शनिबार, वैशाख ८, २०८१
12:00 | १६:४५

बेलायती सर्जकहरूले सिर्जनाबाटै गरे वातावरण संरक्षणको अपील

नेपाली लिङ्क मार्च २९, २०२१

​लन्डन । जलवायु परिवर्तनले पृथ्वी र जनजीवन दिनानुदिन संकटमा परिरहेको सबैले अनुभव गरिरहेका छन् । यसका लागि संरक्षणकारी अभियन्ताहरूले चर्को आवाज नउठाएका पनि होइनन् । विश्वका शक्तिशाली राष्ट्रदेखि तेस्रो विश्वका देशहरूले वातावरण संरक्षणबारे बोलिरहेका छन् । यही अभियानमा साथ दिन बेलायतमा रहेका नेपाली साहित्यकारहरू पनि एक ठाउँ आएका छन् ।

वातावरण साहित्यलाई प्रवर्द्धन गर्दै आइरहेको विश्व नेपाली साहित्य महासंघ, साउथ यूकेले शनिबार अर्थ आवर एवम् आफ्नो पाँचौ स्थापना दिवसका अवसरमा राखेको अन्तर्राष्ट्रिय इको गीत तथा सिर्जना वाचन कार्यक्रममा चार दर्जन बढी सर्जकहरूले इको सिर्जना सुनाए ।

‘साहित्यमार्फत् जलवायु परिवर्तनदेखि वातावरण संरक्षणसम्मको मुद्धा उठाउन इको सिर्जना वाचन कार्यक्रम राखेका हौं’ कार्यक्रमको औचित्य प्रष्ट्याउँदै अध्यक्ष विजय हितानले बताए, ‘इको गीत वाचन गर्न बेलायत, भारत, नेपाललगायतका देशका सर्जकहरू भेला भएका थिए । कार्यक्रम भर्चुअल रूपमा जुमबाट गरिएको थियो ।’ 

हितानले सन् २००९ देखि वातवारण साहित्यको अभियानलाई बढावा दिँदै आइरहेका छन् ।

विनेसामका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले यूके शाखाले वातावरण साहित्यलाई विश्वव्यापी रूपमा नेतृत्व गरिरहेको धारणा व्यक्त गरे । उनले मार्क्स, आइन्सटाइन, गान्धीले परिकल्पना नगरेको कुरा शाखाका अभियन्ताहरूले अगाडि बढाइरहेको बताए । ‘१९ औँ र २० औँ शताब्दीका दार्शनिकहरूले सोच्न नसकेको कुरा विजय हितानजीलगायतका साथीहरूले अगाडि ल्याउनुभयो । इको साहित्यले अबको शताब्दीभर गतिलो स्थान पाउनेछ,’ उनले भने । 

अध्यक्ष परदेशीले यूके शाखा अहिलेको सबैभन्दा सक्रिय समिति समेत भएको उल्लेख गरे । विनेसामको २४ देशमा २७ शाखा छन् । यूकेमा साउथ यूके र पश्चिम यूके गरेर दुई शाखा सक्रिय छन् । साउथ यूके शाखाको स्थापना सन् २०१६ मार्चमा अर्थ आवरका दिन भएको थियो ।

अर्थ आवर विश्व वन्यजन्तु संरक्षण कोष (डब्लूडब्लूएफ) को पहलमा सन् २००७ देखि सुरु भएको विश्वव्यापी अभियान हो । यस दिन करोडौँ मानिसहरूले साँझ साढे आठ बजे एक घण्टा बत्ती निभाएर वातावरण संरक्षणका लागि ऐक्यबद्धता जाहेर गर्छन् । यस वर्ष विनेसाम साउथ यूकेले आसफोर्डस्थित टाउन सेन्टरमा जनचेतनामूलक प्लेकार्ड प्रर्दशन गरेको सचिव अमित थेवेले बताए । सामाजिक दूरीलाई ख्याल गर्दै पृथ्वी र जनजीवन संरक्षणका लागि सन्देश प्रवाह गर्न बिहान मौन रूपमा संस्थाले प्लेकार्ड प्रदर्शन गरेको थेवेले जनाए ।

दिउँसो गरिएको इको सिर्जना वाचन कार्यक्रममा भारतबाट डा. देवेन सापकोटा, नेपालबाट भावेश भुमरी, स्कटल्याण्डबाट दुष्यन्त भट्टराई, बेलायतबाट एकिन्द्र गुरूङ, रमेश दाहाल, गोमा राना, शान्ति लिम्बु, विश्वकाजी राई, वासु शर्मा, धन गुरूङ, हरि थापा, ईश्वर चाम्लिङ, विश्वासदीप तिगेला, विनोद अधिकारी, प्रतिमा केसी, मनुर राना, अहिल्या कुँवर, सारादेवी गुरूङले इको गीत सुनाए ।

त्यस्तै, जित छन्त्याल, थिर थापा, नानु राना थापा, किरण चाम्लिङ, कुमार केसी, लालसुन्दर राई, होम सुनुवार, सुरेन्द्र इङ्नाम, कोमल मल्ल, घन थापा, सर्वधन राई, औँतारी साइला, मोहन आचार्य जलद, खेम गुरूङ, विजय हितान र अमित थेवेले समेत वातावरणमैत्री सिर्जनाहरू पस्के ।

निर्मला न्यौपानेको वातावरण गीतबाट सुरु भएको कार्यक्रममा हितानद्वारा लिखित ‘संरक्षणका हातहरू’ बोलको गीत समेत सार्वजनिक गरिएको थियो । त्यस्तै, मिडिया सचिव विश्वजीत थापाले तयार पारेको लघु वृत्तचित्र ‘ग्लोबल वर्मिङ’ पनि देखाइएको थियो । ​

-अमित याक्थुङ्वे   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू