बुधबार, असार १२, २०८१
22:45 | ०३:३०

बेलायतसहित विश्व अर्थतन्त्रमा चुनौतिको वर्ष

विकलचन्द्र आचार्य अप्रिल १४, २०२१

विकलचन्द्र आचार्य

कोरोना महामारीले विश्व अर्थतन्त्रमा ठूलो नकारात्मक असर पारेको कुरा छर्लंङ छ । प्रारम्भिक आंकलन अनुसार सन् २०२० मा विश्व अर्थतन्त्र न्यूनतम २ दशमलव ४ प्रतिशतले कुल ग्राहस्थ उत्पादनमा ह्रास आएको छ । सन् २०१९ मा विश्व कुल ग्राहस्थ उत्पादन ८६.६ ट्रिलियन (८६, ६०० अर्ब) डलर रहेको अनुमान गरिन्छ । यसमा शून्य दशमलब ४ प्रतिशतले गिरावट आए ३ दशमलब ५ ट्रिलियन बराबरको आर्थिक नोक्सान हुन्छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२० मा विश्वको अर्थतन्त्र ४ दशमलब ४ प्रतिशतले गिरावट आएको प्रक्षेपण गरेको छ । यस संस्थाका अनुसार विश्व अर्थतन्त्रको नोक्सान सन् १९३० को दशकको ग्रेट डिप्रेसन पछिको सबैभन्दा बढी हो । संसारको ठूला अर्थतन्त्र भएका देशहरुमध्ये अर्थतन्त्र सन् २०२० मा वृद्धि हुने देश चीन हो जहां २ दशमलव ३ प्रतिशतले भएको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२१ मा भने विश्व अर्थतन्त्र ५ दशमलब २ प्रतिशतले बढ्ने अँंकलन गरेको छ । यसका लागि मुख्य भारतको ८ दशमलब ८ प्रतिशत तथा चीनको ८ दशमलब २ प्रतिशतले अर्थतन्त्र बढ्ने भविष्यवाणीमा निर्भर छ । भारतमा हाल बढिरहेको कोरोनाले कुन हदसम्म त्यहांको अर्थतन्त्रलाई असर गर्न सक्छ भन्ने एकिन गर्न हतारो हुनेछ तर खोप ब्यवस्थापन तथा अन्य स्वास्थ्य सजकताले असर गर्ने नै छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले बेलायतको अर्थतन्त्र सन् २०२१ मा पहिला भविष्यवाणी गरिएको ५ दशमलव ९ प्रतिशतबाट घटेर ४ दशमलव ५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । गत वर्ष १० प्रतिशतले कमी भएको बेलायतको अर्थतन्त्र सोचे भन्दा कम रफ्तारले अगाडि बढ्ने देखिन्छ । सन् २०२० मा विश्वका अति विकसित देशहरु मध्ये सबैभन्दा बढी कोरोनाले बेलायतको अर्थतन्त्रलाई प्रभावित पारेको छ । कोभिड १९ का अतिरिक्त बेलायती अर्थतन्त्र ब्रेक्जिटका कारणले पनि सन् २०२१ को पहिलो चौमासिकमा १ प्रतिशतले कमी आउने आंकलन गरिएको छ ।

बढ्दो बेरोजगारी तथा भविष्यको ब्यवसायिक अनिश्चयले गर्दा बेलायतको अर्थतन्त्र आगामी दिनमा धेरै चुनौतीमाझ गुज्रने देखिन्छ । सरकारले 
फर्लो स्किम अनुरूप दिंदै आएको तलब रोकिने बित्तिकै यसले अर्थतन्त्र तथा मानिसको जनजिविकामा असर पार्ने छ । पर्यटन, यातायात, होटल, रेष्टुरां लगायत थलिएका थुप्रै ब्यवसाय धरासायी हुने अवस्थामा पुग्न सक्छन् ।

बेलायतको ऐतिहासिक आर्थिक घट्नाक्रमहरुको विश्लेषण गर्दा गत सय वर्षमा करिब २५-३० वर्षको अन्तरालमा बेलायतले ठूलो आर्थिक चुनौती सामना गरेको देखिन्छ । अहिले कोरोना महामारीको असहज चुनौतीलाई पनि सामना गरी अगाडि बढ्नेबाहेक अरु उपाय छैन् । बेलायतको आधुनिक इतिहासको केही लेखाजोखा गरेर हेर्दा समयको कालखण्डमा धेरै आर्थिक उतारचढाव देखिन्छ जसमध्ये केही यहां उल्लेख गरेको छु ।

औद्योगिक क्रान्तिको सफलताले धनी र सम्भ्रान्त वर्ग अरु सम्पन्न हुने तर निम्न वर्ग तथा मजदुरहरुमा गरिवी छाएपछि बेलायती समाजमा प्रगतिशील धारणा १८ औं शताब्दीको अन्तमा भिन्न रुपले शुरु भयो । आधुनिक उदारवाद भनि समानता, स्वतन्त्रता, राज्यको प्रभावकारी भूमिका, व्यक्तिको विकास र कल्याणकारी समाज जस्ता मुख्य नीतिको वहस शुरु भयो । निम्न आय भएका ७० वर्ष पुगेका मानिसलाई पहिलो पांच सिलिंग (वर्तमानको करिब २२ पाउन्ड) हप्तामा पेन्सन दिन शुरु गरिएको थियो । सन् १९०९ को जनताको बजेट भनेर पहिलो प्रगतिशील उदार बजेट तत्कालिन अर्थमन्त्री डेभिड लोइड जर्जले धनीलाई बढी कर र समाज कल्याणको अवधारणा प्रस्तुत गरेका थिए ।

पहिलो विश्वयुद्धले बेलायतमा सामाजिक, आर्थिक तथा राजनीतिक परिवर्तन ल्यायो । सन् १९१५ मा बहालको कानून शुरु गरि बहाल बढाउन कडाइ गरियो । पहिलो विश्वयुद्धमा भाग लिएका धेरै सैनिकको स्वास्थ्य तथा आवासको अवस्था नाजुक थियो । तत्कालिन प्रधानमन्त्री लोइड जर्जले ‘हिरोको लागि घर बनाउने’ भनेर सन् १९१९ मा सरकारी नियम पारित गरि ठूलो संख्यामा सरकारले घर बनाउने कार्य थालनी गर्यो । सन् १९३३ सम्म आइपुग्दा पांचलाख घर सरकारले बनाइ आम्दानी अनुसार सस्तोमा बहालमा दिन शुरु गरयो । सन् १९२३ मा निजी घरबन्ने कानून पास गरि सन् १९२९ मा निजी क्षेत्रलाई पनि करिब पांच लाख घर बनाउन सरकारले सहयोग गरयो । सन् १९३० को विश्व मन्दीले गर्दा अर्को अर्थनीतिको खांचो भयो ।

कल्याणकारी राज्यको परिकल्पना पछाडि उदारवादी अर्थशास्त्रीहरू जोन किन्स र विलियम बेभरिजको कार्य तथा तथा सल्लाह थियो । उनीहरुले राज्यले अर्थतन्त्रलाई उत्साहित बनाउने र पुरा रोजगार उपलब्ध हुने जिकिर गरेका थिए । बेभरिजले पहिलो विश्वयुद्ध अगाडि तत्कालिन प्रधानमन्त्री डेभिड लोइड जर्जले अगाडि सारेका विमा नीतिलाई नयां रुपले अगाडि सारे । प्रत्येक बेलायती नागरिक आम्दानी हुने या नहुने सबैको विमा हुने, घर र जागिर नहुनेलाई राज्यले सहयोग गर्ने, बिरामीको उपचार गरिने गरि समानताका लागि पहल शुरु भयो । दोस्रो विश्वयुद्धले धेरै घर नोक्सान बनाइ निर्माण ठप्प भयो । तर, यस युद्ध पछि सरकारले जोडतोडले घर बनाउन थाल्यो । सन् १९४५ देखि १९५५ भित्र सरकारले करिब १० लाख घर बनाइ घरबारविहीन मानिसहरुलाई आम्दानी अनुसार न्यून रकममा बहालमा सारयो । सन् १९५० को दशकमा बेलायतको जीवनस्तर बढ्न थाल्यो । सरकारले पूर्वाधार लगानीमा धेरै खर्च गरयो । यातायातमा ठूलो परिवर्तन छायो ।

सन् २०२० मा लन्डनका ठूला कम्पनीहरुको स्टक मार्केट फुट्सी १०० को सूचांक १४ दशमलब ३ प्रतिशतले गिरावट आएको छ जुन सन् २००८ को आर्थिक मन्दी (फाइनान्सियल क्राइसिस) पछि सबैभन्दा धेरै हो । कोभिड–१९ का कारण बेलायत सरकारलाई आर्थिक वर्ष (अप्रिल २०२० देखि अप्रिल २०२१) मा ३९४ अर्ब पाउण्ड ऋणभार हुने बेलायती सरकारी निकायले जनाएको छ । यसरी बढ्दो ऋणभार सम्बोधन गर्नका लागि कर बढ्ने सम्भावनालाई नकार्न सकिंदैन । स्मरणीय कुरा के छ भने दोस्रो विश्वयुद्धका बेलामा बेलायतले लिएको ऋण तिर्नको लागि ६० वर्ष भन्दा बढी समय लागेको थियो । बेलायतको कुल ऋणभार २१ सय अर्ब पाउण्ड पुगेको छ जुन बेलायतको ऋणभार वार्षिक कुल ग्राहस्थ उत्पादन (जिडिपी) भन्दा बढी छ ।

गत वर्ष लकडाउन भएदेखि बेलायतीहरुले करीब १२५ अर्ब पाउण्ड वचत गरेका र कोभिडको नियम हटेपछि यो रकम खर्च गरी अर्थतन्त्रलाई गति दिने विश्वास पनि बेलायतको केन्द्रीय बैंकले गरेको छ । गत वर्ष बेलायतको अर्थतन्त्र १० प्रतिशतले संकुचन भएको छ । यसलाई मध्यनजर गर्दै अर्थतन्त्र बैंक अफ इंगल्याण्ड ब्याजदर शून्य दशमलव १ प्रतिशत कायम राखेको छ । बैंकले अर्थतन्त्रलाई उत्साहित पार्न मात्रात्मक सहजता (क्वानटेटिभ इगीङ) अन्तर्गत ८९५ अर्ब पाउण्ड बराबरको सम्पत्ति किन्ने योजना कायम राखेको छ । बेलायतको केन्द्रीय बैंकले ब्याजदरमा निकै कम गरेको छ । कम ब्याजदरले ऋण सस्तो हुने तथा अर्थतन्त्रमा खर्च गर्न प्रोत्साहित पार्छ भन्ने मान्यता हुन्छ ।

यस कोरोना महामारीले मानिसमा पारेको त्रास तथा खर्च गर्ने सामर्थमा कमी हुंदै गएको अवस्था र वचत गर्ने सोचमा बढी हाबी भए अर्थतन्त्र चलायमान नभई अर्को ठूलो आर्थिक मन्दी (फाइनान्सियल क्राइसिस) हुनसक्ने कुरा बैंक अफ इंगल्याण्डका पूर्व गभर्नर मर्भिन किंगले बताएका छन् ।

बेलायतको अर्थतन्त्र कोरोना महामारी पूर्व पुग्न केही वर्ष लाग्ने छ । नयां चुनौतीका माझ नयां अवसर अवश्य आउने छ । अनलाइन तथा रोबोटको प्रविधिमा उल्लेख्य वृद्धि भई ब्यापारको नवीन तरिकाहरुको अन्वेषण हुनेछ । खोप तथा स्वास्थमा सुधार भएपनि धेरै भीड हुने ब्यवसाय फस्टाउने गरी मानिसको मनोविज्ञान पहिलाको अवस्थामा पुग्न केही समय लाग्ने छ । यसले गर्दा परम्परागत रुपले हुंदै आएको ब्यवसायले पनि प्रविधिको सदुपयोग गरी अगाडि बढ्ने आंकलन गर्न सकिन्छ ।

(लेखक आचार्य लन्डनस्थित अर्थव्यवस्थापनविज्ञ हुन्)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू