शुक्रबार, वैशाख १४, २०८१
04:52 | ०९:३७

अक्सफोर्ड-अस्ट्राजेनिका खोप नेपाल जस्ता मुलुकलाई उपयोगी

डा. ओम कुर्मी डिसेम्बर ३१, २०२०
अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका फर्मास्यूटिकल कम्पनीद्धारा बनाइएको कोभिड १९ खोपलाई बेलायतमा रहेको मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले १८ वर्ष वा त्यो भन्दा बढी उमेर भएका व्यक्तिहरुमा दिन बुधबार मन्जुरी दिएको छ । यो खोपको लगानी एनआइएचआर, वेल्कम ट्रष्ट लगायतले गरेका हुन् । एक हप्ता अगाडि फाइजर कम्पनी र हाल आएर यो खोपको अनुमति पाएपछि बेलायतवासीले यो खोप छिट्टै पाउनेमा विश्वास व्यक्त गरेका छन् ।
एमएचआरएका कार्यकारी प्रमुख डा जुन रैनेले यो भ्याक्सिनलाई स्वीकृति प्रदान गर्दा खुशी व्यक्त गर्नुका साथै सबै उपलब्ध डेटाहरुको एक मजवुत र गहन मुल्यांकनपछि मात्र यो खोपलाई आपूर्तिका लागि अनुमोदन गरिएको बताइन् । त्यसकारण मानिसहरु कूनै शंका नमानी यो खोप लगाउन सक्छन् भनेर विश्वास दिलाएकी छन् ।
यो खोप दुई डोजमा दिइन्छ र पहिलो खोप लगाएको ४ देखि १२ हप्तामा दोस्रो डोज दिनुपर्नेछ । एमएचआरएले पहिलो डोज लिएका ब्यक्तिहरूलाई दोस्रो डोज पनि लिनलाई विशेष अनुरोध गरेको छ । यो भ्याक्सिन भण्डारण गर्न र परिवहन गर्दा २ देखि ८ डिग्री सेल्सियसको तापक्रम चाहिन्छ जुन नेपाल जस्ता कम विकसित देशहरूमा पनि उपलब्ध छ र सो तापक्रममा यो खोप नखोलिकन ६ महिनासम्म राख्न सकिन्छ । यदि मल्टीडोज भएको खोपको सिसी छ भने सिसी खोले पछि लगाउने क्रममा सिसीलाई २ देखि २५ डिग्री सेन्टिग्रेड तापक्रममा राख्न सकिन्छ  तर सिसी खोलेको ६ घण्टाभित्र लगाइसक्नु पर्छ ।
पहिलो डोज दिएको दुई हप्ता पछि यो भ्याक्सिनले काम गर्न थाल्ने विश्वास गरिएको छ भने दोस्रो डोज लगाएपछि लामो समयसम्म कोभिड १९ बाट सुरक्षित रहन मद्दत गर्दछ । तर, दोस्रो डोज दिएको व्यक्तिहरुमा कति वर्षसम्म यसले सुरक्षा प्रदान गर्दछ भनेर अहिले नै एकिन साथ भन्न सकिन्न । एक वर्ष पछि खोपको पुर्नमुल्यांकन गर्ने प्रस्ताव गरिएको छ ।
अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले एमएचआरएलाई सेप्टेम्बर २०२० देखि नै विभिन्न चरणमा उपलब्ध डेटाहरु उपलब्ध गराउंदै आएको थियो । अहिले दिएको स्वीकृति बेलायत, ब्राजिल र दक्षिण अफ्रिकाका २३ हजार ७४५ जना १८ वर्ष वा त्योभन्दा माथिका उमेरका मानिसहरुमा डेटाको अन्तरिम विश्लेषणपश्चात प्रदान गरिएको हो । यसमा ९०.३ प्रतिशत व्यक्तिहरु १८ देखि ६४ वर्ष उमेर समूहका थिए भने ९.७ प्रतिशत व्यक्तिहरु ६४ वर्षभन्दा माथिका थिए । त्यस्तै ७५.५ प्रतिशत व्यक्तिहरु गोरा, १०.१ प्रतिशत काला जातिका र ३.५ प्रतिशत एसियन थिए । ५५.८ प्रतिशत महिला र ४४.२ प्रतिशत पुरुष रहेका थिए ।
खोपको प्रतिकुल प्रतिक्रियाहरुमा इन्जेक्सन साइटहरुमा टेन्डरनेस (संवेदनशील, पीडादायक) ६० प्रतिशत, लगाएको ठाउंमा दुखाई, टाउको दुख्ने र थकान ५० प्रतिशत, मांसपेशी दुख्ने ४० प्रतिशत, हल्का ज्वरो ३० प्रतिशत र हाडजोर्नी दुख्ने अनि वान्ता (नोजिया) हुने २० प्रतिशत देखिएको थियो । अधिकांश प्रतिक्रियाहरु हल्का देखि मध्यमखालका थिए र खोप दिइएको केही दिनमा नै सञ्चो भएको देखिएको थियो । ६५ वर्ष वा त्यो भन्दा बढी उमेर समूहहरुमा प्रतिकुल प्रतिक्रियाहरु धेरै हल्का खालका थिए । परीक्षणकालमा भाग लिएका २०७० (३५.६५) ब्यक्तिहरू पहिलादेखि नै कम्तीमा एउटा रोग (बिएमआइ<= ३० केजी मिटर स्क्वायर, मुटुरोग, श्वासप्रश्वास सम्बन्धी रोग अथवा मधुमेह) लागेको थियो जसबाटा के थाहा हुन्छ कि यो खोप पहिलादेखि रोगÞ लगेको बिरामीलाई दिन अनुकूल छ । खोप परिक्षणमा भाग लिएका मानिसहरुमा पहिलो डोज दिएको औसतमा १३२ दिन र दोस्रो डोज दिएको ६३ दिनसम्म निरिक्षण गरिएको थियो । त्यसकारण खोप पाइसकेका मानिसहरुमा यसको असर कति समयसम्म रहन्छ भनेर यकिन गर्न सक्ने यथेष्ट प्रमाण छैन् ।
यो खोप ०.५ मिलिलिटर प्रत्येक डोजमा अन्तरमांशपेशीद्धारा दिन भनिएको छ । ६५ वर्ष वा त्यो भन्दा बढी उमेर समूहमा यसको प्रभावकारिता र सुरक्षा सम्बन्धि डेटा कम भएकाले यसको अध्ययन अझै जारी छ । त्यस्तै १८ वर्ष मुनिका व्यक्तिहरुमा, गर्भवती महिलाहरुमा यसको प्रभावकारिता र सुरक्षा सम्बन्धि यथेस्ट प्रमाण छैन् । बच्चाहरुलाई स्तनपान गराइरहेका महिलाहरुमा पनि यो भ्याक्सिन लगाइसके पछि दुधमा उत्सर्जित हुन्छ भनेर यकिन साथ भन्न सकिन्न । संक्षेपमा भन्नुपर्दा यो खोप १८ देखि ६४ वर्ष उमेरका ब्यक्तिहरूमा यथेष्ट प्रमाण छ तर अरु उमेर समूहमा अझै प्रमाणका लागि  अनुसन्धान भइरहेको छ ।
यो खोप हाल आएको नयां भेरिएन्ट  (भियूआइ- २०२०१२/०१) मा पनि काम गर्छ भन्ने कुरामा बैज्ञानिकहरु विश्वस्त छन् । बेलायतमा यो खोप ४ जनवरी, २०२१ सालदेखि दिने भनिएको छ । भारतमा पनि सेरम इन्सटिच्यूटले यो खोप बनाइरहेको छ । भारतमा पनि यो खोप दिन आपतकालिन अनुमोदन यही हप्तामा आउने अनुमान गरिएको छ । विश्वका धेरै जसो विकसित देशहरूले धेरै भन्दा धेरै खोपलाई आफ्नो  देशका नागरिकहरूको लागि मात्र सुरक्षित गर्ने होडबाजी गरिरहेका छन् र यस्तो बेलमा विश्व स्वास्थ्य संगठन जस्ता संगठनहरूले विकासशील वा गरीब देशहरूको पक्षमा बोल्न र यसका साथसाथै यी देशहरू पनि एकजुट भएर आवाज उठाउनु पर्ने देखिन्छ । यस्तो बेलामा अक्सफोर्ड, अस्ट्रेजेनेकाले यो खोपलाई नाफारहित र उदार वैश्विक पहुँचलाई केन्द्रबिन्दूमा राखेर सबैमा पुरयाउने निर्णय धेरै स्वागतयोग्य छ ।
(लेखक वरिष्ठ वैज्ञानिक डा. कुर्मी बेलायतस्थित कोभेन्ट्री विश्वविद्यालयमा एपेडिमिअलजी तथा हेल्थ केयर रिसर्च विषयका एसोसिएट प्रोफेसर हुन्) 
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू