बुधबार, १५ अक्टोबर, २०२५
15:02 | १९:४७

नेपाली समाज नटिंघमको ‘दशैं–तिहार शुभकामना साँझ’

नेपाली लिङ्क अक्टोबर १५, २०२५

लन्डन । नेपाली समाज नटिंघमले अक्टोबर १३ का दिन ‘दशैं–तिहार शुभकामना आदान–प्रदान साँझ’ गरेको छ ।

विगत वर्षमा जस्तै यस वर्ष पनि आयोजित कार्यक्रममा करिब २ सय जना नटिंघमवासी नेपालीको सहभागिता थियो।

प्रमुख अतिथि पुलिस अफिसर कोहिसिव गुरमित कौर, संस्थापक अध्यक्ष रणबहादुर केसी र वर्तमान अध्यक्ष रामप्रसाद पन्थीले पानसमा बत्ती बालेर संयुक्त रूपमा कार्यक्रम शुभारम्भ गरेका थिए ।

कार्यक्रममा नेपालका ज्ञात–अज्ञात शहीद तथा समाजका दिवंगत सदस्यप्रति एक मिनेट मौनधारण गर्नुका साथै नेपाली तथा बेलायती राष्ट्रिय गानबाट कार्यक्रम अघि बढाइएको थियो ।

कार्यक्रममा उपाध्यक्ष मुकुन्दहरी खरालले स्वागत मन्तव्य तथा पूर्व अध्यक्ष तथा आइसीसी सदस्य विष्णु चालिसे, पूर्व अध्यक्ष प्रविश्ना पाण्डे, एनआरएन यूकेका निर्वतमान महासचिव गोविन्द खरेल, संस्थापक अध्यक्ष रणबहादुर केसी र ओमेन फाउन्डेशनकी अध्यक्ष निरु चालिसेलगायत अतिथिहरूले शुभकामना मन्तव्य दिएका थिए ।

त्यस्तै, इङ्ल्यान्ड राज्य समितिका निवर्तमान अध्यक्ष तथा साझा नेपाली समाजका उपाध्यक्ष शम्भु अर्याल, सल्लाहकार शेखर कंडेल, लाल थापा, र पूर्व महासचिव डिलाराम गौतमलगायतले कार्यक्रम तयारी, हल सजावट र सञ्चालनमा विशेष भूमिका निभाएका थिए।

कोष व्यवस्थापन कोषाध्यक्ष रबिन्द्र गिरी र मोहन केसीले गरेका थिए भने यामलाल सापकोटाले राफल ड्र सञ्चालनमा मुख्य भूमिका निर्वाह गरेका थिए । साथै खगेन्द्र साहनी र अर्जुन सापकोटाले उनीहरुलाई सहयोग गरेका थिए।

प्रवक्ता दुर्गा सापकोटा र कार्यसमिति सदस्य चोलाकान्त न्यौपानेले खानपान व्यवस्थापन सम्हालेका थिए। हल सजावट तथा पाहुना सत्कारमा नटिंघम हिलाज समूहकी अध्यक्ष निरु चालिसे, ओमेन फाउन्डेशनकी संस्थापक अध्यक्ष गीता भट्टराई र अन्य महिला सदस्यहरूको सक्रिय सहभागिता थियो ।

समाजका महासचिव रेशम खड्कले कार्यक्रम अत्यन्तै सभ्य र भव्य रूपमा सम्पन्न भएको जनाए ।

कार्यक्रममा स्थानीय कलाकार डिजे नन्द पुन, सुदीप उप्रेती र प्रकाश सापकोटाले आकर्षक प्रस्तुति दिएर दर्शकलाई मन्त्रमुग्ध पारेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा लोकनाथ अधिकारी र सुदीप उप्रेतीले मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरेका थिए । सो क्रममा समाजले ६ जना नव–विवाहित जोडीहरूलाई खादा लगाएर सफल वैवाहिक जीवनको शुभकामना दिएको थियो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष लोकनाथ अधिकारीले हेल्थ एण्ड सेफ्टी सम्बन्धी जानकारी दिएका थिए ।

समापन मन्तव्य दिंदै अध्यक्ष पन्थीले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । साथै उनले सम्पूर्ण नटिंघमवासी नेपालीलाई दशैं–तिहारको शुभकामना दिएका थिए । कार्यक्रममा प्रशंसा पत्र वितरण, सम्मान तथा विविध मनोरञ्जनात्मक प्रस्तुति राखिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू