शुक्रबार, वैशाख ७, २०८१
12:53 | १७:३८

मधेशको परिवेशमा उपन्यास आउंदै

नेपाली लिङ्क फ्रेब्रवरी २७, २०२१


काठमाडौं–आगामी हप्ता गणेशप्रसाद लाठको नयाँ पुस्तक ‘क्षमादान’ सार्वजनिक हुने भएको छ । यस कृतिले मधेशको व्यावसायिक परिवार वरपरको जालझेल र त्रासदीलाई नाटकीय पारामा उधिनेको छ । यो पुस्तक पब्लिकेसन्स नेपालयले २०२१ मा प्रकाशित गरेको पहिलो कृति हो ।

‘सिमित नाम लिँदा मधेशले धनुषचन्द्र गौतमदेखि बिमल निभासम्मका केही उत्कृष्ट लेखकहरू पाएको छ । उनीहरूका कृतिले मधेशको सौन्दर्यशास्त्र र काव्यात्मकतालाई बडो चमत्कारी ढंगले व्यक्त पनि गरेका छन् तर एउटा पाठकको रुपमा, जो पेशाले एउटा व्यवसायी भएको छ, नेपालीमा प्रकाशित हुने अधिकांश किताबमा म आफूलाई भेट्दिन’- लेखकले किताब लेख्न प्रेरित गरेको सन्दर्भ कोट्याउँदै भने-‘साहित्यमा व्यावसायिक वर्ग कि त पूरै अनुपस्थित थियो कि निमित्त पात्रका रुपमा मात्र पन्छाइएका थिए । म मेरो कथाको माध्यमबाट तिनै परिवारहरूको मानवीय पक्षलाई खोतल्न चाहन्थेँ ।’

प्रजातन्त्र स्थापना कालपछिको नवोदित शहर बीरगंजमा हुर्किएका लाठको बाल्यकाल चलचित्रको सानिध्यमा बित्यो । लाठलाई सिनेमाले अपनाउने कथावाचन र त्यसले गर्ने प्रभावकारी अपीलले निकै प्रभावित बनायो । त्यसैले यस किताबले त्यही नाटकीय शैलीलाई अंगालेको पाउँदा त्यति आश्चर्य लाग्दैन । रोमान्टिक सामाजिक नाटक रुचाउने पाठकका निम्ति यो कथाशैलीले आकर्षित गर्ने कुरामा लेखक विस्वस्त देखिन्छन् ।

‘हामी बहुमुखी आवाजहरूलाई प्रकाशित गर्नमा प्रतिबद्ध छौं,’ प्रकाशनका तर्फबाट भूषिता वशिष्ठले सम्पादकीय टिप्पणी गर्दै भनिन्- ‘जनसंख्याका हिसाबले देशको महत्वपूर्ण क्षेत्रमा रहेका व्यावसायिक परिवारको कथाबस्तुलाई लेखकले सटीक पाराले उजागर गरेका छन् जुन समुदाय विगतका केही दशकदेखि राजनैतिक अस्थिरताले सम्भवतः सबैभन्दा धेरै प्रभावित भएको छ । उनीहरूको कथा र यसको विकासक्रम सम्पूर्ण नेपाली कथा संसारको महत्वपूर्ण अंग हो जुन अझै पनि साहित्यमा पर्याप्त ढंगले परिलक्षित भएको छैन । यस पुस्तकले त्यही अभावलाई सानै रुपमा भए पनि पूर्णतारित डोर्‍याउँछ भन्ने आश राख्छौं ।’

लेखक

लाठ, वीरगन्जलाई प्रतिनिधित्व गर्ने नेपालय पब्लिकेसन्सका दोस्रो लेखक हुन् । यस पब्लिकेसन्सबाट ‘वीरगन्ज’ शीर्षकमै सन् २०१६ मा गिरीश गिरिको ननफिक्सन प्रकाशित भएको थियो ।

‘हामी यही किताबका साथ मधेस जादैछौ र त्यहीँबाट हाम्रो यस वर्षको प्रकाशन यात्रा शुरु हुँदैछ । यो हाम्रा निम्ति एउटा सार्थक अवसर हो । महामारी र लकडाउन खेपेको पुस्तकबजारले नौलो चहलपहलका निम्ति आवाज उठाइरहेको छ’- पब्लिकेसन्स नेपालयकी सीईओ सैजन मास्केले भनिन्- ‘पुस्तक बजार बिस्तार नयाँ किताबका निम्ति तयार भएको देखिन्छ । आशा छ ‘क्षमादान’ ले पाठकहरूलाई आकर्षित गर्ने छ ।’

नेपाली बजारका निम्ति गणेशप्रसाद लाठको पुस्तक ‘क्षमादान’ को मूल्य रू ४९५ तय गरिएको छ । किताब देशका प्रमुख पुस्तक पसलहरूमा सहज उपलब्ध हुनेछ । पुस्तकलाई ई-बुकका रुपमा थुप्रै डट कम (www.thuprai.com) बाट किन्न सकिने छ, साथै अमेजनमार्फत् विश्वभर उपलब्ध छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू