शुक्रबार, चैत १६, २०८०
01:39 | ०७:२४

बेलायतमा मास्टर मित्र सेन थापाको सम्झना

‘मास्टर मित्र सेन बीसौँ शताब्दीका एक किम्वदन्ती‘

नेपाली लिङ्क जनवरी ४, २०२१

​लन्डन ।  नेपाली लोक संगीतमा उल्लेख्य योगदान दिएका मास्टर मित्र सेन थापा मगर एक किम्वदन्ती भएको सर्जकहरूले बताएका छन् । बीसौँ शताब्दीको पूर्वार्द्धका एक महत्वपूर्ण सर्जक भन्दै साहित्यकार एवम् संगीतकर्मीहरूले सेन थापा मगरलाई स्मरण गरेका छन् ।

१२५ औँ मास्टर मित्र सेन थापा मगर जयन्तीका अवसरमा विश्व नेपाली साहित्य महासंघ साउथ यूकेले आइतबार आयोजना गरेको जुम परिचर्चा कार्यक्रममा बोल्दै गुवाहाटी विश्वविद्यालय आसामका प्रा.डा. खगेन शर्माले मास्टर मित्र सेनको बहुआयामिक व्यक्तित्वको प्रभाव भारत र नेपालमा समान रहेको बताए । मास्टर मित्र सेनको योगदानउपर नै शोध विद्यावारिधि गरेका प्रा.डा. शर्माले उनको कृतित्व र व्यक्तित्वको थप अध्ययन गर्न द्विदेशीय पहल हुनुपर्ने जिकिर गरे । 

‘उनी बीसौँ शताब्दीका एक किम्वदन्ती हुन् । सामाजिक चेतनादेखि जातीय जागरण ल्याउनसम्म उनले काम गरेका छन्,’ उनले भने, ‘भारत र नेपालका सर्जकहरूले संयुक्त रूपमा पहल गरेर उनको व्यक्तित्वको थप प्रचार गर्नुपर्छ ।’ उनले सेनलाई चर्चित संगीतकर्मी डा. भूपेन हजारिकासँग तुलना गर्दै पहिलो नेपाली गीतको डिस्क रेकर्ड, नाटक रेकर्डदेखि सामाजिक कामसम्ममा उनको महत्वपूर्ण देन रहेको बताए । 

दुई देशले हुलाक टिकट छापेका दुर्लभ व्यक्तिमा मास्टर मित्र सेन रहेको समेत भन्दै डा. शर्माले उनको परिवारसँग समन्वय गरेर थप संरक्षणका काम गनुपर्नेमा जोड दिए ।

त्यसैगरी, सेन जन्मेकै थलो भाग्सु धरमशालाबाट बोल्दै मित्रसेन साहित्य संगीत सभाकी अध्यक्ष साधना नेपालीले ब्रिटिस औपनिवेशिककालमा सेनले झ्याउरे लयमा गीत संगीत रचेर चेतना फैलाएको बताइन् । ‘मास्टर मित्र सेन साझा सम्पत्ति हुन् । सामाजिक समस्याबारे उनले धेरै छोएर लेखेका छन् । अबका सन्ततिहरूले उनीबाट प्रेरणा लिनुपर्छ’- उनले भनिन् । उनको घर अहिले संग्रहालयका रूपमा रहेको भन्दै सबैले थप सम्भार संरक्षण गर्नुपर्ने उनले सुझाइन् । 

त्यस्तै, मास्टर मित्र सेन स्मृति प्रतिष्ठान, काठमाडौँका अध्यक्ष त्रिलोकसिंह थापा मगरले सेनका पाण्डुलिपिको संकलनदेखि पाठ्यक्रमको तयारीसम्म प्रतिष्ठानले काम गरिरहेको सुनाए । ‘साँस्कृतिक सांगीतिक  पर्यटनका लागि मास्टर मित्र सेनसँग सम्बन्धित स्थलहरूको संरक्षण गरिनुपर्छ । भाषाको आन्दोलनमा लाग्नेहरूले पनि सेनको जीवनीलाई फर्केर हुनुपर्छ’- थापाले भने ।

​कार्यक्रममा सुरेन्द्र इङ्नाम, सेमन्त राई, भरत लोहोरूङले बाँसुरी, मिन रानाले सारङ्गीमार्फत् मित्र सेनका गीतका धुनहरू प्रस्तुत गरे । त्यस्तै, क्याप्टेन वीर बहादुर थापा मगर, थिर थापा मगर, प्रतिमा दूतराज, मनिष, प्रवल थापा र लखन थापाले सेनका लोकप्रयि गीतहरू सुनाए । त्यसैगरी, कवि औँतारी साइलाले कविता पाठ गरे ।

युद्ध साहित्य र संगीत प्रवर्द्धन  गर्ने हिसाबले कार्यक्रम आयोजना गरिएको विनेसाम साउथ यूकेका अध्यक्ष विजय हितानले जनाए । उनले मास्टर मित्र सेन थापाबारे भविष्यमा थप अन्तरक्रियाहरू पनि अयोजना गर्ने उल्लेख गरे । 

कार्यक्रममा  यूके, भारत, नेपाल, रसिया, अमेरिका, इजरायल लगायत विभिन्न मुलुकबाट करिब आठ दर्जन स्रष्टा, संगीतकर्मी र अभियन्ताहरूको सहभागिता रहेको विनेसाम साउथ यूकेका सचिव अमित थेवेले बताए ।

मास्टर मित्र सेन थापा मगरको जन्म सन् १८९५ डिसेम्बर २९ मा तोतारानी, भाग्सु धरमशालामा भएको थियो । उनको पुर्ख्यौली थलो पर्वत जिल्लाको राखु पूला रहेको थियो । १६ वर्षकै उमेरमा उनी पहिलो गोर्खा राइफल्सको पहिलो बटालियनमा भर्ना भए । सैनिक जीवनबाट अवकाश लिएपछि उनले बाँकी जीवन नेपाली गीत, संगीत, नाटक र समाजसेवामा समर्पित गरेका थिए । उनको निधन सन् १९४६ अप्रिल ७ मा भएको थियो

अमित याक्थुङ्वे   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू