शुक्रबार, चैत १६, २०८०
08:53 | १४:३८

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव

रासस अप्रिल १५, २०२१

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट आज प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराइएको हो ।

अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको छ । प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका दुई प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । तीन प्रदेशसभा सदस्य भएको राष्ट्रिय जनमोर्चाले प्रस्तावका पक्षमा मतदान गर्ने प्रदेशसभा सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्य कुमार खड्काले जानकारी दिए ।

नेकपा विभाजित भएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बनिसकेपछि संविधानको धारा १८८ (२) अनुसार गुरुङले विश्वासको मत लिनुपर्नेमा संविधानले तय गरेको एक महिनाको समयसीमा नाघ्दासमेत विश्वासको मत नलिएर संविधानको अवज्ञा गरेको प्रस्तावक दलले जनाएको छ ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले विपक्षी दलले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि मुख्यमन्त्रीले हठात् अधिवेशनको अन्त्य गरेको भन्दै भर्त्सना गरे 

माओवादी केन्द्रको संसदीय दलका नेता हरिबहादुर चुमानले सरकारका विरुद्ध विकल्पमा सरकार दिनुपर्छ भन्ने कुरामा आफूहरू एकमत बनेको धारणा राखे । जनता समाजवादी पार्टीका हरिशरण आचार्यले आफूहरू सहमतिका साथ अघि बढ्दै प्राविधिक कुरा मिलाएर जाने बताए 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू