बिहीबार, वैशाख १३, २०८१
01:32 | ०६:१७

बेलायतमा नेपाली सेनाका अधिकृतले पाए अन्तरराष्ट्रिय अवार्ड

नेपाली लिङ्क डिसेम्बर ११, २०२०

लन्डन । बेलायतमा नेपाली सेनाका एक अधिकृतले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् । नेपाली सेनाका सेकेन्ड लेफ्टीनेन्ट २१ वर्षीय पिटर थापाले बेलायतको स्याण्डहस्टस्थित रोयल मिलिट्री एकेडेमीमा प्रशिक्षणका क्रममा उत्कृष्ट प्रदर्शन वापत ‘इन्टरनेशनल सोर्ड अफ अनर’ नामक अवार्ड पाएका हुन् ।

२० वर्षयता नेपाली क्याडेटले उक्त अवार्ड पाएको पहिलो अवसर रहेको बताइएको छ । विभिन्न मुलुकका ३३ क्याडेटहरुबीच ४४ साताको प्रशिक्षण समापनका क्रममा थापालाई शुक्रबार सो अवार्ड दिइएको हो । बेलायती महारानीको प्रतिनिधित्व गर्दै आएका जनरल सर प्याट्रिक स्याण्डर्सले सोभरिन परेडका क्रममा उक्त अवार्ड प्रदान गरे ।

यससंगै थापाले प्लाटुन कमाण्डर पास समेत पाएका छन् । ब्रिटिश अफिसर क्याडेटलाई तालिम दिन योग्य उक्त ‘इन्सट्रक्टर पास’ नेपाललाई पहिलो पटक दिइएको थापाले नेपाली लिंकसंग बताए । थापा कुनै पनि बेला यहां आएर स्याण्डहस्टस्थित रोयल मिलिट्री एकेडेमीमा ब्रिटिश क्याडेटलाई २ वर्षसम्म प्रशिक्षण दिन सक्नेछन् । ‘यो मेरो मात्र भन्दा पनि नेपाली सेना र नेपालका लागि नै गर्वको कुरा हो’- अवार्ड पाएपछि थापाले भने, ‘यसले देश र जनताको रक्षार्थ नेपाली सेनामा थप जिम्मेवार भएर लाग्न प्रेरित गरेको छ ।’

थापा बेलायती सेनाको एउटामात्र कोटामा छानिएर तालिममा आउन सफल भएका थिए ।

२ वर्ष अघिमात्र नेपाली सेनामा भर्ती भएका धादिङ त्रिपुरा सुन्दरी नगरपालिका निवासी थापाले वर्ष दिनको कोर्षमा आफ्नो क्षमता अभिवृद्धि, बेलायती सेनाको कार्यशैली र रणनीति बुझ्ने अवसर एवं विभिन्न देशका सैनिकहरुसंगको अन्तरक्रियाले अन्तर्राष्ट्रिय सम्बन्धबारे धेरै ज्ञान हासिल गर्न पाएको बताए ।

थापा आगामी जनवरीदेखि ब्रेकनमा हुने तीन महिने प्लाटुन कमाण्डर ब्याटल कोर्समा सहभागी हुनेछन् ।

कोर्स समापनको विशेष समारोहमा लन्डनस्थित राजदूत डा. दुर्गाबहादुर सुवेदी लगायत अन्य कर्मचारी पनि उपस्थित थिए । सो अवसरमा युएइका क्राउन प्रिन्स शेख मोहम्मद वीन जाइद लगायत सेनाका उपल्लो दर्जाका अधिकृत र कूटनीतिज्ञहरु समेत सहभागी थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू