शुक्रबार, वैशाख १४, २०८१
00:13 | ०४:५८

विश्वसामू नेपाललाई चिनाउन सफल यी दुई नेपाली

नरेन्द्र बस्नेत जनवरी २३, २०२१


लन्डन । विश्वकै गरिव तथा सानो मुलुक नेपाललाई चिनाउने खासै धेरै विशेषता छैनन् । तर, जे जति विशेषता छन् त्यो नै पर्याप्त पनि छ । विश्वका धेरैले नेपाल र नेपाली भनेर नचिने पनि सगरमाथा, गौतम बुद्ध र गोर्खाको देश भन्दा सायद थोरैले मात्र नचिन्लान् । आर्थिक एवम् भौगोलिक दृष्टिकोणले पछि परेपनि युद्धमा बहादुरी कमाउने देखि लिएर विश्व कीर्तिमानी कायम गर्न समेत नेपालीहरु अग्रस्थानमा छन् ।

भर्खरै मात्र दुई नेपाली सेफ सन्तोष साह र पर्वतारोही निर्मल पूर्जाले नेपालको नाम उच्च राख्न उल्लेख्य योगदान पुरयाए । विभिन्न अन्तरराष्ट्रिय तथा राष्ट्रिय  सञ्चार माध्यमहरुमा आफ्नो नामसंगै नेपालको नाम जोडेर पुनः एकपटक नेपाललाई विश्वमाँझ पुरयाउन उनीहरु सफल भए । मानिसमा साहस, धैर्यता र लगनशीलता भयो भने अवश्य सफलता मिल्छ भन्ने प्रमाणित गरे सन्तोष र निर्मलले । ‘मानव जातीकै लागि र नेपालका लागि इतिहास रचिएको छ । असम्भव कुरा सम्भव भएको छ’ निर्मलको उद्गार छ ।

सेफ सन्तोष साह

एउटा पिछडिएको तराई वस्तीमा जन्मिएर साइकलमा पाउरोटी बेच्दै जीविकोपार्जन गर्न समेत संघर्ष गरिरहेको एउटा ठिटोले बेलायतमा आएर विश्व प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ मा नेपाली खाना लिएर प्रस्तुत भए, जहां नेपाली खाना त कुरै छाडौं सम्भवतः कुनै नेपाली पनि पुगेको थिएन् ।

सिरहा जिल्लाको कर्जन्हाबाट २ दशकअघि १५ वर्षको कलिलो उमेरमै जिविकोपार्जनका लागि भारत भासिंदा सन्तोष शाहसंग त्यस्तो ठूलो महत्वकांक्षा थिएन । एसएलसी फेल भएर विक्षिप्त उनमा थप अध्ययन गर्न न पैसा थियो, न धैर्यता । ५ दाजुभाई र दुई दिदीमध्ये कान्छो छोरा उनलाई आफ्नो बुवाले ६ वर्षमै छाडेका थिए । बांच्नकै लागि गुजरात गन्तव्य बनाएका उनले त्यहां शुरुमा निकै सास्ती खेपे ।  शुरुमा एउटा सामान्य होटलमा ‘किचन पोर्टर’ बाट शुरु गरेका सन्तोषले काम गर्दागर्दै होटलको व्यवस्थापनमा सञ्चालित ‘इन्सटिच्यूट अफ क्याटरिङ एण्ड होटल म्यानेजमेन्ट’ मा ‘डिप्लोमा इन होटल एण्ड क्याटरिङ म्यानेजमेन्ट’ कोर्स गरे र ५ वर्षकै अवधिमा पांच तारे होटलको एक्जुकेटिभ सेफ बने ।

सन् २०१० को अन्ततिर लन्डन आइपुगेका सन्तोषले यहां निकै प्रतिष्ठित मानिने भारतीय ‘मिसिलिन स्टार’ प्राप्त कम्पनीहरुमा एक्जुकेटिभ सेफको उच्च पोजिसिनमा काम गरे । फ्रेन्च कुजिइनका ‘गडफादर’ मानिने रेमण्ड ब्लांक (ओबिई) र अर्का सेलिब्रेटी सेफ विवेक सिंहसंग पनि उनले काम गरे । भारतीय कुइजिनमा करिब दुई दशक बिताएपछि सन्तोषमा नेपाली खाना 
अन्तरराष्ट्रिय बजारमा चिनाउने भावना जाग्यो । आफूले यसअघि संगै काम गरेका मिसिलिन स्टार, सेलिब्रेटी सेफहरुबाट सिकेको व्यवसायिक सीप र अनुभव नेपाली खाना प्रवर्धनमा सदुपयोग गर्ने संकल्प लिएर नेपाली खानालाई पनि त्यही तहमा पुरयाउने उनले सपना देखे । यतिमात्र होइन्, नेपाली कुइजिनबाट मिसिलिन स्टारप्राप्त गर्ने पहिलो नेपाली सेफ बन्ने उनको हौसला बढ्यो ।

त्यसपछि सन्तोषले बीबीसीबाट प्रसारण हुने हस्पिटालिटी क्षेत्रमा विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ मा नेपाली खाना लिएर प्रतिस्पर्धा गरे । प्रतिस्पर्धाको विभिन्न राउन्डमा विदेशी खाना र विदेशी सेफलाई पछि पार्दै फाइनल राउण्डसम्म पुगे । ३२ जना चर्चित सेफहरुबाट शुरु भएको उक्त प्रतियोगितामा नेपाली सेफ सन्तोष शाहले विभिन्न मौलिक नेपाली परिकार विश्वमाझ चिनाउन सफल भए । आफू विजेता नभएपनि विश्वसामू नेपाली खाना पुरयाएर विदेशी एवम् नेपालीको मन जित्न सफल हुनु नै सबैभन्दा ठूलो सफलता भएको सन्तोष बताउंछन् । अहिले विश्वभर नेपाली खानाको माग बढेको पनि सन्तोषले बताए ।

नेपाली खानालाई बीबीसीको टिभी च्यानलबाट एकपटक देखाउन पाएपनि ठूलो सौभाग्य हुने ठानेका सन्तोषले फाइनलसम्म पुग्दा अक्टोपस, जिम्बुले मोलेको पोलेको खसीको मासु, रायोको साग, पुदिना पराठा, सांधेको भटमास, क्रिस्पी प्याज, पुरी, भुटेको खुर्सानी र नुन, बासी भात शैलीमा भुटेको चिउरा, गंगटाको ‘करी’ टिमुर स्पाइस्ड् अक्ट्पस वीथ सिस्नु र आलुको तरकारी, भाङको चट्नी र कर्कलोको पात, पोलेको भेडाको मासु, खसीको मासुको झोल, बेथेको साग, गहुँको रोटी, तामाको अचार पोलेको माछा, आलुको अचार, करेला र टमाटरको चट्नी तथा ढुम्रीभित्र आलुको अचार जस्ता मौलिक नेपाली परिकारलाई नेपाली खानाको रुपमा प्रदर्शन गरे ।

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भनेझैं जन्मभूमी नेपालको पहिचान स्वरूप ढका टोपी, भादगाउंले टोपीका साथै नेपाली झण्डा समेत फहराए । आफूले सबैभन्दा माया गर्ने व्यक्तिका लागि खाना बनाउनुपर्ने राउण्डमा उनले आफ्नी आमा सम्झिएर खाना बनाए । भादगाउंले टोपीमा सजिएका उनले वाल्यकालमा आमाले उनलाई टिफिन बक्समा खाना ल्याए जस्तैगरी ति परिकारहरु ‘टिफिन बक्स’ मै सर्भ गरेका थिए । उनले प्रत्येक राउन्डमा नेपाली खानालाई अत्यन्त प्रभावकारी ढंगले प्रस्तुत मात्र गरेनन् निर्णायक मण्डलको मन जितेर प्रशंसा समेत बटुले । उनलाई दर्शकले ‘पिपुल्स च्याम्पेन’ को उपाधि समेत दिए । ३५ वर्षीय सन्तोषले सामाजिक संजालमा निकै ठूलो प्रशंसा बटुल्न सफल भए ।

इण्डियन कुइजिनबाट वर्षौंदेखि संगालेको अनुभवका आधारमा उनले नेपाली खानालाई अघि बढाए । नेपाली कुइजिनबाट ‘मिसिलिन स्टार’ प्राप्त गर्ने पहिलो नेपाली सेफ बन्ने सपना बोकेर उनी अघि बढेका छन् । ‘मिसिलिन स्टार’ भनेको विश्वका गुणस्तरीय र राम्रो खानेकुराको उत्कृष्ट सेवा पुर्याउने रेष्टुरेन्टलाई दिइने विशेष सम्मान तथा पहिचान हो ।

सन्तोष भन्छन्, मैले विश्वमाझ नेपाली खाना मात्र होइन्, नेपालको तराईलाई पनि चिनाएं, बयलगाडा, ट्यूवेल लगायत स्थानीयहरुले प्रयोग गर्ने सामग्रीलाई पनि बीबीसी टेलिभिजनमार्फत चिनाउने प्रयत्न गरें । नेपालमा पर्यटन प्रवर्धन र प्रचार प्रसारमा तराईलाई ज्यादै कम समेटिएको छ, प्राय विकसित ठाउं, झिलिमिली शहर तथा हिमाली क्षेत्रलाई मात्र विदेशीले नेपाल भनेर देखेकामा मैले त्यो सोच परिवर्तन गर्ने प्रयास गरें ।’

विश्व कीर्तिमानी आरोही निर्मल पूर्जा

‘मानव जातीकै लागि र नेपालका लागि इतिहास रचिएको छ । असम्भव कुरा सम्भव भएको छ’ गत साता जाडो याममा एकदम खतरनाक मानिने पाकिस्तान र चीनको सीमामा अवस्थित ८ हजार ६११ मिटर अग्लो ‘के टु’ हिमालको सफल आरोहण गरेर नयां कीर्तिमान बनाएपछि आरोही निर्मल पूर्जाले फेसबुकमा स्टाटस लेखे ।

पछिल्लो कीर्तिमान कायम गरेपछि बीबीसीले सोधेको भावी योजनामा पूर्जाले ‘सरप्राइज’ दिने बताएका छन् । उनको सफलता र कीर्तिमानीलाई विभिन्न अन्तरराष्ट्रिय सञ्चार माध्यमले प्रथामिकताका साथ स्थान दिए ।

निर्मलले गत वर्ष सन् २०१९ मा ६ महिनाभित्रै विश्वका ८ हजारमाथिका सबै अग्ला १४ हिमालको सफल आरोहण गरेर विश्व किर्तिमान बनाएका थिए । आरोहण गरेका १४ अग्ला हिमालमध्ये आठवटा नेपालमै र अरू पाकिस्तान र चीनमा पर्छन् । हालसम्म विश्वमा कुनै पनि आरोहीले छोटो समयमा दुई दर्जन हिमालको आरोहण गरेको विश्वमा नै रेकर्ड नभएको बताइएको छ । उनले यस अघि अन्नपूर्ण, नेपाल, धौलागिरी, नेपाल, कञ्जनजङ्गा, नेपाल, सगरमाथा, नेपाल, लोत्से, मकालु, नाङ्गा पर्वत, पाकिस्तान, जी १, पाकिस्तान, जी २, पाकिस्तान, के २, पाकिस्तान, ब्रोड पिक, पाकिस्तान, चो यू, चीन, मनास्लु, शीशापाङ्मा, चीन, जस्ता हिमालको सफल आरोहण गरिसकेका छन् ।

सन् १९८३ मा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउंपालिका (३ दाना भन्ने ठाउंमा जन्मिएका निर्मलले १६ वर्ष ब्रिटिस सेनामा काम गरे, जसमध्ये १० वर्ष यूके स्पेशल फोर्सेसमा बिताएका छन् । सन् २००३ मा ब्रिटिस सेनामा आवद्ध भएपछि उनले बेलायतको क्याट्रिकस्थित आर्मी ट्रेनिङ सेन्टरबाट आधारभूत तालिम लिए । कर्पोरल निर्मल बेसिक ट्रेनिङमा च्याम्पियन रिक्रुटको उपाधि लिएर क्विन्स गोर्खा इन्जिनियर्समा गए ।

उनले गोर्खा एक्सपिडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए । सगरमाथा आरोहणको एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका निर्मल पूर्जालाई सन् २०१८ मा बेलायती महारानी एलिजावेथले अर्डर अफ् द ब्रिटिस एम्पायर (एमबीइ) अवार्ड प्रदान गरेकी थिइन् । निर्मल ‘स्पेशल फोर्स’ मा छानिने पहिलो गोर्खाली समेत हुन् । उनले मार्च २०१९ मा ब्रिटिस आर्मीको जागिर छाडेर हिमाल आरोहण अभियान थालेका हुन् ।

निर्मलले आफ्नै जन्मस्थान अन्नपूर्ण गाउंपालिकाकै नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट आरोहण शुरू गरेका थिए । त्यसलगत्तै म्याग्दीमै रहेको सातौं अग्लो धवलागिरी हिमालको (८,१६७ मिटर) आरोहण गरेपछि थप हिमाल आरोहणमा निस्किएका हुन् । पूर्जाले धवलागिरी हिमाल बिना अक्सिजन आरोहण गरेका थिए ।

तस्विरहरु निर्मल पूर्जाको फेसबुकबाट 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू