, “यस प्रदर्शनीमार्फत नेपालका बाढीपीडितहरूका लागि मैले सक्दो योगदान पुर्‍याउन चाहेको हुँ।”

राजविराजदेखि अन्तरराष्ट्रिय कला जगतसम्मको यात्रा

सन् १९७४ मा नेपालको राजविराजमा जन्मेका गोविन्द साह ‘आजाद’ समकालीन नेपाली चित्रकलाका एक प्रमुख अन्तरराष्ट्रिय नाम हुन्। हाल बेलायतको केन्टस्थित मार्गेटमा आफ्नो स्टुडियो बनाई बसोबास गर्दै आएका उनी लण्डनको ‘अक्टोबर ग्यालेरी’सँग आबद्ध छन्।

सानै उमेरदेखि चित्रकला र मूर्तिकलामा रुचि राख्ने साहले सन् १९९१ देखि १९९४ सम्म भारतको दिल्लीमा साइनबोर्ड तथा भित्ते चित्रकारका रूपमा काम गरेका थिए। सन् १९९५ मा काठमाडौँ फर्केर ललितकला क्याम्पसमा अध्ययन सुरु गरेका उनलाई क्याम्पस प्रमुख तथा वरिष्ठ कलाकार गोविन्द डङ्गोलले उनको लगनशीलता र अदम्य साहसको कदर गर्दै ‘लायन हर्ट’ को उपनाम दिएका थिए।


कलालाई शान्ति र सामाजिक चेतनाको माध्यम बनाउँदै साहले सन् २००० मा “२१ औँ शताब्दी कला र शान्तिको शताब्दी” भन्ने नाराका साथ नेपालभर तीन महिने साइकल यात्रा गरेका थिए। सो क्रममा उनले देशका विभिन्न भागमा चित्रकला प्रदर्शनी, कार्यशाला र शान्तिसम्बन्धी अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गरेका थिए।

पछि बेलायत आएका साहले सन् २००८ मा ‘विम्बल्डन कलेज अफ आर्ट’ बाट ललितकलामा स्नातकोत्तर पूरा गरे। उनका चित्रकलाहरू ब्रिटिश काउन्सिललगायत विभिन्न अन्तरराष्ट्रिय निकायहरूबाट प्रशंसित छन् भने विश्वका विभिन्न देशका व्यक्तिगत सङ्ग्रहहरूमा सुरक्षित छन्।

लण्डनमा हुन गइरहेको यो प्रदर्शनीले कला ग्यालरी र स्टुडियोभन्दा माथि उठेर सामाजिक दायित्व पूरा गर्न सक्छ भन्ने साहको दीर्घकालीन विश्वासलाई पुनः पुष्टि गरेको छ। कलाप्रेमी तथा नेपाली-ब्रिटिश समुदायलाई सक्दो सहभागी भई सहयोग गरिदिन आयोजकले आह्वान गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू