बिहीबार, चैत १५, २०८०
10:40 | १६:२५

हिन्दू एसियन पृष्‍ठभूमिकी कमला अमेरिकाको उपराष्ट्रपति

नेपाली लिङ्क नोभेम्बर ७, २०२०

न्यूयोर्क । अमेरिकी उपराष्ट्रपतिमा विजयी भएर कमला ह्यारिसले अमेरिकामै नयाँ इतिहास कायम गरेकी छिन् । राष्ट्रपतिमा जो बाइडेन विजयी भएसँगै उपराष्ट्रपतिमा कमलाको यात्रा निश्चित भएको हो ।

कमला अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला मात्र होइनन्, पहिलो अश्वेत र एसियन अमेरिकन महिला समेत हुन् ।

कमला ह्यारिस क्यालिफोर्नियाको ओकल्याण्डमा सन् १९६४, अक्टोबर २० मा जन्मिएकी हुन् । उनका बुबा जमैकाबाट अमेरिका आएका थिए भने आमा भारतबाट अमेरिका आएकी थिइन् ।

इन्डियन जमैकन मूलकी क्यालिफोर्नियाकी सांसदले डेमोक्रेटिक प्राइमरीमा राष्ट्रपति उम्मेदवारका लागि बाइडेनलाई चुनौती दिएकी थिइन् । तर, पछि उनी राष्ट्रपतिको चुनावी दौडबाट आफै पछाडि हटेकी थिइन् ।

राष्ट्रपतिको उम्मेदवार बन्ने दौडबाट पछि हटेपछि पनि सधैँ उनको नाम चर्चामा रहिरह्यो । बाइडेनले उनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने चर्चाका कारण उनी समाचार शीर्षकहरुमा रहेकी थिइन् । एलिजाबेथ वारेनले अश्वेत महिलालाई उपरराष्ट्रपति उम्मेदवार छान्न बाइडेनलाई सुझाव दिंदै आफू पछाडि हटेकी थिइन् ।

क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उनले देशव्यापी रूपमा भएको रङ्गभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको आह्वान गर्दै आएकी छिन् ।

अमेरिकामा हालसम्म अन्य दुईजना महिला मात्र उपराष्ट्रपतिका लागि उम्मेदवार बनेका थिए । सन् २००८ मा रिपब्लिकन पार्टीका तर्फबाट साराह पालिन र सन् १९८४ मा डेमोक्र्याटका तर्फबाट जेरल्डिन फरारो उम्मेदवार बनेकी थिइन् । तर दुवैजनाले चुनाव जित्न सकेनन् ।

अमेरिकाको राष्ट्रपति वा उपराष्ट्रपति हुनका लागि अमेरिकामा नै जन्मेको अमेरिकी नागरिक हुनुपर्छ । अंगीकृत नागरिकता प्राप्त गरेको व्यक्ति अमेरिकाको राष्ट्रपति वा उपराष्ट्रपति हुन पाउँदैन । यो प्रावधान विदेशी प्रभावबाट मुलुकलाई बचाउने उद्देश्यले राखिदै आएको हो ।

कमला ह्यारिसकी आमा श्यामला गोपालन क्यान्सर शोधकर्ता थिइन् भने बुबा डोनाल्ड ह्यारिस अर्थशास्त्री थिए । आमा श्यामलाले नै कमला नाम छनौट गरेकी थिइन् । हिन्दू देवी लक्ष्मीको अर्को नाम पनि कमला हो ।

जब कमला ७ बर्षकी थिइन्, उनका बुबाआमाबीच पारपाचुके भयो । आमाले कमला र माया दिदीबहिनीलाई एक्लै हुर्काउनुपरेको थियो । अश्वेत र साउथ एसियन पहिचानका साथ कमला बाल्यकालमा हिन्दु मन्दिर र चर्च दुबैमा गइन् ।

कमला आफ्नी मावलकी हजुरआमाबाट निकै प्रभावित थिइन् । उनी बाल्यकालमा भारत पनि गएकी थिइन् । उनकी हजुरआमा भारतीय स्वतन्त्रता संग्राममा भाग लिएकी एक उच्च तहकी सरकारी कर्मचारी थिइन् ।

कमलाले अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन् । कमलाले आफ्नो पहिचानलाई लिएर सधैँ आफू सन्तुष्ट रहेको बताउने गरेकी छन् र उनले आफूलाई एक अमेरिकी भन्ने गर्छिन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू