शुक्रबार, वैशाख १४, २०८१
07:34 | १२:१९

महिला अभियन्ताहरुको एउटै स्वरः शिक्षाबिना सशक्तिकरण र नेतृत्व असम्भव

एनआरएनए यूके महिला फोरमको 'भर्चुअल' कार्यक्रम

नेपाली लिङ्क जनवरी ६, २०२१

लन्डन । सशक्तिकरण र नेतृत्वदायी भूमिकामा महिला सहभागिता सुनिश्चित गर्न शिक्षा नै प्रमुख माध्यम रहेको अभियन्ताहरुले बताएका छन् । शिक्षासंगै समाजमा रहेको पुरातन मानसिकता नहटाएसम्म महिलाले अग्रगामी छलाङ मार्न असम्भव रहेको पनि उनीहरुको धारणा छ ।

एनआरएनए यूके महिला फोरमले गत २ जनवरी शनिबार ‘सशक्तिकरण र नेतृत्वमा नारी शिक्षा र यसको प्रभाव’ बारे आयोजित एक भर्चुअल कार्यक्रममा उल्लेखित विषयले चर्चा पाएको हो ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले महिला सशक्तिकरणका लागि शैक्षिक विकास अपरिहार्य रहेको उल्लेख गर्दै शिक्षा चेतना र ज्ञानको प्रतीक भएको बताइन् । सामाजिक न्याय र रुपान्तरणमा शिक्षाको महत्व दर्शाउंदै उनले नेपालको संविधानले हरेक तह जस्तै स्थानीय तहमा ४१ प्रतिशत, प्रदेशमा ३४ प्रतिशत र संघमा ३३ प्रतिशत महिला सहभागिता सुरक्षित गरेपनि उनीहरुको समुन्नत विकास बांकी रहेको बताइन् ।

मन्त्री महताले शिक्षा प्रणालीलाई उद्यमशीलतामा जोड्न आवश्यक रहेको पनि बताइन् । ग्रामीण भेगमा रहेका महिला विशेष गरि दलित, जनजाति, सिमान्तकृत महिलाहरुले अन्धश्विास र रुढीवादी सोचका कारण सामाजिक रुपान्तरणमा आफूलाई अग्रसर गराउन नसकिरहेको मन्त्री महतोको धारणा थियो ।

कार्यक्रममा एनआरएन आइसीसी महिला संयोजक भोमा लिम्बुले शिक्षा र व्यवहारिक ज्ञानबाट महिला सशक्त हुने बताइन् । महिला अधिकार मानव अधिकार रहेको चर्चा गर्दै लिम्बुले २१ औं शताब्दीमा पनि महिला 
आफ्नो अधिकारका लागि संघर्ष गर्नुपरेको यथार्थ उल्लेख गरिन् ।

मिस नेपाल २०१८ श्रृंखला खतिवडाले शिक्षाको वातावरण, सामाजिक रुढीवाढी मानसिकताबाट मुक्त र आर्थिक रुपमा स्वतन्त्रता नभएसम्म महिला सशक्तिकरण सम्भव नहुने धारणा राखिन् ।

त्यसैगरि, ब्लाइन्ड रक्सकी अध्यक्ष दृष्टिविहीन श्रृष्टि केसी आफ्नो अनुभूति प्रस्तुत गर्दै ‘पोथी बासेको सुहाउंदैन्’ भन्ने पुरुषहरुले कम बोल्ने महिला नरोज्ने र 
आफूले बिहे गर्ने महिला शिक्षित होस् भन्ने पुरुषहरुले पढ्यो भने फेरि शिक्षित र सशक्त हुन्छन् कि भन्ने डर राख्ने गरेको विचार व्यक्त गरिन् । शिक्षा अधिकार मात्र होइन, आवश्यकता पनि रहेको उल्लेख गर्दै केसीले सानो छंदा आफूमाथि कुनै लैंगिक भेदभाव नभएपनि १६ वर्षमा आफूले आंखाको ज्योति गुमाएपछि छोरी र अपांगता भएकै कारण अपहेलना महशुस गर्नु परेको बताइन् ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले महिला नेतृत्व, आत्माविश्वास, सशक्तिकरण जस्ता कुरा शिक्षामा भर पर्ने बताइन् । सबैभन्दा पहिला आफैंले सोच परिवर्तन नगरेसम्म समाज परिवर्तन नहुने उनले बताइन् । सामाजिक रुपान्तरणका लागि अरुको चाहना वा दवावले भन्दा आफैं अग्रसर हुन पनि उनले सुझाव दिइन् । विकसित देश वा नेपाल जहां बसे पनि नेपाली समाजको ‘माइन्डसेट’ परिवर्तन हुन आवश्यक रहेको पनि उनले उल्लेख गरिन् ।

एनआरएनए यूके महिला फोरम संयोजक प्रसुना कंडेलले मध्यस्तता गरेको कार्यक्रममा बेलायत, नेपालसहित विश्वका विभिन्न देशमा रहेका नेपाली महिला अभियन्ताहरुको सहभागिता थियो ।

कार्यक्रममा महिला अभियन्ताहरु डा. मिना पौड्याल, डा. विभा सिम्खडा, सारा पार्कर, एनआरएनए आइसीसी सदस्य रामशरण सिम्खडा, एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराई, एनआरएनए यूके उपाध्यक्ष रोजिनाप्रधान राई, डा. सुनिल शाह, धन सार्की, रण केसी, सरस्वती केसी, बन्दना केसी, विभा गुरुङ, प्रतिमा केसी, जस्मिन सैद आदिको सहभागिता थियो । सहभागीबीच प्रश्नोत्तर समेत गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू