बिहीबार, वैशाख १३, २०८१
13:29 | १८:१४

कोभिड असर: बेलायतमा अस्पतालको पालो पर्खिनेहरु १ करोड पुग्दै

नेपाली लिङ्क फ्रेब्रवरी १७, २०२१


लन्डन । कोभिड महामारीविरुद्ध जुधिरहेको बेलायतमा अन्य रोग वा स्वास्थ्य समस्याबाट पीडित मानिसहरु भने आवश्यक सेवाबाट बञ्चित बनेका छन् ।

बेलायतमा अस्पताल अपोइन्टमेन्टको पालो पर्खिएर बस्ने मानिसहरुको संख्या आउँदो अप्रिल महिनासम्म १ करोड पुग्ने आँकलन गरिएको छ ।

बेलायतको सार्वजनिक सेवाहरुमा केन्द्रित थिंक ट्यांक ‘रिफर्म’ ले आउँदो दुई महिनामा अस्पतालको पालो पर्खिनेहरुको संख्या अहिलेको तुलनामा दोब्बर बन्ने चेतावनी दिएको हो ।

बेलायतको नेश्नल हेल्थ सर्भिस (एनएचएस) ले आफ्नो सेवा मुख्यतः कोभिड केन्द्रित गरेका कारण अहिले अन्य रोग वा स्वास्थ्य समस्याका लागि अस्पतालको अपोइन्टमेन्ट पाउनु असम्भवप्राय बनेको छ । यसरी अस्पतालको पालो पर्खिरहेका मानिसहरुको संख्या अहिले ४४ लाख छ । जुन संख्या दुई महिनाको अवधिमा दोब्बरभन्दा बढी १ करोड पुग्ने ठानिएको छ ।

तथ्यांकअनुसार गत वर्ष जीपी सर्जरीहरुबाट थप उपचारको लागि अस्पताल ‘रिफर’ गरिएका बिरामीहरुको संख्या अघिल्लो वर्षको तुलनामा ६० लाख कम छ । जसको अर्थ लाखौं मानिसहरु आवश्यक स्वास्थ्य सेवाका लागि अस्पताल जान नपाएर पालो पर्खिन बाध्य छन् ।

एनएचएसले आफ्नो मुख्य ध्यान कोभिडमा केन्द्रित गरिरहंदा अन्य बिरामीहरुको वेवास्ता भएको भन्दै आलोचना समेत हुने गरेको छ ।

तर एनएचएसका अधिकारीहरुले भने उपलब्ध स्रोतहरुको अधिकतम उपयोग गर्दै अन्य सेवाहरु पनि निरन्तर गर्ने प्रयास गरिएको बताउँदै आएका छन् । क्यान्सर लगायतका केही गम्भीर स्वास्थ्य समस्या हुने बिरामीहरुको लागि महामारीपूर्वकै अवस्थामा सेवा प्रवाह गरिरहेको उनीहरुको भनाइ छ ।

बेलायतमा कोभिड संक्रमण र अस्पताल भर्ना हुने मानिसहरुको संख्या अहिले ओरालो क्रममा भएपनि एनएचएस अझै पनि ‘प्रेसर’ मा रहेको जानकारहरु बताउँछन् । एनएचएसको सम्पूर्ण सेवा महामारीअघिकै अवस्थामा जस्तो सामान्य बन्न केही वर्ष लाग्ने उनीहरुको आँकलन छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू