आइतबार, वैशाख ५, २०७८
14:38 | १९:२३

‘युरोरडिस फोटो अवार्ड’मा लामिछानेलाई दोस्रो स्थान

रासस फ्रेब्रवरी २५, २०२१

काठमाडौं ।  ‘युरोरडिस फोटो अवार्ड २०२१’ मा नेपालले दोस्रो स्थान गर्न सफल भएको छ ।

दुर्लभ रोग लागेर जीवन बिताउन बाध्य व्यक्तिको जीवन शैलीलाई उजागार गर्ने लक्ष्यका साथ आयोजित अन्तरराष्ट्रिय फोटो प्रतियोगितामा पोखराका खिमकाजी लामिछाने दोस्रो भएका हुन् । गएराति बेल्जियमको ब्रसेल्समा भएको अन्तिम प्रतियोगितामा उनले दोस्रो स्थान हासिल गरे ।

विभिन्न ३० मुलुकका चार सय भन्दा बढी फोटोपत्रकारले खिचेका दुई हजार ७३ फोटो प्रतियोगितामा समावेश भएको जनाइएको छ । प्रतियोगितामा स्लोभाकिया प्रथम र आइसल्याण्ड तृतीय भएका थिए ।

सजिलै हाड भाँचिने रोग (ओस्टियो नेनेसिस इम्पेर्फेक्टा—ओआई) बाट पीडित आफ्नै छोरा अनिमेसलाई दुर्गा केसी ह्विलचियरका सहायताले विद्यालय पुरयाउँदै गरेको फोटो लामिछानेले प्रतियोगिताका लागि पठाएका थिए ।

एघार वर्षीय छोरा अनिमेसको अहिलेसम्म ४० पटक हाड भाँच्चिसकेको बताइएको छ । ओआईबाट ग्रसित भई हिडडुल गर्न नसके पनि पढ्ने इच्छालाई रोक्न नसक्ने सन्देश लामिछानेले कैद गरेको फोटोले दिएको थियो ।

फोटोबाट नेपाललाई विश्वसामु परिचित गराउन सफल भएकोमा लामिछानेले खुशी व्यक्त गर्दै भने, ‘सफलताका लागि सहयोग गर्नुहुने सम्पूर्णलाई आभाव व्यक्त गर्दछु ।’

फोटोका माध्यमबाट ओआई रोगको बारेमा स्वदेश र विदेशमा जनचेतना अभिवृद्धि गर्न आफ्नो लागि महत्वपूर्ण उपलब्धि भएको उनले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू