शनिबार, वैशाख १५, २०८१
20:54 | ०१:३९

स्कटल्याण्डमा दुईवटा होटल खोल्दै काशीराम

'अब होटल व्यवसायमै लाग्छु'

नेपाली लिङ्क डिसेम्बर १९, २०२०

लन्डन । सन् २०१२ मा बेलायती पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनलाई आफ्नो रेष्टुरेन्ट उद्घाटन गराएर एकाएक ‘लाइमलाइट’ मा आएका व्यवसायी काशीराम भण्डारी यतिखेर अर्को महत्वकांक्षी प्रोजेक्टमा जुटेका छन् ।

स्कटल्याण्डको पर्थ सिटी सेन्टरमा गत वर्ष बन्द भएको ग्राम्पियन होटल नयां साजसज्जा र व्यवस्थापनमा खुल्दैछ र त्यो जोखिम मोल्दैछन् काशीराम । झण्डै ५ लाख पाउण्ड लगानी गरेर आउंदो महिनादेखि सञ्चालनमा आउन लागेको १५ कोठाको उक्त होटलले स्थानीय २० जनालाई रोजगारी दिने सञ्चालक भण्डारीले जनाए ।

होटलमा अढाइ सय जनासम्म अट्ने प्रेक्षालय, ६० सिटिङको पब र १०० सिटिङको रेष्टुरेन्ट समेत उपलब्ध हुनेछ ।

भण्डारीले गत सेप्टेम्बरमा उक्त होटल भवन खरिद गरेर पुनः सञ्चालन गर्न लागेका हुन् । आफ्नो नयां ‘भेन्चर’ पछि पर्थमा पर्यटकहरु आकर्षित हुने विश्वास उनलाई छ । नेपाली पन झल्काउन खानासहित होटलको मुल प्रवेशद्धारमा नेपाली झण्डा फहराएका छन् उनले । नेपालको पर्यटन प्रवर्धन गर्ने अठोट पनि उनको छ ।

कोरोना महामारी अगाडि नै होटल किन्ने योजना केही समय रद्द गरेका भण्डारीले अब परिस्थिति सुधार हुंदै जाने र बेलायतको अध्यागमन प्रणाली सहज हुने आशासहित होटल व्यवसायतर्फ लागेको नेपाली लिंकसंग बताए ।

भण्डारीले १० बेडरुमको अर्को होटल स्कटल्याण्ड किरकल्डीमा पनि छिट्टै खोल्दैछन् । फ्रि-होल्ड प्रोपर्टी लिएर बनाइएको उक्त होटलमा ६० सिटिङको रेष्टरेन्ट र पब समेत रहनेछ । ‘अब रेष्टुरेन्टसंगै होटल व्यवसायतिर लाग्ने सोचले केही नयां प्रोजेक्ट गर्दैछु’, उनले भने ।

गुल्मी खैरेनी स्थायी घर भएका भण्डारी सन् २००४ मा बेलायत आए । यहां आएको दुई वर्षपछि रेष्टुरेन्ट व्यवसायमा लागेका भण्डारीले कहिल्यै असफलता बेहोर्नु परेन ।

गुल्मी जिल्ला समाज यूकेका सदस्य भण्डारीको स्कटल्याण्ड काउडेनवीथमा सिमला प्यालेस रेष्टुरेन्ट पनि चालु छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू