शुक्रबार, वैशाख १४, २०८१
00:09 | ०४:५४

सरकार र विप्लव समूहबीच सहमतिः विप्लव शुक्रबार सार्वजनिक हुने

रासस मार्च ४, २०२१


काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच संवादका माध्यमबाट सम्पूर्ण राजनीतिक विषयको समाधान गर्ने गरी तीन बुँदे सहमति भएको छ ।

सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहको वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्माले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी सहमति भएको पत्र सार्वजनिक गरे ।

उक्त सहमतिसँगै विप्लव समूहका सम्पूर्ण गतिविधि शान्तिपूर्णरूपमा सञ्चालन हुने र सरकारका तर्फबाट उसका गतिविधिमाथि लगाएको प्रतिबन्ध फुकुवा भएको छ । विज्ञप्तिमा नेपाल सरकारबाट उक्त समूहमाथि लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ गर्ने र मुद्दा खारेजी गरिने उल्लेख छ ।

सहमतिको विस्तृत विवरण भने शुक्रबार अपराह्न २ बजे विशेष समारोहका बीच सार्वजनिक गरिने सहमतिपत्रमा उल्लेख छ । उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्द समूहका तर्फबाट महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसअघि बुधबार वार्ता टोलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा चरणबद्धरूपमा संवाद भएको थियो । सरकारका तर्फबाट गृहमन्त्री थापा र विप्लव समूहका तर्फबाट विश्वकर्माका संयोजकत्वमा मंगलबार अलगअलग वार्ता समिति सार्वजनिक भएको थियो ।

सरकारी तर्फबाट वार्ता टोली सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र विप्लव समूहका तर्फबाट दीपक चलाउने थिए । सरकारले हिंसात्मक गतिविधि सञ्चालन गरेको जनाउँदै विसं २०७५ फागुन २८ गते उक्त समूहका गतिविधि सञ्चालनमा रोक लगाएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू