बिहीबार, वैशाख १३, २०८१
14:22 | १९:०७

सेना जनताको आस्था र भरोसाको केन्द्र: प्रधानसेनापति थापा

रासस मार्च ३१, २०२१

फाइल तस्विर

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेना जनताको आस्था, भरोसाको केन्द्र र एकताको प्रतीक रहेको बताएका छन् ।

मध्यपूर्वी पृतना मातहतका जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिकका प्रतिनिधिलाई आज बर्दिवासमा सम्बोधन गर्दै उनले मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकता कायम गर्नु सेनाको परम्कर्तव्य भएको स्पष्ट गरे ।

प्रधानसेनापति थापाले भने, ‘हामी आफ्नो कर्तव्यपथमा अडिग रही संविधानले सुम्पिएको विशिष्ट जिम्मेवारी पूरा गर्न जस्तोसुकै परिस्थितिको सामना गर्न सदैव तयार छौं र भविष्यका लागि पनि तयार रहने छौं ।’

पुर्खाले रचेको सुनौलो र गौरवमय इतिहासलाई जीवन्त राख्न हामी समर्पित रही कर्तव्यपथमा अघि बढिरहेको बताउँदै सेनाले जनचाहनाअनुरुप परिवर्तन र परिमार्जन हँदै आएको राज्य सञ्चालन प्रणालीलाई स्वतस्फूर्तरुपमा आत्मसात् गर्दै संविधान प्रदत्त जिम्मेवारी बहन गर्न निःस्वार्थ त्याग, बलिदान र योगदानले सेनाको विशिष्ट छवि अक्षुण बनाउँदै आएको जनाएको छ ।

प्रधानसेनापति थापाले भने, ‘सेनाको भूमिकालाई अक्षुण्ण राख्ने कार्यमा भूपूसैनिकको भूमिका महत्वपूर्ण हुन्छ, अग्रज र हामीले बगाएको रगत पसिनाले राष्ट्रिय स्वाधीनता, अखण्डता कायम राख्न अहम् भूमिका खेलेको तथ्य इतिहासको पानामा स्वर्णिम अक्षरले कुँदिएका छन् ।’

वीरपुर्खाको त्याग, समर्पण, बलिदान, कर्तव्यपरायण, अटल राष्ट्रभक्ति, जीवन्तता र गौरवमय इतिहास रहेको उल्लेख गर्दै उनले इतिहास, गौरवमय परम्परा, उच्चस्तरको चेनअफ कमान्ड, अराजनीतिक चरित्र, एकताको भावना, अविछिन्न साङ्गठनिक लक्ष्यबाट निर्देशित रहँदै आएको बताए ।

कुशल व्यावसायिकीकरण राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा समेत भरपर्दो, विश्वसनीय र व्यवसायिक फौजका रुपमा स्थापित सेनाले राष्ट्रिय स्तरमा आर्जन गरेको उत्कृष्ट छवि र विश्वासका आधारमा सरकारले सामरिक महत्वका राष्ट्र विकास र निर्माणमा सहभागी गराउँदै आएको छ ।

मुलुकको शान्ति सुव्यवस्था र स्थिरताको खातिर सेनाले गर्दै आएको योगदानले सबैलाई गौरवको अनभूति भइरहेको बताउँदै प्रधानसेनापति थापाले परिवर्तित परिस्थितिमा संविधानअनुरुप प्रादेशिक तहमा सेनाको सांगठानिक स्वरुपको व्यवस्थापन गर्दै प्राथमिक र विशिष्ट जिम्मेवारी बहन गर्दै आएको बताए ।

सम्मेलनमार्फत सेनाले साझा सरोकारका विषयमा जानकारी लिँदै राष्ट्र र सेनाका लागि भूपू सैनिकले गरेको समर्पणको यथोचित सम्मान गर्दै आएको छ ।

भूपू सैनिकको आर्थिक उन्नति, प्रगति र बाँकी जीवनको समुच्च व्यवस्थापन भनेकै सिंगो सेनाको आधारस्तम्भ बलियो हुने जनाउँदै सेनाले अवकाशपछिको जीवनमा थप ऊर्जा र शक्ति प्रदान गर्न, सुखदुःख बाँड्न, अनुभव आदानप्रदान गर्न, सामूहिक भावना विकास गरी कल्याणकारी विविध कार्यक्रमबारे जानकारी गराउँदै समयानुकूल तुल्याउन रायसुझाव संकलन गर्ने उद्धेश्यले सम्मेलन गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू