शुक्रबार, वैशाख ७, २०८१
14:36 | १९:२१

कोरोनाको नयाँ स्वरुपपछि बेलायत ‘आइसोलेटेड’

विश्वका कयौँ देशले गरे उडानमा प्रतिवन्ध

नेपाली लिङ्क डिसेम्बर २१, २०२०

लण्डन । बेलायतमा कोरोना भाइरसले स्वरुप बदलेर संक्रमण तीव्र फैलिएपछि विश्वका कयौँ देशले यहाँबाट जाने उडानमा प्रतिवन्ध घोषणा गरेका छन् । युरोपेली देशपछि मध्यपूर्व हुँदै अहिले भारत र रुसले समेत बेलायतबाट उड्ने जहाजमा प्रतिवन्ध लगाएका छन् ।

भारतले बुधबारदेखि ३१ डिसेम्बरसम्म बेलायतबाट जाने सबै उडान बन्द गर्ने बताएको छ । रुसले एक साताका लागि ब्रिटेनबाट आउने र जाने सबै उडान स्थगित गर्ने घोषणा गरेको छ ।

फ्रान्सले आइतबार रातीदेखि ४८ घण्टाका लागि सडक, हवाइ, समुद्री र रेल मार्ग बन्द गरेको छ । नेदरल्याण्ड्सले १ जनवरीसम्म र डेनमार्कले ४८ घण्टा उडान रोक्ने बताएका छन् ।

बेलायतको अवस्थाबारे अझै स्पष्ट भइनसकेको भन्दै डच सरकारले नेदरल्याण्ड्समा नयां भाइरस छिर्ने जोखिम कम गर्न १ जनवरीसम्म उडान प्रतिवन्धको निर्णय गरेको छ । उसले ईयूका सदस्य राष्ट्रहरुसंग पनि युरोपमा नयां भाइरसको जोखिम कम गर्न निकट रहेर काम गर्ने बताएको छ ।

नर्वेले दुई दिन र बेल्जियमले पनि २४ घण्टा प्रतिवन्ध लगाउने बताएको छ । बेल्जियमले बेलायतबाट चल्ने रेल सेवा पनि रोकेको छ ।

त्यसैगरि, इटालीले ६ जनवरीसम्म हवाइ यात्रुलाई आफ्नो देश आउन प्रतिवन्ध लगाएको छ । १४ दिनयता बेलायत ‘ट्रान्जिट’ भएका यात्रुलाई पनि रोक लगाइएको छ । इटालीका बासिन्दा भने घर फर्कन पाउने छन् ।

अस्ट्रियाले पनि बेलायतबाट उड्ने जहाज प्रतिवन्ध  लगाएको छ तर कहिलेसम्म स्पष्ट छैन् ।

लिथुनिया, लाटभिया र स्टोनियाले पनि बेलायतबाट उड्ने जहाज ३१ जनवरीसम्म प्रतिवन्ध गर्न सहमत भएका छन् ।

पोर्चुगलले बेलायतबाट आउने आफ्ना नागरिकलाई कोभिड नेगेटिभ रिपोर्ट भएमात्र प्रवेश दिने भएको छ । बुल्गेरियाले ३१ जनवरीसम्म बेलायतबाट हुने उडान रोकेको छ ।

हङकङले पनि बेलायतबाट उड्ने सबै उडान रोक्दै यहाँ हालै भ्रमण गरेकाले ७ दिन अतिरिक्त सहित कुल २१ दिन क्वारेन्टिन बस्नु पर्ने नियम बनाएको छ । इजरायलले बेलायतबाट उडानमा आउने गैर इजरायलीलाई देश भित्रन रोक लगाएको छ । ब्रिटेनबाट फर्किएका इजरायलीले २ साता होटेलमा ‘आइसोलेसन’ बस्नुपर्ने छ ।

साउदी अरबियाले एक साताका लागि सबै अन्तरराष्ट्रिय उडान  स्थगित गरेको छ भने क्यानाडाले ७२ घण्टा रोक्ने घोषणा गरेको छ ।

एल साल्भाडोरले ३० दिनभित्र बेलायत भ्रमण गरेका वा ट्रान्जिट मा रहेकालाई रोक लगाएको छ । आयरल्यान्डले ४८ घण्टाका लागि हवाइ उडान र ‘फेरि’ मा प्रतिवन्ध लगाएको छ ।

कोलम्बिया, मोरोक्को, चिली, फिन्ल्यान्ड र अर्जेन्टिनाले पनि बेलायतबाट आउने यात्रुलाई प्रतिवन्ध लगाउने घोषणा गरेका छन्। चेक रिपब्लिकले बेलायतमा कम्तीमा २४ घण्टा बिताएकालाई अनिवार्य आइसोलेसन बस्नुपर्ने भनेको छ । स्पेन, स्विडेन, टर्कीले पनि प्रतिवन्ध लगाउने भएका छन् ।

जर्मनीका स्वास्थ्य अधिकारीहरुले यूके र साउथ अफ्रिकाबाट उड्ने हवाइजहाजहरुलाई प्रतिवन्ध लगाउनेबारे सोचिरहेको बताएका छन् ।

नयां भाइरसले चिन्ता

ब्रिटिश अधिकारीहरुले कोरोना भाइरसको एउटा नयां स्वरुप पत्ता लागेको र त्यो यसअघिको भन्दा ७० प्रतिशतसम्म बढी संक्रामक रहेको जनाएका छन् । ब्रिटेनले विश्व स्वास्थ्य संगठनलाई एक पत्र लेखेर त्यस्तो जानकारी गराएको हो ।

ब्रिटिश सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले ‘भियूआइ-२०२०१२०१’ नाम दिइएको कोरोना भाइरसको उक्त नयां जीवाणुले निकै बढी संक्रमकता देखाएको जनाएका छन् ।

सर भ्यालेन्सले गत सेप्टेम्बर महिनामा दक्षिण पूर्व इंग्ल्याण्डमा भएको कोभिड १९ संक्रमण मध्ये २८ प्रतिशत कोरोना भाइरसको नयां स्ट्रेनबाट भएको तर डिसेम्बर ९ सम्म लन्डनमा भएका सबै संक्रमणमध्ये ६२ प्रतिशत सोहि स्ट्रेनका कारण भएको पाइएको बताएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको नयां स्वरुपबारे बेलायती अधिकारीहरुसंग निकट सम्पर्कमा रहेको जनाएको छ । डब्लुएचओले बेलायतसहित नेदरल्याण्ड्स, डेनमार्क र अष्ट्रेलियामा समेत कोरोना भाइरसको उस्तै स्वरुप पत्ता लगाएको जनाएको छ । अहिले विकास भइरहेका खोपले नयां भाइरसलाई नियन्त्रण गर्दैन् भन्नेचाहिं पुष्टि भइसकेको छैन् ।

बेलायतको बर्मिङघम विश्वविद्यालयमा औषधि विज्ञानका सहप्राध्यापक डा. विभु पौड्यालले नयां भाइरसबारे अहिले आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउंछन् । ‘भाइरसमा परिवर्तन आउनु सामान्य हो । फ्लुको भाइरसमा पनि यस्तै हुन्छ’, पौड्यालले भने । यसको मानिसलाई हानी गर्ने क्षमता पहिलाको भाइरस जस्तै वा घटबढ हुन सक्ने उनको धारणा छ ।

यहाँ दुई साताभित्र खाद्यान्नको अभाव हुने चिन्ताबीच प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार वरिस्ठ मन्त्री तथा अधिकारीहरुको आपतकालिन ‘कोब्रा’ बैठक बोलाएका थिए । नयां भाइरस फैलिएपछि बेलायत फेरि लकडाउनमा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू