बिहीबार, चैत १५, २०८०
08:30 | १४:१५

जीप दुर्घटनामा ५ जनाको ज्यान गयो

रासस नोभेम्बर २४, २०२०

बैतडी । बैतडी जिल्लाको दशरथचन्द नपा–१० बुड्डामा मंगलबार एक यात्रुवाहक जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा शुरनयाँ गाउँपालिका–४ का ७५ वर्षीया कलावती चन्द, पाटन नगरपालिका–५ का ७७ वर्षीय भगीरत पाण्डेय, दशरथचन्द नगरपालिका–५ का ७२ वर्षीया पार्वती चन्द, पाटन नपा–५ का ७० वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नपा–२ का ५८ वर्षीय कृष्णलाल लावड रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी अन्य चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार भारतसँग सीमा जोडिएको झुलाघाटबाट सदरमुकाम गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नपा–१० बुड्डामा दुर्घटनामा परेको हो । 

दुर्घटनाग्रस्त जीप सडकबाट २०० मिटर तल खसेको थियो । दुर्घटनामा जीपका चालक गोपालसिंह कार्की गम्भीर घाइते भएका छन् । उनको धनगढीमा उपचार भइरहेको छ ।

अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका उनीहरु पेन्सन बुझेर घर फर्कने क्रममा थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू