शनिबार, साउन १२, २०८१
06:16 | ११:०१

सम्झनामा प्रिन्स फिलिप: ‘एउटा अभूतपूर्व इतिहासको अवसान’

रवि अर्याल अप्रिल ९, २०२१

जीवनका विभिन्न चरणमा प्रिन्स फिलिप। (तस्विर: स्काइ न्यूज)

बेलायतमा दुई जना प्रिन्स थिए, प्रिन्स फिलिप र प्रिन्स चार्ल्स । आज बेलायती महारानीका श्रीमान प्रिन्स फिलिपको ९९ वर्षको उमेरमा देहवसान भएको छ ।

ग्रीसमा जन्मेको हेन्डसम युवा ब्रिटिश महारानीसंग प्रेममा पर्छ । लामो वैवाहिक सम्बन्ध चल्छ । श्रीमानले राजघरानामा कहिल्यै सानो महसुस नगरोस् भनेर रानीले दुलाहालाई पदवीले सुशोभित गरेकी थिइन् । अभिमान अनि अहमबीच पनि सुमधुर र प्रेमपूर्ण सम्बन्ध कसरी चल्छ भन्ने एउटा पूर्ण दस्ताबेज हो उनीहरुको जीवन । आज एउटा इतिहासको अन्त्य भएको छ ।

फिलिपको जीवन उतारचढावपूर्ण मात्र हैन, रोचक पनि थियो। जीवनको एक शताब्दी गुजारेका उनले धेरै कुरा देखे, धेरै भोगे ।अधिकांश जिन्दगी पृथ्वीकै शक्तिशाली खानदानको ‘हेड’ बनेर बिताए । यो लोकमा उनले चाहेर नपाउने भौतिक कुरा केही थिएन । माथि आकाशदेखि तल पानीसम्म उनले रोजेको कुरा गर्न पाउंथे । दुनियांको सारा सुखसयल आफ्नो अधीनमा थियो । त्यो चहचहको महसुस सामान्य मानिसको हैसियतमा पर्दैन ।

सत्तरी वर्षसम्म महारानीसंग जीवन बिताएका उनको सबैभन्दा ठूलो गुण पत्नीप्रतिको बफादारिता मानिन्छ । ब्रिटिश राजपरिवारलाई विभिन्न संकटको घडीमा जोगाउन उनले ठूलो भूमिका खेलेका छन् । हरेक चुनौतिमा आफ्नी लजालु स्वभावकी श्रीमतीलाई हिम्मत दिएर सबल सावित गर्थे ।

फिलिपको रोमान्टिक जिन्दगी भने केही विवादास्पद ठान्छन् इतिहासकार । सोंचेजस्तो इमान्दारिता थिएन भन्छन् जानकारहरु । चालिसको दशकमा ब्रिटेनकी नृत्यकलाकार पाट कर्कऊडसंग उनको लसपस थियो भनिन्छ । सुन्दरताकी अनुपम देवी पाटको नाच्ने खुट्टालाई संसारको आठौं आश्चर्य मान्थे मान्छेले । उनीसंगको गाइगुइँले खुबै बजार पिटेको थियो । त्यस्तै ६० को दशकमा प्रिन्स र साथीहरुको क्लब कान्ड मच्चिएको थियो । चतुर रानीले हल्लाखल्लालाई सामसुम बनाइन् । सबैकुरा साम्य भयो ।

प्रिन्स फिलिपलाई संसार घुम्ने रहर थियो । अष्ट्रेलियाको समुन्द्री तट होस्  वा हिन्द महासागरीय किनारा, उनी रमाउनका लागि कुनै मौका गुमाउने थिएनन् । 

ब्रिटेनको जलसेनाध्यक्ष्य बनेर दोस्रो विश्वयुद्धमा लडेका फिलिपको जीवन अभूतपूर्व थियो । बिहेपछि दोस्रो विश्वयुद्ध  सकियो, त्यसपछिको उनको भूमिका पूर्णत: दरबारिया रह्यो । तर, एउटा जिउंदो मान्छे बनेर इतिहासमा नाम लेखाउन कुनै कसर बांकी राखेनन् ।

अतितदेखि एउटा सिंगो बृतान्त बोकेको उनको जीवनलीला आज बिहान समाप्त भएको छ । हार्दिक श्रद्धान्जली !

यो पनि पढौं: बेलायती महारानीका पति ‘प्रिन्स फिलिप’ को ९९ वर्षमा निधन

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू