बिहीबार, वैशाख १३, २०८१
17:35 | २२:२०

बेलायतका कवयत्रीद्वय मर्यादित महिनावारी सम्बन्धि कविताबाट विजयी

सुधा गुरुङ डिसेम्बर १५, २०२०

लन्डन । दोश्रो अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस कविता प्रतियोगितामा बेलायतबाट सहभागी कवियत्रीद्वय विजयी भएका छन् ।

राधा पौडेल फाउन्डेशनले दोश्रो अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउने क्रममा कविता प्रतियोगिता पनि राखेको थियो । प्रतियोगितामा नेपाल लगायत डिग्नीफाइड मेन्सट्रुएसन यूके च्याप्टरबाट पनि सहभागिता थियो ।
प्रतियोगितामा बेलायतबाट चार जना कवियत्रीले सहभागिता जनाएकामा दुई कविता प्रथम र द्वितीय स्थान ओगट्न सफल भए ।

प्रतियोगितामा सारा देवी गुरुङ (बेलायत) प्रथम, माया गुरुङ (बेलायत) द्वितीय, अंग्रेजी कविता लेखेकी बिराटनगर निवासी राधा कोइराला र कृष्ण ओली (बाजुरा) तृतीय भएका छन् ।

राधा पौडेल फाउन्डेशनले असोज ९ मा ‘महिनावारीको कुरा मर्यादा केन्द्रित भए मात्रै हुन्छ पूरा’ भन्ने शिर्षकमा कविता तथा गजल प्रतियोगिता आह्वान गरेको थियो । उक्त प्रतियोगिता ‘सेल्फ भिडियो’ रेकर्डको माध्यमबाट गरिएको थियो । प्रतियोगितामा मंसिर १५ सम्म २४ वटा कविता तथा गजल प्राप्त भएका थिए । विषयवस्तु, प्रस्तुतिकरण र कार्यक्रमको मापदण्डका आधारमा कविताहरु छनौट गरिएको फाउन्डेशनले जनाएको छ ।

२४ वटा कविताबाट पहिलो चरणमा १२ वटा गजल तथा कविता छानिएको थियो । त्यसपछि तीन जना निर्णायकहरु राधा पौडेल, प्रतिमा केसी र सौरभ ओलीले ३०-३०-३० नम्बरको पूर्णांकमा गरेको मुल्यांकन र युट्युव भ्यूजको १० नम्बर गरि विजेता घोषित गरिएको हो ।

राधा पौडेल फाउन्डेशनले मर्यादित महिनावारीबारे जनचेतनामूलक वर्कशप, अन्तरकृया, सफा र स्वस्थ्य घरेलु प्याड तालिम आदिका साथै कविता प्रतियोगिता गरि दोश्रो अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस मनाएको हो ।

प्रतियोगितामा प्रथम भएको कविता-

सृष्टिको फूल रजस्वला

जन्म लिनु हामी एउटा सृष्टिको खेल हो
छोरी बनि जन्मनु भाग्य संयोगको मेल हो ।

कसैले पुज्छन् कन्या देवीको रूप सम्झेर
कतै पुज्छन् सरस्वती, लक्ष्मी माता भनेर ।

यहां गरिन्छ मात्रकुरा गरिंदैन ब्यवहारमा पूरा
भेदभावको कसीबारे बुझ्नु छ सबैले कुरा ।

हिजो छोरीपुज्ने कन्या थिइ आज किशोरी बनिन्
समयको गति संगसगै शारीरिक रूपरेखा फेरिन् ।

आयो जीवन भित्र सृष्टि फूल्दै रातो रङ्गमा
सृष्टिरुपी सुन्दर फूल, फूल्दछ तब तरङ्गमा ।

जसरी धर्तीले छातीमाथि संसार थाम्न सक्छिन
त्यसरी मानव सृष्टि थाम्न छोरी अघि बढ्छिन् ।

हुन्छन् यहां समाजको जमात अन्धोपनमा
त्यसैले सृष्टिब्यथा बुझ्ने पाईंदैन मनमा ।

यदि यहां छोरीले सृष्टि न रचे यसरी
तिम्रो जन्म फेरी हुन्थ्यो यहां कसरी ।

जन्मनु छोरी बनी सृष्टिको रुप लिनु हो
बनी आमा यहां कसैको जीवन दिनु हो ।

सत्य के हो नबुझी यहां घृणा मान्न थाल्छन्
सृष्टि थाम्न फूल्न खोज्दा अछुत भनी मान्छन् ।

छैन ज्ञान सोचको कमी कस्तो भेदभाव
हटाउँ सबै मिलि कुसंस्कार यस्तो प्रभाव ।

घृणा होइन रजस्वला नारी शुद्धता हो
यसमा भेदभाव गर्नु हाम्रो मुर्खता हो ।

घृणा होइन रजस्वला जीवन अभिसार हो
रुढीवादी सोच राख्नु नै यहां धिक्कार

श्रीमती सारादेवी गुरुङ
चित्रे, पर्वत, हाल: लन्डन, बेलायत

——————————–

द्वितीय कविता

छाउपडी निर्मूल गरौं

छोराको जन्म हुन्छ जसरी
उसरी नै हुन्छ छोरीको
गर्दछ कर्म उसै गरी
खुशी दिन्छ मन भरिको

फुल्छ इन्द्रकमल सरि
सुहाएर परिवारमा
सुन्दर पार्दै घर पनि
हुर्किन्छ आंगनमा

प्रकृतिको रचना हो
छोरीमा हुनै पर्ने यो
उमेर पुगी शरीरको
हुने परिवर्तन यो

महिनावारी भयो भनी
वार्न गोठमा पठाउँछन्
संस्कार मान्ने हो भनी
छाउपडीमा राखिदिन्छन्

छाउपडीमा उनलाई
डर र त्रास लाग्दो हो
चिसोमा जाडो गर्मीमा पसीना
भोक प्यास लाग्दो हो

त्यतिमात्र कहां हो र ?
हुन्छ दुर्घटना बारम्बार
कुनै चेली हुन्छ बलत्कार
कुनैले त्याग्छ यो संसार

शरीर सफा सुग्घर राख्न
शरीरले गर्ने प्रकृया यो
बुझेर पनि अबुझ बनी
यातना दिने किन हो

फुल्ने फल्ने शरीर यो
शरीर सफा राख्न हो
मल मुत्र त्यागे सरि त्यो
फोहोर मैला त्याग्न हो

कुप्रथा हो जान्नु सबले
नझुक्नू तिमी फगत
एक भई हटाऔं सबले
सभ्य बनाऔं जगत

कुसंस्कार हटाएर
मानव धर्म पालन गरौं
जनचेतना जगाएर
मानवताको रक्षा गरौं

सभ्य समाज बनाऔं
छाउप्रथा निर्मूल गरौं
नबुझ्नेले बुझौं अब
सबै मिली विरोध गरौं

-माया गुरूङ

पञ्चमुल सिरुबारी (बिरौटा)
हाल- बेलायत

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू