मंगलबार, वैशाख ११, २०८१
16:40 | २१:२५

प्रतिभा प्रतिष्ठान बेलायतको प्रतिभा सम्मान र पुरस्कार डा विमल र तुम्खेवालाई

नेपाली लिङ्क डिसेम्बर २१, २०२०

लण्डन । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा वर्षेनी प्रदान हुंदै आएको प्रतिभा सम्मान तथा पुरस्कार २०२० घोषणा भएको छ  ।

प्रतिष्ठानले वरिष्ठ साहित्यकार तथा भाषा संस्कृतिविद डा राजेन्द्र विमल (जनकपुरधाम) लाई ‘प्रतिभा सम्मान’ र युवा कवयित्री विमला तुम्खेवा (तेह्थुम) लाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका महासचिव देवेन्द्र खेरेस राईले जानकारी दिए ।

प्रतिभा सम्मान पाउने स्रष्टालाई ताम्रपत्र र ५० हजार नगद तथा प्रतिभा पुरस्कार पाउने स्रष्टालाई एक लाख नगद र ताम्रपत्र प्रदान गरिनेछ ।

प्रतिभा पुरस्कार प्राप्त गर्ने युवा कवयित्री विमला तुम्बेफा तेह्थुमकी हुन् । तीन दशकदेखि नेपाली साहित्य र विशेषतः कविता लेखनमा सक्रिय रहंदै आएकी उनले सञ्चारिका समूहमा आबद्ध रहेर महिला सशक्तिकरणका लागि समेत योगदान गरेकी छन् ।

त्यस्तै, प्रतिभा सम्मान पाउने डा राजेन्द्र विमल मैथिली साहित्यमा ठूलो योगदान गरेका स्रष्टा हुन् । जनकपुरका विमल प्रतिभा सम्मान प्राप्त गर्ने मधेशी समुदायबाट पहिलो स्रष्टा हुन् । आउँदो वर्ष नेपालमै एक कार्यक्रम गरी पुरस्कार र सम्मान प्रदान गरिनेछ ।

सन् २००८ मा स्थापित प्रतिष्ठानले स्थापनायता हरेक वर्ष प्रतिभा पुरस्कार र प्रतिभा सम्मानले वर्षेनी एक-एक स्रष्टालाई सम्मान गर्दै आएको छ । नेपाली कला, साहित्य र संगीत क्षेत्रमा योगदान पुरयाइरहेका संघर्षशील युवा स्रष्टालाई प्रतिभा पुरस्कार र ५० वर्ष उमेर माथिका वरिष्ठ स्रटालाई प्रतिभा सम्मान प्रदान गरिंदै आएको छ ।

यो पनि पढौं : नेपाली प्रतिभा प्रतिष्ठान बेलायतमा नयाँ कार्यसमिति

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू