मंगलबार, चैत ६, २०८०
03:38 | ०९:२३

नेपालप्रेमी राजकुमार फिलिप: ‘ढाका टोपी’ देख्दा हात हल्लाएर बोलाउँथे

नेपाली लिङ्क अप्रिल ९, २०२१

नेपाल भ्रमणका क्रममा पूर्व गोर्खाहरुसँग महारानी एलिजावेथ र प्रिन्स फिलिप ( तस्विर स्रोत: गेट्टी इमेजेज्)

लन्डन । शुक्रबार ९९ वर्षको उमेरमा निधन भएका बेलायती राजकुमार फिलिपको नेपालप्रतिको प्रेम पनि विशेष र स्मरणयोग्य थियो । सन् १९६१ र सन् १९८६ मा गरी दुई पटक महारानी एलिजावेथले नेपालको राजकीय भ्रमण गर्दा राजकुमार फिलिप पनि संगै थिए ।

बेलायती महारानीबाट विशिष्ट सम्मान ‘ओबिई’ प्राप्त बेलायतस्थित वरिष्ठ समाजसेवी, बुद्धिजिबी डा राघवप्रसाद धिताल ‘ओबिई’ ले राजकुमार फिलिपको नेपाल-प्रेमलाई विशेष रुपमा सम्झिन्छन् । कयौं अवसरमा उनीसँग भेटेका र अनौपचारिक कुराकानी समेत गरेका डा धितालले नेपाली लिंकसँग भने, ‘उहाँमा नेपालप्रति विशेष सद्भावना थियो ।’

बेलायती सेनामा सेवारत गोर्खा सैनिक र नेपालको तत्कालिन राजसंस्थासँग नजिकको सम्बन्ध जस्ता कारणले पनि बेलायती राजपरिवारका अन्य सदस्यजस्तै राजकुमार फिलिपले नेपाललाई थप महत्व दिने गरेको उनको बुझाइ छ ।

कुनै विशेष समारोहमा नेपाली टोपी लगाएर जाँदा राजकुमार फिलिपले परैबाट हात हल्लाउने, मुस्कुराउने गरेको सम्झना डा धिताललाई छ ।  

नेपालको पूर्व राजपरिवारसँग व्यक्तिगत तहकै सम्बन्धमा रहेका राजकुमार र महारानीसँग बेलायत अध्ययनका लागि आएका तत्कालिन युवराज दीपेन्द्र र अधिराजकुमार निराजन पनि सम्पर्कमा बस्ने गरेको उनले सुनाए ।

नेपाल भ्रमणका क्रममा राजा विरेन्द्र र रानी ऐश्वर्यसँग महारानी एलिजावेथ र प्रिन्स फिलिप (तस्विर स्रोत: गेट्टी इमेजेज्)

लिड्स विश्वविद्यालयका प्राध्यापक डा सूर्यप्रसाद सुवेदी ‘क्यूसी’ ले राजकुमार फिलिपलाई जनताको महान सेवकका रुपमा सम्झिन्छन् ।  

‘दोस्रो विश्वयुद्धपछि बेलायतमा राजनीतिक स्थिरता कायम गराउन महारानीलाई पतिका रुपमा उनले निकै महत्वपूर्ण साथ दिएका छन्’, राजकुमार फिलिपलाई दुई अवसरमा भेटेका डा सुवेदीले भने,’उहाँले यहाँका कयौं च्यारिटीमा संरक्षकको भूमिकाबाट समेत ठूलो योगदान पुर्‍याउनुभएको छ ।’

राजकुमार फिलिपको योगदान बेलायतमा मात्र सिमित नरहेर संसारकै कयौं मुलुकमा पुगेको डा सुवेदी बताउंछन् । उनी भन्छन्, ‘त्यसैले त उहाँको निधनमा अहिले सिंगो संसारले शोक मनाइरहेको छ ।’

यो पनि पढौं: बेलायती महारानीका पति ‘प्रिन्स फिलिप’ को ९९ वर्षमा निधन

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू