बिहीबार, चैत १५, २०८०
17:00 | २२:४५

संविधानमा संसद् पुनःस्थापनाको व्यवस्था नै छैन: प्रम ओली

रासस डिसेम्बर ३०, २०२०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा विघटित संसद् पुनःस्थापनाको व्यवस्था नै नभएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशस्तरीय काठमाडौँमा उपलब्ध नेता–कार्यकर्ताको भेलालाई बुधबार सम्बोधनका क्रममा नेकपाका अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापना नहुने ठोकुवा गर्दै त्यसैले चुनावको तयारीमा जुट्न आफ्ना नेताकार्यकर्ता र सबै दललाई आग्रह गरे ।

यही पुस ५ गते प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिबाट प्रतिनिधिसभाको विघटन भई आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तोकिएको छ । सो विषय हाल सर्वोच्च अदालतमा विचारधीन छ ।

प्रधानमन्त्रीले यस स्थितिमा अर्को सरकार बन्ने स्थिति पनि नभएको र संसद् पुनःस्थापना हुन नसक्ने भएकाले सडकमा आन्दोलन गर्नाको आवश्यकता नरहेको पनि जिकिर गरे,  ‘म प्रतिनिधिसभाको ६४ प्रतिशत मतप्राप्त नेताका हैसियतले सरकार सञ्चालनमा बाधा उत्पन्न भई संसद् विघटनको निर्णयमा पुगेको हुँ । राजनीतिक आग्रहका आधारमा पुनःस्थापना हुन सक्दैन । विघटनको निर्णय संविधानअनुसार नै गरिएको हो । चुनावमा आउनुहोस्, चुनाव स्वच्छ, शान्तिपूर्ण र धाँधलीरहित हुनेछ ।’

प्रधानमन्त्री ओलीको प्रश्न थियो, ‘के चुनावमा जाँदा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता संकटमा पर्छ र ? झन् बलियो हुने होइन र ?’  विपक्षी समूहलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले सडकमा आन्दोलन नगरी बरु जित्ने गरी चुनावमा आउन आग्रह पनि गरे ।

नेकपाभित्रको विवादका प्रसंगमा अध्यक्ष ओलीले एकता गर्दा एकता बलियो बनाउन, संविधानको कार्यान्वयन र मुलुकको स्थिरतालाई ध्यानमा दिएर अर्को पक्षलाई बहुमत केन्द्रीय सदस्य दिइएको जनाउँदै नेकपाभित्रको प्रतिस्पर्धाले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन नसक्ने भएकाले एक जुट भई अगाडि बढ्न अनुरोध गरे ।

अध्यक्ष ओलीले निर्वाचनको मिति घोषणापछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आपसमा अन्तरविरोध भए पनि चुनावमा मिलेर जान प्रस्ताव गर्दा उनले अस्वीकार गरेको सुनाए ।

प्रधानमन्त्री ओलीले पूर्व–पश्चिम, केरुङ–काठमाडौँ र वीरगञ्ज–काठमाडौँ रेलमार्ग निर्माण हुने अठोट व्यक्त गर्दै विभिन्न विमानस्थल र पूर्वाधार विकास-निर्माण तीव्र गतिले भइरहेको बताए ।

उनले भन्ने, ‘नयाँ-नयाँ काम भइरहेको छ । औद्योगिक क्षेत्रको विकास गरिएको छ । एकै दिनमा ३०० भन्दा बढी अस्तपाल उद्घाटन गरेका छौँ । जनता आवास निर्माण, विद्यालय र अस्पतालको पुनः निर्माण, कृषिको आधुनिकीकरणजस्ता धेरै क्षेत्रमा प्रगति हासिल भएको छ । भएको कामलाई पनि नदेख्ने दृष्टिदोष भएकाबारे म टिप्पणी गर्न चाहन्न ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू