शनिबार, वैशाख ८, २०८१
13:02 | १७:४७

गोर्खा योद्धाः विश्वयुद्धमा अरुलाई बचाएर आफ्नो बलिदानी

नरेन्द्र राज काम्बाङ जनवरी २३, २०२१

लेखक नरेन्द्रराज काम्बाङ

सम्झनाको अन्तरकुनामा थन्किएका एउटा ताराका विम्ब, त्यो बेला ताप्लेजुङ बजारका आइकोनिक थिए एन डी सर । कुनै समय हालको ताप्लेजुड जिल्लाको सदरमुकामलाई नै ताप्लेजुङ भनिन्थ्यो । पछि यो जिल्लाको नाममा परिणत भयो र जिल्लाको सदरमुकाम फुङलिंग भनि नामकारण गरियो । अहिले वर्तमानमा फुङलिंग नगरपालिका भएको छ ।

अझ त्यो भन्दा पहिला वा पञ्चायती व्यवस्था लागू हुनुपूर्व यो बजारलाई अमिनी भनि गाउघरमा चिरपरिचित थियो । त्यसको मुख्य कारण भने जहानीय राणा शासनकालको शासन व्यवस्था अनुसार पूर्व ५ नम्बर भित्र परेको लिम्बूवान क्षेत्रमा राणा सरकारका प्रतिनिधिका रुपमा चार ठाउंमा प्रशासकीय केन्द्र थियो । धनकुटा पूर्व ५ नं. को मुख्य गौडा 
वा हाल बुझिने क्षेत्रीय केन्द्र रही राणा प्रशासक नै त्यो बेलाको बडाहाकिमको पदमा पदासिन रहेका हुन्थे भने अन्य चैनपुरमा मझिया, तेर्हथुम र ताप्लेजुङमा लप्टन आ-आफना इलाका, थुम र प्रगन्नाका हाकिम हुन्थे । स्थानीयतह मौजा मौजाका जिम्मावाल सुव्वा, मुखिया, र मझिया जस्ता पदमा आसिनहरुले मिलाउन नसकेको मुद्धाहरु र 
पंचखतका मुद्धाहरुका लागि छिनोफाने गर्नु र शान्ति सुरक्षा सम्बन्धि उनीहरुको विशेष जिम्मेवारी हुन्थ्यो । पूर्व ५ नम्बरका लप्टन हाकिम बस्ने मुख्य प्रगन्ना मौजाको केन्द्रहरु मध्ये एउटा केन्द्रलाई ताप्लेजुङ वा अमिनी भनिन्थ्यो ।

दुर्गम पहाडी भूभागमा अवस्थित यो सदरमुकाम त्यो समय पहाडी भेगको ठूलो व्यपारिक केन्द्र पनि थियो । विभिन्न अड्डा अदालत र कार्यालय स्थापना भएको यो ठाउं पहाडी क्षेत्रको विशाल शहरबस्ती थियो । लिम्बूजातिको बाहुल्यता रहेको यस क्षेत्रको व्यापारिक हिसाबले केन्द्र मानिने उक्त शहरका अधिकांश व्यापारी भने नेवार जाति र भारतीयमुलका मरवाडी कैयाहरुको एकलौटी थियो । लिम्बू जातिहरुका लागि यो शहर विशेष मनोरन्जनका लागि केन्द्र थियो । जहां राम नवमी, भदौ पूर्णिमा जस्ता वर्ष दिनपछि हुने विशेष दिनहरुको तीन दिनदेखि ७ दिन अनि १५ दिनसम्म मेला लाग्ने व्यवस्था गरिएको थियो ।

यस क्षेत्रमा शिक्षाका लागि मुख्य दुईटा विद्यालय थिए । जहाबाट यसक्षेत्रको शिक्षाको विकास भएको थियो । एउटा शहरबजारबाट तल तम्बर नदी र बजारको मध्यभागमा पर्ने मेदीबुङ भन्ने ठाउमा एउटा संस्कृत उच्च विद्यालय थियो भने ताप्लेजुङ बजार र वरपर त्यो बेलाको प्रगन्नाभित्रका मौजाहरुका लागि भानु हाइस्कुल तोक्ने डांडामा स्थापना गरिएको थियो ।

दोश्रो विश्वयुद्धले संसारलाई बदलिदियो । नेपाल विश्वयुद्धमा सहभागी देश नभए पनि नेपाल सरकार र नेपाली नागरिक यो विश्वयुद्धमा विनासित्ति सामेल थिए । निरंकुश जहानीय राणा प्रधान मन्त्री बाहेक अन्य न देशका लागि न देशका जनतासित नै यो युद्धको सरोकार थियो । तर देशको क्षेत्रफल र जनसंख्याको आधारमा भने यही देशको जनताले यो दोश्रो विश्वयुद्धमा अन्यहरु भन्दा धेरैले ज्यान गुमाउनु परेको थियो । यसरी ज्यान गुमाउनेमा दुई थरीका नेपाली नागरिकहरु थिए । एक थरी त्यो बेला बेलायती साम्राज्यका लागि बर्मामा विभिन्न संरचनाहरुको निर्माणका लागि आवश्यक जनशक्ति पुरागर्ने कामदार र अर्का थिए नेपाली सेना र बेलायती सेनामा भर्ती गरिएका नेपाली गोर्खा सेना ।

दोश्रो विश्वयुद्ध मध्ययुरोपबाट सुरु भयो । त्यसको हावाले ह्वात्तै पूर्वमा पनि युद्ध चर्कियो । दक्षिणपूर्वी एसियामा पश्चिमा मुलुकहरुको 
रजाइं चलिरहेको जापानलाई निको लागिरहेको थिएन । जापान पनि दुनियामा शक्तिशाली बन्न चाहन्थ्यो । त्यसैले उसले चिनियाहरुमाथि हस्तक्षेप गरिरहेको अवस्थामा पश्चिममा साम्राज्य उसका लागि चपाउने दातमा दर्सिन ढुंगो सरह भइरहेको अवस्था थियो । त्यसैले युरोपमा विश्वयुद्ध चर्किएको कारण पश्चिमा मुलुकको दक्षिणपूर्व साम्राज्यमाथि कमजोर स्थिति देखिनासाथ जापानले मौकाको चौका हान्यो । यो अवस्थालाई पश्चिमा मुलुकहरुले अन्दाजसम्म गर्न सकेका थिएनन् ।

डिसेम्बर ७/८ /१९४१ को दिन थियो, जापानले एकै साथ पृथ्वीको पश्चिम भागदेखि सुदर पूर्वभाग एकै साथ हवाई, जल र भूमार्गबाट आफूले कमजोर र महत्वपूर्ण ठानेको पश्चिमा मुलुकहरुको विशेष अखडामाथि हमला गर्यो । पूर्वमा जापानले बेलायती साम्राज्य रहेको मलाया, सिंगापुर बर्मालाई एकपछि अर्को गर्दै हमला गर्दै आयो । यसरी जापानले पूर्वमा हमला गरेपछि बेलायतले संसारको तीन मुख्य भूभाग युरोप उत्तरपश्चिम अफ्रिका र दक्षिणपूर्वी एसियामा एकैबाजी युद्ध गर्नु परेको थियो । यी तीनै युद्धहरुमा नेपाली आमाका सपुतहरु बेलायती साम्राज्यका लागि तैनाथ थिए । तिनै तैनाथ नेपाली आमा सपुत मध्ये दक्षिणपूर्वी एसियाको बर्मामा अघि बढ्दै गरेको जापानलाई रोक्न बेलायती साम्राज्यको बचाउ गर्न बर्माको दक्षिणी भेगमा रहेको रंगुन शहरको छेउमा बग्ने सिताङ नदीको पारीपट्टी लड्दै थिए नरध्वज लिम्बू गोरखा पल्टनका अन्य गोरखाली सहयात्रीहरुको साथमा । यही रंगुन शहर साम्राज्यलाई परास्त गर्न जापानको लागि पहिलो महत्वपूर्ण गौंडा थियो ।

युद्ध भयानक थियो । जापानी सेनाले बर्मामा रहको दक्षिण समुन्द्र छेउको भाग दक्षिणपूर्वमा रहेको थाइल्याण्डबाट कब्जामा लिएपछिको युद्ध बेलायती साम्राज्यका सेनाले थामी नसक्नु भएपछि पछि हट्ने क्रममा सवै सेनाहरुले सिताङ खोलाको ठूलो पुल तरेर तैनाथ गरेको १७ डिभिजन सेनाको दुई तिहाई सेनाहरु वारी आउन नपाई नै सैनिक रणनीतिअनुसार पुल भत्काउने काम भयो । खोलो तरेर आउनु चानेचुने कुरा थिएन । पछिबाट जापानी सेनाहरुले पेलेर ल्याइरहेका थिए । त्यसैले सबै सरसामन फालेर नदीपार गर्नु नदीमा हाम फाल्नुको अर्को विकल्पै थिएन । नदीमा हामफालेका सेनामाथि हवाइजहाज र थलसेनाको मारमा पर्यो । कैयौं जापानी सेनाको फन्दामा परे । घायल सेनाको त्यहां केही लेखाजोखा थिएन । हजारौं हजार सेनाको मृत्यु भयो नदी तर्ने क्रममा । कैयन दिनसम्मलाई नदी नै रगतले बग्यो । बेलायती र कमनवेल्थका कैयन सेना सिताङ नदीको वारीपारी किनारमा त्यतिकै विलिन भए । थोरै भाग्यले वा दैवको दयाले बांचेका मध्ये थिए नरध्वज लिम्बु पनि ।

बालबाल ज्यान जोगाएका नरध्वजको अब आफ्नो परिवार कहा के गर्दै होलान् चिन्ता त्यति थियो । उनीसित केही थिएन, थियो त पोसाक मात्र । उनलाई अब जापानी सेनासित बांच्नलाई पनि धेरै सजिलो भएको थियो । त्यसैले अन्दाजको भरमा आफनो परिवार भएको ठाउंतिर लागे उनी जंगलझोडीको बाटो । बर्माको दोश्रो ठूलो र मुख्य जापानी सेनाका लागि दोश्रो महत्वपूर्ण गौंडा मन्डेलामा फौजीहरुको परिवार बस्ने व्यवस्था गरिएको थियो । त्यहां पुग्न सिताङ पुल क्षेत्रबाट त्यति सहज र नजिकै थिएन । यो यात्राको कथाव्यथा उनको छुटै थियो । तर जे जस्तै कठोर अवस्था भए पनि एउटै चिन्ता थियो परिवार के गर्दैछन् ? कस्तो अवस्थामा छन् इत्यादि । तर जब महिनौं लगाएर कठोर जीवनको संघर्षपछि जीर्ण जंगली शरिर लिएर उनी आफ्नो परिवार रहेको ठाउमा पुगे । ठाउं बजार बस्ती नै ठम्याइ नसक्नु अवस्था थियो जापानी बमवर्षाका कारण । स्थानीय बासिन्दाहरु आ आफ्नो अवस्थामा जेनतेन बांच्ने चेष्टा गरिरहेका थिए । जताजतै जापानी सेनाको गस्ती र सैनिक हर्कत । कोही केही बोल्न चांहदैन थिए । सबै डरत्रासले भयभित भएका उनीहरुको स्वभावले बताउंथ्यो । स्थानियहरुसित उनले लुकिछिपी त्यहां रहेको ब्रिटिश इन्डियन सेना र उनीहरुको परिवारको के कस्तो अवस्था भएको थियो बुझ्ने चेष्टा गरे ।

त्यतिखेरको अवस्था भित्रीरुपमा कस्तो थियो ? भुक्तभोगीहरुले बाहेक अरुले भन्न सक्ने स्थिति नै थिएन । तर, सामान्य जनजीवनले थाहा पाएको कुरा जब जापानले च्यापेर ल्यायो, त्यो समय यस्तो थियो कि यो पृथ्वी नै प्रलय भएर जाला जस्तो भएको थियो । अकासबाट लडाकु हवाइजहाजको बमबर्षा त्यतिकै जमिनमाथि जापानी सेना र उनीहरुको साथमा आएको ठूल ठूला सैनिक लडाकु टैंकहरु । हेर्दा हेर्दै क्षणभरमा नै दुनिया ध्वस्त भएको थियो । उनको परिवार कहां गयो कहां छन् ? केही पत्तो भएन । तब उनले आफूसित रहेको त्यही परिवारको माया पनि हराएपछि एक किसिम उनी आफूलाई नै हराएको महसुस गर्न थाले । तर जीवनमा उनले हिम्मत हारेनन् । उनको अन्तरमनले केही भनिरहेको थियो । सायद उनको परिवार कहीं न कहीं त अवश्वै रहेका होलान् र उनले जीवनलाई जीवित राखी प्रयत्नशील रहे एक दिन अवश्य परिवार भेटन सक्ने उनको मनमा आत्माविश्वास जाग्यो । इन्डियाबाट बर्मा पसेकाले निश्चय नै सैनिक व्यवस्थाबाट सबै सैनिक परिवार भारतमा पुरयाइयो होला भन्नेमा आत्मविश्वास त लाग्यो । तर अब भारत पुग्नु त्यति सजिलो थिएन ।

महिनौंको पदयात्रा जंगलको बाटो विभिन्न आपदविपद, भोक तिर्खा, डरत्रास मानव जीवनले सहन सक्ने र भोग्न सक्ने सबै भोगी जीर्ण शरीर लिएर भारतीय भूमि टेक्न सफल भए । स्थानियहरुको सहयोगले जीवन अलिक उर्जाशील बनाउन सके । त्यही सयममा उनले गोरखा सेना मात्र नभएर सम्पूर्ण बेलायती साम्राज्यको सेनाले भोग्नु परेको युद्धको विकराल स्थिति र घनघोर महिनौं दिनको यात्रामा भोगेको भोकतिर्खा, मलेरिया जस्ता रोगका कारण मानव जीवनको दयनीय अवस्थाका साथै जंगली जनावरहरुसितको संघर्षमय कहानी जस्ता भनाइहरु उनले थुप्रै सुन्न पाए । नेपाली कामदार सैनिक परिवारहरुको लागि वंगालको कुनै ठाउंमा शिविर खडा गरी राखिएको खवरले उनलाई ज्यादै आशावादी बनायो । तब उनले त्यो शिविरमा पुगेर खोजतलास गरे । तर परिवारको पत्ता लागेन । बरु उनी आफैं सैनिक भएकाले फेरी सैनिकमै सामेल हुनु पर्ने जस्ता कुराले उनलाई त्यहींबाट आफ्नो पल्टनमा पठाउने कुरा हुन थल्यो । तर यो व्यवस्थासित उनी सहमत थिएनन् । त्यसैले उनी त्यहाबाट फुत्किएर अब नेपाल फर्कनेतर्फ लागे । तर नेपाल फर्कन पनि त्यति सजिलो थिएन । नेपाल सरकारले मुख्य मुख्य नाकामा ब्राह्मणका साथमा नेपाली सेना र प्रहरी तैनाथ गरेका हुन्थे । त्यहां नेपाली भएको प्रमाणका साथै पानीपतिया अनिवार्य थियो । यो कार्य पैसा नभएका लागि त्यति सजिलो थिएन ।

नेपालमा आएपछि उनले बर्मामा भएका धेरै कुराहरु थाहा पाए । धेरै जसो नेपाली परिवारहरु आफ्नो बलबुताले भारतको नागालैण्ड, मनिपुर त्यसपछि डिम्बापुर जस्ता ठाउंसम्म आइपुगेर पनि नेपाल आउन पातिपतियाका लागि तिर्नु पर्ने ठूलो रकमकलनको अभाव कै कारणले त्यही ठाउंहरुका बस्नु परेको र बसेका रहेछन् भन्ने उनलाई थाहा भयो । नरध्वज लिम्बुले आफ्नना परिवार पाउन लगभग सात वर्ष बिताए । अखिरमा केही पत्ता नलागेपछि समयले पनि विस्तारै जीवनको मोड बदलिंदै गयो । त्यसो भएपछि उनी नेपाल आफ्नो गाउंघरमा फर्किए ।

नेपालमा १०४ वर्षको जहानीय शासनले वाक्क बनाएपछि प्रजातन्त्रको आन्दोलन चर्किरहेको थियो । नरध्वज गाउंघरमा आएर किसानी काम गर्थे । उनको बाल्यकालमा शिक्षाको व्यवस्था थिएन । डण्डीवियो, कुस्ती लाप्पा अनि अलिक जवान हुंदै गएपछि अन्य ठिटोहरु कै जस्तो उनमा पनि प्रेम भावका संगीत जातिय पालम गाउन नाच्न यस्तै मनोरन्जनमा जीवन बितेको थियो । थाहा थिएन दुनिया के हुंदैछ भनेर । लाहुरको कुरो चलेको सुनेको हो । विदेश हेर्न पाइन्छ । दुईचार पैसा कमाइन्छ । यस्तै यस्तै कुराले उनी पनि उनको त्यो अल्लारे वैसले कुत्कुत्याएको अवस्थामा अंग्रेजको लाहुरे बन्न पुगेका थिए । उन्का एउटा अदेखा उन्लाई नै थाहा भएको प्रतिभा थियो । त्यो भनेको नया कुरा छिट्टो सिक्ने । लेखापढी गर्न 
रुचि लाग्ने । त्यसैले फौजमा भरना भएपछि फौजी हतियारमात्र चलाउने तालिम नभएर चिठ्ठिपत्र लेख्न र हातहतियार चलाउदा जान्नु पर्नै कुरा अक्षरमा हुने र फौजी जीवनकै अत्यावश्यक कार्यका लागि पढ्न र लेख्ने तालिम पनि साथसाथै सुरु भएको थियो । जसले उनलाई केही अंग्रेजी, नेपाली र हिसाबखाता सम्बन्धि अरुहरुमा भन्दा उनमा ज्यादा ज्ञानको विकास भएर गएको थियो । साथीसंगीहरुको जमातमा अंग्रेजी अनि नेपाली र अंक गणितमा उनको राम्रो दख्खल थियो । त्यसैले उनलाई सवैले सोध्थे बुझ्थे ।

त्यसैले गाउंघरमा बस्तै गएपछि उनको विषयमा वरपरकालाई थाहा हुंदै गयो । गाउंघरमा पनि त्यो बेलाको रैती दुनियालाई जहानीय राणा शासनका कारण शताब्दीयौं अन्धकारमा बसेको महसुस भइसकेको थियो । शिक्षा नै यस्तो चिज रहेछ जसले दुनिया देखाउंछ भन्ने सवैलाई परिरहेको अवस्था र जहानीय शासनको विरोधमा जनलहर चलिरहेको अवस्थामा उनीसित भएको शिक्षाको भित्रभित्रै कुराकानी चलिसकिरहेको थियो ।

समयले कोल्टे फेरयो पूर्व लिम्बुवानमा जहानीय सरकारको प्रशासनका रुपमा रहेका सबै जिम्मावाल सुब्बाहरु राणा सरकारको पक्षमा रहेकाले केही दिन विद्रोह मच्चाए पनि सरकार नै ढलेपछि केही दिनमा नै मत्थर भएको थयो । नयां व्यवस्थाको सुरु भयो । प्रजातन्त्र लाग्यो । राजाले शासन गर्ने भए । हामी अब रैती दुनियाबाट प्रजा भइयो । पढ्न लेख्न पाइने भइयो । गरिवका दिन खुल्ने भए । यस्तै कुरामा खुशीयाली छायो । गाउं गाउंमा शिक्षाका लागि नै पहिलो कदम चाल्ने विचार भयो । गाउंमा अलि अलि अक्षर चिनेका अंक चिनेकाहरुको साथमा गाउंका पण्डित, जोतिषहरुको सहयोगमा स्कूल पाठशाला खोल्न थालियो । जुन अवसरले लहुरे नरध्वज लिम्बु लाहुरेबाट अब गाउंघरको सर भए । बिस्तारै अल्लो पल्लो गाउं हुंदै अमिनीसम्म उनको नाम प्रचार हुंदै गयो । विशेष उनमा भएको गणितीय ज्ञानसित गाउंघरका जोतिषी पण्डितहरु पनि प्रभावित भएका थिए ।

पूर्व ५ नम्बरको अमिनी बजार भनेपछि पूर्व लिम्बूवानमा प्रसिद्ध थियो । धेरै बस्ती एकै ठाउं भएको सबै थोक सधै पाइने ठूलो बजार नै थियो । त्यसका साथै गाउंठाउंमा हुन सकेको कामहरु सरकारी अन्य कामहरु पनि यही ठाउंमा पहिलाबाटै भएकाले र धेरै जान्नेबुझने मानिस पनि यही ठाउंमा रहेकाले यो ठाउंमा पहिलो पटक नै नयां सरकारको बन्दोबस्तमा स्कुल स्थापना नहुने त कुरै भएन । स्कुल त खोलिने भयो, तर शिक्षक कहांबाट ल्याउने । गाउंठाउंमा कोही नभएको । शिक्षक पढेलेखेको खोज्नु परे कि भारत सिक्किम कि त काठमाडौं नै पुग्नुपर्ने । यसरी टाढा गएर शिक्षक खोजेर ल्याउनु एउटा कुरो भए ती ठाउंमा पढेका शिक्षक पहाडी क्षेत्रमा हप्तौं र महिनौं लगाएर आउनु पर्ने अर्को तलब भत्ताका पनि उस्तै नै अवस्था थियो । यस्तो अवस्थामा जानी सुनी ल्याएको लाहुरे नरध्वज लिम्बु नै एउटा यस्तो उपयुक्त पात्र वा शिक्षक फेला परे र उनलाई अमिनीमा अमिनीका राणा शासनकालबाट नै लप्टन पद पाएका सुब्बा हर्कजंगले बोलाउन पठाए ।

यहीबाट लाहुरे नरध्वज लिम्बु अमिनी बजारमा खोलिएको भानु प्राइमरी स्कुलका एन डी सरको नामले चिनिन थालिएको थियो । त्यो समय तुरुन्तै स्कूल भवन बनाउने त्यो खालको उत्साह 
जागिसकेको थिएन । विगतमा शिक्षामा भन्दा धेरै मान्छेहरु धर्मकर्ममा सकेको र भएको धन दौलत खर्च गर्थे, त्यो बेलाका रैती दुनियाले । त्यसैले हरेक गाउंघरमा भएको घोडा हिंड्न सक्ने बाटो जसलाई घोडेटो बाटो भनिन्थ्यो । त्यस्ता बाटोहरुको चौरास्तामा जहां धेरै मानिसहरुको आवतजावत हुन्थ्यो त्यस्ता ठाउहरुमा पाटीपौवा बनाएर परदेश लागेका बटुवारेहरुका लागि रातमा बासबस्न मिल्ने पाटीपौवा निमाण गरिएको हुन्थ्यो । त्यस्तै पाटीमा पहिलो पटक नरध्वज लिम्बुलाई भानु प्राइमरी स्कुल स्थापना गरेर त्यहां पण्डित र जोतिषहरुको साथमा शिक्षकका काममा लगाइएको थियो ।

समय बित्दै गए । विस्तारै समयको अन्तरालमा धेरै कुराको परिवर्तन हुंदै गयो । शासन व्यवस्थामा परिवर्तन आउनुका साथै शिक्षा, व्यापार व्यवसाय खेती किसान हरक्षेत्रमा परिवर्तन हुंदै गयो । यसरी नै भानु स्कुल पनि प्राइमरी देखि मिडिल अनि त्यसपछि हाइ स्कुल भयो । नयां नयां शैक्षिक पाठ्यक्रमहरु प्रकाशित गरी सरकारले लागू गर्यो । विभिन्न विषयको शिक्षकहरुको व्यवस्था हुंदै गयो । एन डी सर उन्को फौजी जीवनदेखि नै गणितमा चाख भएकाले अमिनी बजारमा स्कुल स्थापना भएबाट नै गणित सिकाउने शिक्षक रहे । यही क्रममा समयसितै परिवर्तित शैक्षिक पाठ्यपुस्तक अनुसार आएका गणितसम्बन्धि उनको स्वअध्ययनले नै पठशालामा शिक्षा दिंदै पनि गए र आफैंले पनि आफ्नो शैक्षिक स्थरमा आफूलाई राख्न सरकारले लागू गरेको गणितीय विषयमा स्वअध्ययन गम्भीर ढंगबाट राख्दै गए । पहिलोपटक हाइस्कूल स्तरमा राखिएको गणित विषयका तीन विषयहरु त्यति सहज खालका थिएनन् । त्यो समयको गणित विषयको शिक्षक पाउन हम्मे हम्मे पर्दथ्यो । यस्तो स्थितिमा अमिनी बजारमा स्थापित हाइ स्कुलको गणित विषयको शिक्षकको आवश्यकता एन डी सरले पुरा गरिदिएका थिए । समयको अन्तरालमा उनी यस्ता शिक्षक भए त्यो समयको हाइ स्कूल स्तरिय माथिल्लो प्रवेशिका स्तरको गणित विषयमा रहेका प्रत्येक र हरेक अभ्यासहरुको समस्या समाधानका लागि उपयहरु मुखाग्र, उनी कहीं कतै कुनै पनि समयमा बताउन सक्ने भए ।

वरपर हाइ स्कूल भन्दा माथिका शिक्षा हासिल गर्नु परे कि काठमाडौं कि धरान बिराटनगर कि भारततर्फ जानु पर्दथ्यो । यसरी यहा प्रवेशिका परिक्षा पास गरेर अन्य उच्च शिक्षा हासिल गर्न गएका धेरै विद्यार्थीहरु जसले विज्ञान पढ्न गए उनीहरुले कहिले अन्य ठाउबाट आएको विद्यार्थीहरु भन्दा कम रहेको महसुस गर्नु नपरेपछिको अवस्थाले एन डी सरको शैक्षिक अध्यापन योग्यतामा सम्मान र सत्कार बढ्यो । शहरबजारमा उनको नाम उचो रह्यो । शहरबजारमा त उनको नाम रहने नै भयो । त्यो भन्दा पनि नेपालमा मात्र नभएर देश प्रदेश जहां पनि ताप्लेजुङवासी डाक्टर, इन्जिनियर, पाइलट, व्यापारी वा कुनै उच्च शिक्षा आर्जन गरेका छन् भने उनीहरुले एन डी सरबाट गणित नसिकेका भने छैनन् नै भने पनि हुन्थ्यो । आज एन डी सर जीवित छैनन् । तर उनको स्मरण सम्मान उनी प्रतिको भक्तिभाव आजसम्म संसारको कुनाकुनामा जीवित छ ।

साष्टांग दण्डवत छ प्यारा हाम्रा भानु हाइ स्कुलका पूर्व एन डी सरलाई जो एउटा बेलायती साम्राज्यका लागि युद्ध लड्ने नेपाली शासकको स्वार्थभित्रको काइते नीतिबाट उम्दा उमेरमा उक्साइएका त्यो परिस्थितिका अनभिज्ञ सद्धे लहुरे थिए ।

(कथा काल्पनिक नभएर धेरै सत्यतथ्यमा आधरित रहेको र थप सत्यतथ्य थाहा पाउने पाठकबर्गबाट कमेन्ट लेख्न विनम्र अनुरोध छ ।)

हाल बेलायत, साउथ वेल्स्, कुम्ब्रान

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू