इंग्ल्याण्डमा एक दशकभित्र ४ हजार बढी युवाले गरे आत्महत्या



लन्डन । इंग्ल्याण्डमा पछिल्लो एक दशकमा बालबालिका तथा युवामाझ आत्महत्या दरमा अत्यधिक वृद्धि भएको पाइएको छ। हालै सार्वजनिक तथ्यांक अनुसार आत्महत्याको दर ५० प्रतिशतले बढेको देखिएको हो।
अफिस फर नेशनल स्टाटिस्टिक्स (ओएनएस) द्वारा सार्वजनिक तथ्यांक अनुसार सन् २०११-१२ देखि २०२१-२२ सम्म १५ देखि २५ वर्ष उमेर समूहका करिब १ करोड २० लाख युवामध्ये ४ हजार ३१५ जनाले आत्महत्या गरेका छन्।
सन् २०११-१२ मा ३ सय युवाले आत्महत्या गरेका थिए भने सन् २०२१-२२ मा यो संख्या बढेर ४ सय ४० पुगेको छ। तुलनात्मक रूपमा हेर्दा आत्महत्याको दर ४७ प्रतिशतले वृद्धि भएको हो। त्यस्तै, हरेक १ लाख जनामा आत्महत्याको दर पनि सोही अवधिमा ५४ प्रतिशतले बढेको ओएनएसले जनाएको छ।
अध्ययनमा जनाइएअनुसार आत्महत्याको दर गर्मी महिनाको परीक्षा अवधिमा बढी र शैक्षिक सत्रको सुरुवातमा केही कम देखिएको छ।
मानसिक स्वास्थ्य संस्थान ‘माइन्ड’ की जेम्मा बर्नका अनुसार यी तथ्यांक ‘विनाशकारी’ हुन् र देश युवाको मानसिक स्वास्थ्यमा ‘अगाडि होइन, पछाडि धकेलिँदै’ गएको स्पष्ट संकेत दिन्छ।
उनका अनुसार हाल ५ लाखभन्दा बढी १८ वर्षमुनिका बालबालिका मानसिक स्वास्थ्य उपचारका प्रतीक्षामा छन्, जसमा करिब एक चौथाइले दुई वर्षभन्दा बढी कुर्नुपरेको छ।
जेम्माले भनिन्, ‘जबसम्म सरकारले मानसिक स्वास्थ्य संकटको वास्तविक परिमाण बुझ्दैन, तबसम्म धेरै युवाहरूलाई उपचार प्रणालीले असफल पार्नेछ।’
ओएनएसका अनुसार आत्महत्याको दरमा लैङ्गिक हिसाबले पनि फरक देखिएको छ। महिलामाझ आत्महत्याको दर मे महिनाको सुरुवातमा सबैभन्दा उच्च ०.५३ प्रति १ लाख र जुलाईको सुरुवातमा ०.२९ प्रति १ लाख छ।
त्यस्तै, पुरुषहरूमा जुलाईको सुरुवातमा सबैभन्दा बढी १.२६ प्रति १ लाख र नोभेम्बरको अन्त्यतिर सबैभन्दा कम ०.८५ प्रति १ लाख आत्महत्या दर देखिएको छ।
गत वर्ष इंग्ल्याण्ड र वेल्समा सबै उमेर समूहमा आत्महत्याको दर सन् १९९९ यताकै उच्च स्तरमा पुगेको थियो । विभिन्न च्यारिटी संस्थाहरूले सरकारले आत्महत्या रोकथामका उपायमा थप लगानी गर्नुपर्ने माग गरेका छन्।