शनिबार, वैशाख ८, २०८१
19:27 | ००:१२

अमेरिकी जनतालाई एकताबद्ध बनाउने बाइडेनको अठोट

रासस–एपी नोभेम्बर ८, २०२०

वासिङटन । संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अमेरिकी जनतालाई एकताबद्ध गर्ने अठोट व्यक्त गरेका छन् ।

राष्ट्रपतिमा विजयी भएपछि बाइडेनले आफूलाई मतदान गर्ने सबै मतदातालाई धन्यवाद दिएका छन् । उनले आगामी दिनहरु निकै कठिन रहेको बताउँदै आफूले सबैलाई सम्मानजनक व्यवहार गर्ने बताएका छन् 

राष्ट्रपति निर्वाचित बाइडेनले गृहराज्य डेलावेयरमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै भने, ‘विश्वभर अमेरिकाको प्रतिष्ठा उँचो बनाउन र देशभित्रै आमजनतालाई एकताबद्ध बनाउन विशेष ध्यान दिनेछु ।’

उनले भने, ‘हामीले एकअर्का अमेरिकीलाई शत्रुका रुपमा व्यवहार गर्नु हुन्न र त्यस्तो कार्य तत्काल बन्द गर्नुपर्दछ । हामी दुश्मन होइनौं, हामी सबै अमेरिकी हौं ।’

कोरोनाभाइरसका कारण २ लाख ३६ हजारको मृत्यु भइसकेको र भाइरसकै कारण देशको अर्थतन्त्र धर्मराएको अवस्थामा ७७ वर्षीय बाइडेनका अघिल्तिर भाइरस नियन्त्रणमा ल्याउने, रोजगारी वृद्धि गर्ने तथा अर्थतन्त्र माथि लैजाने गम्भीर चुनौती छ । 

डेलावेयरको सभामा स्वागत मन्तव्य राख्दै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले आम जनताले यसपटक एकता, प्रतिष्ठा, विज्ञान र सत्यलाई मतदान गरेको बताइन् । उनले जो बाइडेनले प्रत्येक अमेरिकी नागरिकलाई सम्मानपूर्वक व्यवहार गर्ने दूरद्रष्टा नेता रहेको बताइन् ।   

तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले भने चुनावमा परास्त भएको स्वीकारेका छैनन्  उनले आफूले कानुनी चुनौती दिने बताएका छन् । तर यस्तो चुनौतीका बारेमा प्रष्ट भइसकेको छैन् । 

यसअघि डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन रिपब्लीकन पार्टीको गढ मानिएको पेन्सिलभेनिया राज्यमा विजय हासिल गरेसँगै बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका हुन्   

बाइडेनले पेन्सिलभेनिया राज्यबाट २० इलेक्टोरल मत सहित कूल २७३ मत प्राप्त गरेसँगै विजयी घोषणा गरिएको थियो । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कूल ५३८ इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) मध्ये २७० मत आवश्यक पर्दछ । 

गत मंगलबार भएको निर्वाचनबाट मत गणनामा अनेक उतार चढाबबीच झण्डै पाँच दिनपछि बाइडेन निर्वाचित भए । अन्य राज्यहरु जोर्जिया, एरिजोना र नेभाडामा बाइडेन र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा जारी छ । 

बाइडेनले देशभरबाट ७ करोड भन्दा बढी मत प्राप्त गरेका छन् । कुनै पनि अमेरिकी राष्ट्रपतिले यति धेरै मत प्राप्त गरेको यो पहिलो पटक हो ।

राष्ट्रपतिमा जो बाइडेन विजयी भएसँगै उपराष्ट्रपतिमा सिनेटर कमला ह्यारिस पनि निर्वाचित भएकी छन् । उपराष्ट्रपति पदमा विजयी हुने उनी पहिलो महिला हुन् । कमला अफ्रिकी– दक्षिण एसियाली–अमेरिकी मूलकी हुन्   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू