शुक्रबार, वैशाख १४, २०८१
05:09 | ०९:५४

महिला सशक्तिकरणसम्बन्धी भर्जुअल विश्व सम्मेलन सम्पन्न

नेपाली लिङ्क जनवरी १९, २०२१

पोर्चुगल । महिला सशिक्तकरणसम्बन्धी एक भर्चुअल विश्व सम्मेलन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली समाज (आइएनएस) को अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र र महिला समितिले गत आइतवार संयुक्तरुपमा सम्मेलन आयोजना गरेका हुन् ।

आइएनएसका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्रका मुख्य कार्यकारी निर्देशक अर्जुन घिमिरेको अध्यक्षतामा संचालित कार्यक्रममा मुख्य अतिथि प्रा. डा टंकनाथ शर्मा (पूर्व डीन, केयू) आमन्त्रित मुख्य अतिथि इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य, अतिथिहरु प्रा डा श्रीराम प्रसाद उपाध्याय, प्रा डा बासुदेव काफ्ले, पर्यवेक्षक प्रा डा सुशन आचार्य, सह प्रा डा भगवती उपाध्याय, प्रा डा लक्ष्मण ज्ञवाली, सह प्रा डा प्रकाशचन्द्र भट्टराई, उप प्रा डा सुरेश गौतम, प्रा डा मोतीलाल घिमिरे, र समालोचक तथा विश्लेषक प्रा डा रेणु थापा, प्रा डा विष्णु कार्की, प्रा डा पुष्पलाल दमाई, साहित्कार तथा समालोचक महेश पौडेल, सह प्रा डा नारायण गैरे, भाषाविद् डा तारामणि राई, अनुसन्धानकर्ता डा भूपाल पाण्डे, सह प्रा डा पुष्पा घिमिरे लगायत विशिष्ट व्यक्तित्व र अन्य टिप्पणीकारहरुका साथै विश्वभरबाट नेपलीको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रम उद्घाटन गर्ने क्रममा राजदूत डा. अन्जान शाक्यले महिलाहरू समाजको ज्योति भएका बताउंदै यदि देशलाई सर्वांगिण विकासको आवश्यकता छ भने देशका सबै क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताइन् ।

प्रा डा मीरा मिश्राले नेपाली महिलाको अवस्था, महिला सशक्तिकरणका लागि गरिएका प्रयास र अग्रगामी मार्गहरुबारे बृहत रूपमा बताइन् । लैङ्गिक समानताका लागि महिलाले भान्छाको जिम्मेवारी भन्दा पर जानुपर्ने, कानून राम्रोसँग बुझ्नुपर्ने र कार्यान्वयन पनि हुनुपर्ने कुरामा उनको जोड थियो ।

त्यसैगरि, प्रा डा बिन्दु पोखरेलले महिला, समाज र राजनीतिः नेपालमा महिला सशक्तिकरणको सन्दर्भमा विश्वमा महिलाको स्थिति विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाली समाजमा उच्च स्तरमा लैंगिक विभेद रहेको बताइन् । उनले नेपाली महिलाहरूले आफ्नो मानसिकता परिवर्तन गर्नुपर्ने र महिलाहरू आफैं सशक्त हुनुपर्ने कुरामा समेत जोड दिइन् ।

वरिष्ठ पत्रकार नम्रता शर्माले कानून, ऐन, संविधान र महिला सशक्तिकरणलाई प्रकाश पार्दै भनिन् ‘संयुक्त राष्ट्र संघले मानव अधिकारको सुनिश्चितता गरिसकेको छ र विश्वका धेरै देशहरुले पहिले नै एउटा समूह बनाइसकेका भएपनि महिलाहरु अझै विश्वव्यापी विभेदको रुपमा रहेका छन् । हामी सबैले प्रश्न सोध्नुपर्दछ, कि मानवअधिकारको घोषणा गरेको झण्डै एक शताब्दी पछि पनि महिलालाई भेदभाव किन गरिएको छ ?’

कार्यक्रममा महिला, बालाबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी चिन्तक शान्ता लक्ष्मी श्रेष्ठले महिलावादी आन्दोलनको इतिहास र यसको प्रभाव विषयमा महिलाले चाहेको उपलब्धि हासिल गर्न अझ धेरै लामो यात्रा गर्न बाँकी रहेको उल्लेख गरिन् । त्यसैले आशातित लक्ष्य हासिल गर्न निरन्तर क्रान्ति हुनुपर्दछ भन्ने उनको टिप्पणी थियो ।

महिला शिक्षा अभियन्ता तथा साहित्यकार डा. जानुका पौडेलले साहित्य र महिला सशक्तिकरणमाथि प्रकाश पार्दै नेपाली साहित्यका सबै प्रख्यात र सम्मानित योगदानकर्ताहरूलाई सम्बोधन गरिन् ।

मानवशास्त्री तथा वरिष्ठ पत्रकार डा. बार्बरा निम्री अजीज (युएसए) ले “नेपालमा महिलासँग काम गर्दाका प्रतिबिम्ब (बौद्ध भिक्षुणिदेखि लिएर कट्टरपन्थी राजनीतिक असन्तुष्टहरू- १९६९ देखि अहिलेसम्म’ भन्ने विषयमा केन्द्रित भइ १३ वर्ष नेपालमै बसेको नाताले महिला अधिकार प्रयोग गर्ने क्रममा नेपाली महिलाको अवस्था नाजुक रहेकाले उनीहरूलाई प्रतिष्पर्धी बनाउन सशक्त बनाउनुपर्नेमा जोड दिइन् ।

शरीर, कलाकारिता विज्ञ र महिला इतिहासकार डा लरिसा डोमिन (जर्मनी) ले ‘विश्वमा महिला सशक्तिकरणको इतिहास, संस्कृति, चुनौति, विरोधाभास र मार्गचित्र’ बारे अभिब्यक्ति दिंदै विश्वभरि नै महिला सशक्तिकरणमा धेरै काम खड्किरहेको स्पष्ट पारिन् ।

महिला विद्वत विज्ञ सुसाना क्रिमर (अष्ट्रिया) ले ‘ज्ञान, दृष्टिकोण, पद्दति र विश्वमा महिला ज्ञानको संकट’ शीर्षकमा आफ्नो विचार, ज्ञान र अनुभव व्यक्त गरिन् ।

उक्त सम्मेलनले महिलाको अवस्थालाई पुरूष बराबरीमा ल्याउनका लागि १० बुँदे प्रस्ताव पारित गर्दै नेपाल लगायत संसारका सबै देशका सरकारहरुलाई कार्यान्वयन गर्न दवाव दिने जनाएको छ । कार्यक्रम सुचारु गर्नका लागि उपाध्यक्ष डा स्वामी कृष्ण, महासचिव अर्जुन श्री, प्रबक्ता चन्द्रकुमार फुयाल, वरिष्ठ उपाध्यक्ष श्याम सुवेदी तथा उपाध्यक्ष इश्वर राईले अहम भूमिका निर्वाह गरेका थिए ।

सम्मेलन सञ्चालन नितु खतिवडा, गोमा पौडेल, किशोर सुब्बा, आँचलकुमार शर्मा लगायतले गरेका थिए भने समाजकी सचिव सुप्रिया घिमिरे बस्नेतले स्वागत मन्तव्य दिइन् ।

उक्त सम्मेलनमा अन्तरराष्ट्रिय नेपाली समाजका अध्यक्ष अर्जुन घिमिरेले महामारीका कारण यसपटक भर्चुअल महिला सशक्तिकरणसम्बन्धी विश्व सम्मेलन गरिएको जनाउंदै संस्थाले भविष्यमा पनि निरन्तर यस्ता सम्मेलन गर्ने योजना सुनाए । ‘हाम्रो संस्था भाषा, साहित्य, संस्कृति, कृषि, पर्यटन लगायत अन्य विविध विषयमा निरन्तर गतिविधि गर्ने ध्येयका साथ अघि बढिरहेको छ’, उनले भने ।

महासचिव अर्जुन श्रीले नकट भविष्यमै नेपाली साहित्यको इतिहास, वर्तमान र भविष्य विषयक विश्व सम्मेलन गरिने जनाउंदै भने-  ‘संसारभरीका नेपालीहरुलाई एक ठाउँमा जोड्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालीले हासिल गरेका ज्ञान, सीप र अनुभवलाई नेपाल र नेपालीको हित र विकासमा उपयोग गर्ने उद्देश्यका साथ हामी निरन्तर लागिरहेका छौं ।’

सम्मेलनमा चर्चित कवयित्रीहरू दिक्षा भण्डारी र दिप्स शाह (नेपाल), इन्दिरा चामलिङ (बेल्जियम), उर्मिला निर्दोषी (अमेरिका) लगायतले महिला सशक्तिकरण सम्बन्धी दमदार कविता वाचन गरेका थिए ।

यसैगरी सम्मेलनमा विश्वभरबाट विशिष्ट पर्यवेक्षकहरूको समूह र महिला सशक्तिकरणको क्षेत्रका कार्यरत व्यक्तित्वहरुको सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू