शनिबार, वैशाख २२, २०८१
01:16 | ०६:०१

बेलायतमा जनवरीबाट लाखौँलाई अक्सफोर्डको भ्याक्सिन दिइने

१५ दिनमा २० लाख खोप वितरण गरिने

नेपाली लिङ्क डिसेम्बर २७, २०२०

जोन क्लेरेन्स

लन्डन । बेलायतमा सन् २०२१ को नयाँवर्ष लगत्तै लाखौँलाई कोरोना विरुद्धको भ्याक्सिन दिइने भएको छ । आउँदो जनवरी ४ तारिखबाट अक्सफोर्ड/एस्ट्राजेनेका तथा फाइजर-बायोएनटेकका २० लाख खोपको पहिलो डोज वितरण गरिने बताइएको छ ।

अक्सफोर्डद्वारा विकसित खोपलाई जनवरीबाट वितरण गरिने सरकारी मन्त्रीहरुले जानकारी दिएका छन् । नियामक निकायले  तत्कालै अक्सफोर्ड-एस्ट्राजेनेकाको खोप स्वीकृत गरेको खण्डमा जनवरी दोस्रो हप्ताबाट स्पोर्ट्स स्टेडियम तथा सम्मेलन स्थलहरुमा व्यापक रुपमा खोप वितरण गरिनेछ ।

अक्सफोर्ड-एस्ट्राजेनेकाद्वारा विकसित खोप फाइजर बायोएनटेकद्वारा विकसित खोपको तुलनामा व्यवस्थापन र सामान्य फ्रिजको तापक्रममा पनि भण्डारण गर्न निकै सहज हुनुका साथै कम खर्चिलो पनि छ । एक डोजको मुल्य तीन पाउण्ड पर्ने जनाइएको छ । प्रति व्यक्ति दुई डोज भ्याक्सिन आवश्यक हुन्छ ।

बेलायत सरकारले अक्सफोर्ड/एस्ट्राजेनेकाको सय मिलियन भ्याक्सिन अर्डर गरिसकेको छ जसमध्ये ४० मिलियन भ्याक्सिन सन् २०२१ को मार्चसम्ममा वितरण गरिने सरकारले जानकारी दिएको छ ।

बरिष्ठ सरकारी स्रोतका अनुसार मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले सोमबार साँझसम्म स्वीकृति दिनसक्ने अनुमान छ ।

एस्ट्राजेनेकाका प्रमुखले आफ्नो खोप पनि फाइजर तथा मोडेर्नाद्वारा विकसित खोप जस्तै प्रभावकारी रहेको बताएका छन् । बेलायतमा हालसम्म ६ लाख भन्दा बढीले फाइजरको कोरोना भ्याक्सिन लगाइसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू