शनिबार, साउन १२, २०८१
02:52 | ०७:३७

चार सांसदलाई माओवादी केन्द्रको कारवाही

रासस अप्रिल ६, २०२१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले नेकपा (एमाले) प्रवेश गरेका चार सांसदलाई कारवाही गरेको छ । 

प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई पार्टीको साधारण सदस्य नरहने गरी कारवाही गरिएको जानकारी माओवादी केन्द्रले संघीय संसद् सचिवालयलाई गराएको छ । 

राजनीतिक दल त्यागसम्बन्धी ऐन २०७३ को दफा ३१ र ३२ बमोजिम स्पष्टीकरण माग गरी मन्त्रिपरिषद्बाट फिर्ता आउन गरिएको निर्देशन अस्वीकार गरेकाले कारवाही गरिएको अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले संघीय संसद् सचिवालयलाई जानकारी गराएका छन् । 

माओवादी केन्द्रको यही चैत १ र २ गते बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष दाहाललाई प्रत्यायोजित गरेको अधिकार बमोजिम रायमाझी, भट्ट, साह र चौधरीले दल त्याग गरेको निर्णय गरिएको जनाइएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम प्रतिनिधिसभामा पेश गर्ने निर्णयबमोजिम उनीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरिएको हो ।

सांसदहरु रायमाझी, भट्ट र चौधरीले स्पष्टीकरण नदिएको र साहले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको तथा राजनीतिक दलसम्बन्धी ऐनले तोकेको दायित्व उल्लंघन गरेको संघीय संसद् सचिवालयमा माओवादी केन्द्रले गराएको जानकारी पत्रमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू