शनिबार, वैशाख ८, २०८१
10:37 | १५:२२

निर्वाचन समितिको हिसाब क्लियर छ, विवादमा नमुछौँ: एनआरएनए यूके

नेपाली लिङ्क फ्रेब्रवरी ९, २०२१

लन्डन । एनआरएनए यूकेले अघिल्लो कार्यसमितिको आर्थिक पारदर्शितासम्बन्धी प्रश्नमा तत्कालिन निर्वाचन समितिको कुनै संलग्नता  नरहेको स्पष्ट पारेको छ ।  

अध्यक्ष पुनम गुरुङले मंगलबार एक वक्तव्य जारी गर्दै निर्वाचन समितिले आफ्नो सम्पूर्ण हिसाबकिताब निर्वाचन सकिएलगत्तै  बुझाइसकेको उल्लेख गरेकी छन् ।  

निर्वाचन समितिका प्रमुख एवम् एनआरएनए यूके प्रमुख संरक्षक मेजर डमर घले र निर्वाचन समिति सदस्यसचिव नरेश खपाङी मगरले कोष अपचलन गरेको आशयसहित केही मिडियामा प्रकाशित खबरको खण्डन गर्दै अध्यक्ष गुरुङले त्यसप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् ।

‘गैर आवासीय नेपाली संघ बेलायतका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष मे रि डम्मर घले र निर्वाचन समिति सदस्यसचिव नरेश खपाङी मगरले एनआरएनए यूकेको गत निर्वाचनमा संघको कोष अपचलन गरेको सम्बन्धमा केही अनलाइनमा प्रकाशित समाचारप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ । तत्कालिन अवस्थामा प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारीमा रहनुभएका घलेले निर्वाचन समितिका कोषाध्यक्षमार्फत निर्वाचन आयोगको सम्पूर्ण आय-व्यय तत्कालिन कार्यसमितिसमक्ष बुझाइसकेको स्पष्ट पारिसक्नु भएको छ’ वक्तव्यमा भनिएको छ ।   

साथै, संस्थाको अघिल्लो कार्यसमितिको आर्थिक पारदर्शिताका सवालमा उठेका प्रश्नहरुबारे जांचबुझ समिति गठन गरी छानबिन भइरहेको अध्यक्ष गुरुङले स्मरण गराएकी छन् ।  

एनआरएनए यूकेद्वारा जाँचबुझ समिति समेत गठन गरेर यससम्बन्धि जाँचबुझलाई अगाडि बढाएको अवस्थामा संघसंग आबद्ध व्यक्तित्वहरुमाथि आर्थिक अनियमितता जस्तो संवेदनशील विषयलाई जोडेर समाचार प्रकाशित हुनुलाई उनले खेदपूर्ण भनेकी छन् । 

‘यस्ता समाचारहरु आउनु आफैमा खेदपूर्ण छ । तसर्थ विभिन्न आग्रह पूर्वाग्रहमा केन्द्रित भएर आएका यस्ता समाचारहरुको भ्रममा नपर्न सम्पूर्ण बेलायतवासी नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक अनुरोध गर्दछु । साथै पत्रकारितामा लागेका सम्बन्धित व्यक्तिहरुलाई सत्य तथ्य र प्रमाणित सामागरीहरु संचार गर्नको लागि सचेत रहनुपर्ने कुराको स्मरण गराउन चाहन्छु’ अध्यक्ष गुरुङको वक्तव्यमा छ ।  

हेरौं वक्तव्य : 

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू