सोमबार, २० अक्टोबर, २०२५
09:57 | १४:४२

बेलायतमा मनाइयो देवकोटा जयन्ती

नेपाली लिङ्क अक्टोबर २०, २०२५

लन्डन—बेलायतमा रहेका नेपालीहरूको सबैभन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले प्रवचन, गीतसङ्गीत प्रस्तुति, स्वागत सम्मान र कविता वाचनसहित ११६औं महाकवि देवकोटा जयन्ती मनाएको छ ।

पश्चिम लन्डनको एकटनस्थित एबीआई कलेजमा आयोजित समारोहमा प्रमुख अथितिको आसनबाट समारोहलाई सम्वोधन गर्दै परिषद्का वरिष्ठ प्रमुख सल्लाहकार तथा यती एसोसिएसन यूकेका पूर्व अध्यक्ष डा. राघवप्रसाद धिताल ‘ओबीइ’ ले महाकवि लक्ष्मी प्रसाद देवकोटा नेपालका अमूल्य निधि रहेको स्मरण गरे ।

डा. धितालले देवकोटाले नेपाली भाषा साहित्यको शिखर उच्च मात्र नराखी शिक्षा मन्त्री समेत भएर अन्तराष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गरेर राष्ट्रको ख्याति र प्रभाव बढाएको जनाए ।

डा. धितालले महाकविलाई आफूले प्रत्यक्ष भेट गर्न पाएको ऐतिहासिक क्षण स्मरण गर्दै नेपाली साहित्यलाई विश्वस्तरको मानकमा पुरयाउने काम महाकविले गरेको बताए । डा. धितालले बेलायतमा नेपाली कला, भाषा साहित्य जस्ता नेपाली पहिचानहरूलाई जीवन्त राख्न परिषद्ले गरेका प्रयासहरू सराहनीय रहेको पनि उल्लेख गरे ।

समारोहमा नेपालबाट आएका विशिष्ट अतिथि पुष्प प्रसाद लुईंटेलले बेलायतमा परिषदले लामो समयदेखि विभिन्न साहित्यिक गतिविधि गरेर नेपाली भाषा साहित्यिको समृद्धिमा ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको देख्न र आफू समेत सम्मानित हुन पाउंदा परिषद्को यात्रा सधैं सवल र सफल रहने विश्वास व्यक्त गरे । उनले देवकोटा जन्मजयन्ती कार्यक्रमले भावी पुस्तालाई समेत प्रेरणा पुरयाउने चर्चा पनि गरे ।

मन्तव्यका क्रममा यती नेपाली एसोसिएसन यूकेका अध्यक्ष टंक भट्टराईले भावुक बन्दै बुबाले आमालाई आफू ५ वर्षको छँदा मुनामदनको कथा सुनाएको सम्झना गर्दै महाकवि देवकोटाको अनुकरणीय कृतिहरुका कारण नेपाल विश्व साहित्य क्षेत्रका विशिष्ट साहित्यकारहरूसँग तुलना गर्न र अरू ठूला देशहरू माझ गनिने गरेको धारणा राखे ।

सभापतिको आसनबाट बोल्दै परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले परिषदले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै आदिकवि भानु जयन्ती, महाकवि देवकोटा जयन्ती लगायत साहित्यिक गतिविधिहरू निरन्तर गर्दै आएको चर्चा गरे ।

बेलायतमा नेपाली भाषा साहित्यिको विकासकालागि झण्डै तीन दशक अघि नेपाली साहित्य विकास परिषद् यूके स्थापना गरेर यहाँ रहेका सर्जकहरूलाई सिर्जनशील र सक्रिय गराउन परिषद्का संस्थापक निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहको योगदान अतुलनीय रहेको पनि अध्यक्ष मल्लले जनाए । अध्यक्ष मल्लले महाकविको असिमित योगदानले नै आज नेपाली साहित्य विश्व स्तरमा गणना गर्न लायक बनेको पनि उल्लेख गरे ।

यस अघि स्वागत मन्तव्य राख्दै परिषद्का वरिष्ठ सह-अध्यक्ष तथा यतीका निवर्तमान अध्यक्ष कवि ध्रुव केसीले बेलायतमा नेपाली भाषा साहित्यिको संरक्षण र संवर्धन गर्न परिषद्ले ऐतिहासिक भूमिका निर्वाह गर्दैआएको चर्चा गरे ।

वरिष्ठ सह-अध्यक्ष केसीले नेपाली साहित्यमा महाकवि देवकोटाको योगदान अतुलनीय रहेको स्मरण गरे ।

कार्यक्रम सञ्चालनका क्रममा परिषद्की महासचिव साहित्यकार डा. सुधा श्रेष्ठले हरेक वर्ष तिहारको आरम्भसँगै परिषद्ले मनाउँदै आएको देवकोटा जयन्तीले बेलायतमा रहेका सर्जकहरूमा थप प्रेरणा र उर्जा मिल्ने गरेको सुनाइन् ।

राष्ट्रिय गान, महाकविको तस्विरमा माल्यार्पणबाट आरम्भ गरिएको समारोहमा जेनजी आन्दोलनमा ज्यान गुमाउने ज्ञात अज्ञात शहीदहरू लगायत साहित्य चौतारीका संस्थापक साहित्यकार कवि वासुदेव शर्माको चीरशान्तिका लागि एक मिनेट मौनधारण गरिएको थियो ।

समारोहको दोश्रो चरणमा मालश्री मंगलधुनमा परिषदका अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल, डा राघवप्रसाद धिताल, कवि ध्रुव केसी, खगेन्द्र नेपाली, हरिसिंह थापाले नेपालबाट आएका साहित्यकार पुष्प प्रसाद लुर्इंटेल तथा नव निर्वाचित यती अध्यक्ष टंक भट्टराईलाई ब्याज, खादा, टोपी र परिषदको लोगो लगाई स्वागत सम्मान र साहित्यकार लुईंटेललाई विशिष्ट सम्मान पत्रबाट सम्मानित गरेका थिए ।

समारोहमा परिषद्का सल्लाहकार कोसेलीका संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापा, परिषद्का सह अध्यक्ष वसन्तराय क्षेत्री तथा वरिष्ठ कोषाध्यक्ष कलाकार तथा कवि मनोज अन्जानले सारङ्गी र मादलमा मङ्गल धुन एवं महाकविका रचनामा धुन र द्यौसीभैली गीतहरु प्रस्तुत गरेका थिए ।

साहित्य र गीतसङ्गीतको मिश्रण रहेको उक्त समारोहमा वसन्त रायक्षत्री, हरिसिंह थापा, ध्रुव केसी, खगेन्द्र नेपाली, मदन थापा, मनोज अन्जान, कृष्ण बजगाई, रेशम अर्याल, डा. सुधा श्रेष्ठ, सुष्मा भट्टराई, कोमल मल्लले कविता वाचन गरे । यस अतिरिक्त वासु सापकोटा, गंगा लिगल, घनबहादुर थापा, सुरेशजङ्ग शाहका कविताहरु पनि वाचन गरिएको थियो ।


समारोहका सभापति अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले वरिष्ठ प्रमुख सल्लाहकार डा. राघवप्रसाद धिताल ‘ओबीइ’, डा. जनककुमारी धिताल, वरिष्ठ सह-अध्यक्ष ध्रुव केसी, सल्लाहकार एबीआई कलेजका प्रोप्राइटर कृष्ण भट्ट, सल्लाहकार खगेन्द्र नेपाली, दौलत राई, हरिसिंह थापा, नेपलिज वुमन एशोसिएसन यूकेकी अध्यक्ष आरती श्रेष्ठ, सुष्मा भट्टराई, वसन्तराय क्षेत्री, वरिष्ठ कोषाध्यक्ष मनोज अन्जान, पूर्व कार्यकारिणी सदस्यहरु ज्ञानेन्द्र राउत र कोहिनुर मल्ल, गायिका सितु खरेल लगायतप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू