शुक्रबार, चैत १६, २०८०
08:52 | १४:३७

चुनाव तयारीमा निर्वाचन आयोग, दल दर्ता छिट्टै

रासस जनवरी ३०, २०२१

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका, निर्वाचन आचारसंहिताको घोषणा र राजनीतिक दल दर्ता कार्यक्रम अब छिट्टै ल्याउने तयारी गरेको छ ।

आयोगका अनुसार, निर्वाचन आचारसंहिताको मस्यौदा तर्जुमा भएको छ भने निर्वाचन कार्यक्रम कार्यातालिका बन्ने क्रममा छ । निर्वाचन कार्यक्रम कार्यतालिका स्वीकृत भएसँगै आगामी निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको ढोका खुल्नेछ । निर्वाचन आचारसंहिताबारे राजनीतिक दलसँग आयोगले परामर्श गर्न बाँकी नै छ । दलसँगको छलफल र परामर्शपछि आचारसंहिता स्वीकृत गरेपछि कार्यान्वयनमा ल्याइने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

निर्वाचन कार्यक्रम कार्यातालिका पनि अहिले तर्जुमाकै क्रम अर्थात् मस्यौदा बन्दै गरेको अवस्थामा छ । कार्यतालिका स्वीकृत भएपछि राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आयोगले सूचना जारी गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

निर्वाचन कार्यतालिका स्वीकृत भएपछि शुरुकै काम नै निर्वाचनमा भाग लिने राजनीतिक दलको पहिचान र निर्धारण हो । आयोगले आगामी वैशाख १७ र २७ गतेका लागि घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई निश्चित समय दिएर दल दर्ताका लागि आह्वान गर्नेछ ।

प्रवक्ता श्रेष्ठ भन्छन्, ‘राजनीतिक दल दर्ता भएपछि मात्र अरु गतिविधि अघि बढ्ने भएकाले शुरुकै कार्यक्रमअन्तर्गत दल दर्ता पर्छ । त्यो अब छिट्टै गर्नुपर्ने अवस्था छ । प्रतिनिधिसभा विघटन र निर्वाचनका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा परेको र उक्त मुद्दामाथिको वहस पैरवी अझै जारी रहेकोमा निर्वाचनका लागि तोकिएको मिति क्रमशः साँघुरिदै गएको छ । उक्त चुनावको मतदानका लागि घोषणा भएको मिति आउन अब लगभग ९० दिन मात्र छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू