शुक्रबार, वैशाख १०, २०७८
17:47 | २२:३२

राज्यविरुद्धको अपराधमा नेकपा नेतृ झाँक्री पक्राउ

रासस फ्रेब्रवरी ११, २०२१


काठमाडौं । प्रहरीले राज्यविरुद्धको अपराध गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले उनलाई शंखमुलस्थित उनकै निवासबाट पक्राउ गरेको हो । यसअघि गोरखाको एक कार्यक्रममा राष्ट्रपतिविरुद्ध टिप्पणी गरेपछि उनको आलोचना हुँदै आएको थियो । सोही विषयमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो ।

राज्यविरुद्धको अपराधअन्तर्गत दफा ५८ को कसुरमा पक्राउ पूर्जी जारी गरी झाँक्रीलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।

उक्त दफामा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ । उक्त दफाको उपदफा ९१० मा कसैले नेपालको राष्ट्रपति वा संसद्लाई संविधान तथा कानूनबमोजिम गर्नुपर्ने कार्यसम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्यसम्पादन गर्न बाध्य गराउन नहुने, कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमको दबाब दिन नहुने उल्लेख छ ।

उपदफा २ मा दफा ९१० बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा रु ७० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । अखिल नेपाल महिला संघले झाँक्रीलाई कारवाहीको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।

पक्राउको विरोधमा उनका समर्थकले चर्का नाराबाजीसहित प्रदर्शन गरेका थिए । पक्राउ हुनुअघि झाँक्रीले आफूले कानूनको पालना गरेको जिकिर गरेकी थिइन् ।

झाँक्रीलाई अविलम्ब रिहा गर्न माग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विघटित प्रतिनिधिसभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गरी लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन नसक्ने बताएका छन् । उनले राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसूर देख्नु स्वेच्छाचारिता भएको टिप्पणी गरे ।

झाँक्रीको गिरफ्तारीले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाएको प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू