सोमबार, असोज २८, २०८१
00:56 | ०५:४१

बेलायतको तमु समुदायका प्रेरणाश्रोत

नेपाली लिङ्क नोभेम्बर ४, २०२०

चित्र गुरुङ

लन्डन– स्याङ्जा जिल्लाको पञ्चमुल (हाल आंधीखोला गाविस) मा अवस्थित नेपालकै पहिलो नमुना पर्यटन गाउं सिरुबारी कुर्लेमा पिता स्वर्गीय लेफ्टिनेन्ट भिमबहादुर गुरुङ र आमा श्रीमति टुलकी गुरुङको कोखबाट वि.स. २०१३ सालमा जन्मिए चित्र गुरुङ । गुरुङले गाउंकै श्री त्रिशहीद हाइस्कुल पञ्चमुलमा ९ कक्षासम्म पढे । ब्रिटिश लाहुरे बन्ने सपनाले उनले पढाइ त्यो भन्दा माथि बढेन ।

१७ वर्षमा पढाइ छाडेका चित्रले सोही वर्ष छिमेकी गाउं माझ कटेरीकी जयन्ती गुरुङसंग वैवाहिक लगनगांठो कसे । बिहे भयो, समय बित्दै गएपछि उनलाई अब आफैंले कमाउनुपर्छ भन्ने फिल भयो । त्यही बेला श्रीमति गर्भवती भइन् । यसले उनलाई झन् पारिवारिक बोझ थपियो ।

अब ब्रिटिश गोर्खामा भर्ती हुन कस्सिए उनी । त्यतिबेला गल्ला नाप्न जिल्ला जिल्लामा अधिकृतहरु आउंथे । तर दुर्भाग्य गाउंमा आएका गल्लावालाले उनलाई फालिदिए । थप चिन्तित भए चित्र । तर हरेस खाएनन् । उनका पुसाईंले पक्लिहवा क्याम्प (लोकल) मा लिएर गए । उक्त क्याम्पको कथा पनि रोचक छ । नेपाली अफिसरहरुले हुंदैन भनेर पछाडि धकेल्थे तर गोरा अफिसरले अगाडि तानेर चित्रलाई ब्रिटिश गोर्खामा भर्ती हुने अवसर मिल्यो १८ वर्षकै उमेरमा ।

सन् १९७४ को इन्टेकमा भर्ती भएपछि तालिमका लागि उनी हङकङ गए । हङकङ ट्रेनिङ डिपोमा १० महिनाको कठोर तालिम लिएपछि चित्रको क्वीन्स गोर्खा सिग्नल्स्मा अर्को तालिम शुरु भयो झण्डै एक वर्ष । तालिमपछि सिग्नल्स्बाट सिग्नल मेन देखि वारन्ट अफिसर क्लास टु अथवा सार्जन्ट मेजरमा २० वर्ष आर्मी जागिर गरेर १९९४ मा अवकास लिए उनले ।

नोकरीका दौरान हङकङ, ब्रुनाइ, यूके, सिंगापुर, जर्मनीमा काम गर्ने अवसर पाए । कामका सिलसिलामा सन् १९८६ देखि ८७ सम्म सार्जन्ट भएर सेन्डहस्र्टको अफिसर क्याडेट सेन्टरको डेमोन्सट्रेसन कोअर्डिनेशन गर्ने महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुलाई उनले आफ्नो करिअरको उपलब्धि मानेका छन् ।

आफ्नी जीवनसंगिनीका साथ गुरुङ

त्यस्तै सन् १९९१ देखि १९९२ सम्म ब्रुनाइको ब्रिटिश आर्मीको जंगल वारफेयर ट्रेनिङ सेन्टरको सिग्नल अफिसर र इन्सट्रक्टरको भूमिका सफलतापूर्व निभाएकामा पनि उनी खुशी छन् ।

अवकासपछि उनी नेपाल फर्किए । फर्किएर नेपालमै बस्ने मनस्थिति थियो तर साथीहरुले कामका लागि हङकङ बोलाएपछि उनले त्यहां गएर १८ महिना नोकरी गरे । तर, उनलाई त्यहां बसिरहन मन लागेन । किनकि घर परिवारको दायित्व उनमा थियो ।

नेपाल फर्किएर सन् २००४ मा उनी क्यानडा गए बहिनी मिना गुरुङ र ज्वाईं भुवन गुरुङलाई भेट्न । त्यसपछि २ महिना क्यानडा बसेर अमेरिकामा २ हप्तापछि बेलायत आए सन् २००४ मा । भिजिट भिजामा बेलायत आएपछि वर्क परमिटको खोजीमा लागे चित्र । एउटा कम्पनीले वर्क परमिट अप्लाई गरिदिन्छु भनेपछि उनलाई केही आशा जागेको थियो । त्यसैक्रममा भूपू गोर्खाहरुको संगठन बिजिडब्लुएस्को नेतृत्व परिवर्तन हुंदै थियो । लेप्टेन नवीन गौचनबाट मेजर टिकेन्द्रदल देवानले अध्यक्षता लिए । अध्यक्ष भएलगत्तै देवानले भूपूहरुलाई बेलायतमा बस्न पाउने अधिकार हुनुपर्छ भनेर आन्दोलन शुरु गर्ने तयारी गरे । चित्र पनि बिजिडब्लुएस्मै आवद्ध भएर गोर्खा क्याम्पियनलाई सहयोग गरे ।

पहिलो नेपाली मेलाको पहिलो झांकी प्रदर्शनीको नेतृत्व गर्दै गुरुङ

बेलायतमा रहेका प्राय सबै भूपू गोर्खाहरु एक भएर लन्डनबाहिर लिभरपुलमा रहेको अध्यागमन कार्यालयको मुख्यालयमा मुल ढोकामै प्रदर्शन गरे । प्रदर्शनपछि अध्यागमनबाट सकारात्मक प्रतिक्रिया आए लगत्तै २ महिनामा तत्कालिन प्रधानमन्त्री टोनी ब्लेयरले २ वर्षभित्र बेलायतमा हुने सबै भूपूहरुले अप्लाइ गर्न पाउने नीति ल्याए । बिजिडब्लुएस् र इमिग्रेसनको सिधा सम्पर्क स्थापित गरेर आवेदन सहज बनाइएको थियो । त्यो बेला टिकेन्द्रले इमेल गरेपछि भिजा दिने सम्मको वातावरण बनेको थियो । दुई वर्षसम्म दिइएको त्यो सुविधाले झण्डै ३ हजार भूपूहरुले आवासीय अधिकार (आइएलआर) पाएका बताइन्छ । त्यही समयमा बिजिडब्लुएसले ४ लाख २५ हजारमा आफ्नै घर किन्न सफल भएको थियो । त्यो बेलायतमा नेपालीको पहिलो संस्थागत भवन मानिन्छ ।

भूपू गोर्खाहरुको अधिकारका लागि लन्डनबाट आफूले प्रमुख भूमिका निर्वाह गरेपछि तमु साथीहरुको अनुरोधमा उनले आफ्नो कला, संस्कृति र समुदायको हितमा काम गर्ने सोच बनाए । ३० सेप्टेम्बर २००७ मा तमुधिं लन्डन इकाइ स्थापना भयो र त्यसको नेतृत्व चित्र गुरुङले नै लिए । उनले अध्यक्षका रुपमा दुई कार्यकाल गरे । आफू अध्यक्ष हुंदा उनले समाजको आर्थिक कारोबार सधैं पारदर्शी हुनुपर्छ भनेर यसलाई प्रमुख एजेन्डा बनाए ।

चित्र गुरुङको परिवार

दोश्रो बेलायतमा त्यो बेलासम्म ठूलो ग्रुपमा कल्चरल डान्स भएको थिएन । सन् २००८ मा बुद्ध रनिङ शिल्ड इन्टर कम्युनिटी फोक डान्स कम्पिटिसनको शुरुवात उनैले गरे । नेपाली लोक संस्कृति झल्किएको हुनुपर्ने, संस्थागत सहभागितामात्र हुनुपर्ने र न्यूनतम डान्सरहरु ६ जना हुनुपर्ने नियम उक्त प्रतियोगितामा थियो । जसले गर्दा बेलायतमा कल्चरल ग्रुप डान्स फैलंदै गयो ।

यही बीचमा सुवसिं गुरुङ तमुधिं यूकेको अध्यक्ष हुँदा शुरु गरेको नेपाली मेलामा दोश्रो वर्ष उनी संयोजक भए । उनी संयोजक हुंदा नेपाली मेला फरक ढांचामा गयो । उनकै सुझाव अनुसार तमुधिं यूकेको अध्यक्ष सुवसिं गुरुङको पहलमा लन्डनस्थित नेपाली दूतावासले एम्बेसेडर कप दिने सम्झौता गरयो । दूतावासबाटै एम्बेसेडर कप दिंदा उसले मेलालाई अपनत्व महशुस गर्छ भन्ने सोच चित्रमा थियो । आखिर दूतावासकै खर्चमा उक्त कप दिने निर्णय भएपछि अहिलेसम्म नेपाली मेलामा दूतावासको सक्रिय सहभागिता छ भने मेलाको लोकप्रियता पनि बढ्दै गएको छ । सुःखद संयोग, गुरुङ अध्यक्ष भएकै संस्थाले सन् २०११ मा एम्बेसडर कप जित्न सफल भएको थियो ।

गुरुङले नै नेपाली मेलामा झांकी प्रदर्शनी र कल्चरल डान्सको कन्सेप्ट ल्याएका हुन् । एम्बेसडडर कप जित्न झांकी र कल्चरल डान्समा विजयी हुने समाजलेमात्र कप पाउने नियम बनाएर प्रतियोगिता शुरु गरिएको थियो । नेपाली मेलामा नेपाली दूतावासको  प्रत्यक्ष सहभागितामा एम्बेसेडर कपले निरन्तरता पाउने विश्वास गुरुङलाई छ । यो कन्सेप्टले नेपाली मेलाको निरन्तरतामात्र होइन, यसले मेलाप्रति मानिसहरुको आकर्षण समेत बढ्ने आशा गुरुङले लिएका छन् ।

तमुधिं लन्डन इकाइको कोष बढ्दै गएको थियो । बेलायतमा बसेपछि यहांको नियम कानूनमा पनि बांधिनुपर्ने भएपछि इकाइका विभिन्न बैठक भए । सन् २०१२ को वार्षिक साधारणसभामा संस्थालाई च्यारिटी कमिसनमा लगेर बैधानिकता दिने कुरा पारित भयो । तमुधिं यूके पहिल्यै च्यारिटीमा दर्ता भइसकेकाले त्यही नामले च्यारिटी दर्ता गर्दा समस्या हुने थियो । त्यसपछि तमु समाज यूके नाम परिवर्तन गरेर च्यारिटी कमिसनमा दर्ता गरिएको चित्र बताउंछन् । त्यस बेला तमुधिं लन्डन इकाइ अध्यक्ष शिवशरण गुरुङ थिए । जुलाई २०१२ को साधारणसभामा पारित भएपछि त्यही सालको डिसेम्बर १० मा च्यारिटी नम्बर प्राप्त भएको गुरुङले स्मरण गरे ।

तमु समाज यूकेले ब्रेन्ट काउन्सिल अन्तर्गत वेम्ली नजिक सडबरीमा सरकारबाट कम्युनिटी एसेट ट्रान्सफर नियम अनुसार ७ वर्षका लागि कम्युनिटी सेन्टर लिन सफल भयो । यसरी भवन लिने यो पहिलो नेपाली संस्था हो । सो काममा विशेष गरि एमपी बीरेन्द्र शर्मा, तत्कालिन ब्रेन्ट काउन्सिल मेयर भगवानजी चौहान र ब्रेन्ट काउन्सिलका लिडर मोहम्मड बटको ठूलो भूमिका थियो । यसका लागि तत्कालिन तमु समाज यूके हाउजिङ कमिटीका संयोजक सुवसिंह गुरुङ, तत्कालिन अध्यक्ष अर्जुनकुमार गुरुङ, महासचिव ज्ञान गुरुङको दौडधुप र सक्रियता अत्यधिक थियो ।

नेपालमा प्राकृतिक प्रकोपका बेला सधैं सहयोग गर्दै आएको तमु समाज यूकेले सन् २०१५ मा गएको महाभूकम्पका बेला पनि झण्डै ५३ लाख रुपैयां सिधै पीडितहरुमा पुग्ने गरि बांडेको थियो । त्यतिबेला लमजुङ, गोर्खा र कास्कीको एक एक गाउंलाई सहयोग गरिएको थियो भने समाजले धादिङमा भूकम्पले भत्काएको एउटा स्कुलको ४ वटा कोठा निर्माण गरिदिएको थियो ।

सन् २०१६ को कुरा हो । क्यान्सर पीडित कुसुम गुरुङको मृत्युपछि उनको शव नेपाल लगिदिन उनकी आमाको अनुरोध तमुधिं यूके, तमु प्येलु संघ यूके, एनआरएनए यूके लगायत कुनै पनि संस्थाले वास्ता गरेनन् । त्यही बेला कुसुमका गाउंले होम गुरुङ (जो चित्रका पल्टने साथी हुन्) ले तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्र गुरुङलाई एप्रोच गरेपछि उनले नाइ भन्न सकेनन् । त्यसपछि उनकै संयोजकत्वमा करिब ११ लाख रुपैयां आर्थिक संकलन गरि शव र उनका गरगहना अनि कपडा नेपाल पठाइएको थियो । यसमा नेपालबाट मेजर लक्ष्मीप्रसाद गुरुङको प्रमुख भूमिका थियो ।

उनको अधिक समय तमु समुदायकै हितका लागि बित्ने गर्छ । यही क्रममा तमु समाज यूकेको आफ्नै भवन हुनुपर्छ भन्ने सोच सन् २००९ मै बनाएका गुरुङले उक्त महत्वकांक्षी प्रोजेक्ट अगाडि बढाउने अठोट लिए । यसका लागि हाउजिङ कमिटीको संयोजक उपाध्यक्ष शिवकुमार गुरुङलाई तोकेर अहिले समाजले लन्डनस्थित ग्रीनफोर्डमा आफ्नै भवन किन्न सफल भएकामा उनी एकदम खुशी छन् । संस्थाकै नाममा बेलायतमा भवन किनिएको यो नै पहिलो हो । यस भवन खरिदमा तमु समाज यूकेका वर्तमान अध्यक्ष शिवचन्द्र गुरुङको पनि विशेष भूमिका छ ।

बाबा स्वर्गीय भिमबहादुर गुरुङ र आमा टुल्की गुरुङका जेष्ठ सुपुत्र चित्र गुरुङ श्रीमति जयन्तीदेवी गुरुङ, छोरी बिनु गुरुङ, ज्वाईं ओम गुरुङ, नातिहरु मिसाल गुरुङ र जेसन गुरुङ, छोरा दमन गुरुङ, बुहारी ममता गुरुङ, ठूलो नातिनी आयुष्मा गुरुङ र नाति आदर्श गुरुङका साथ बेलायतमा छन् ।

उनका भाइ जीवन गुरुङ र बुहारी कल्पना गुरुङ पनि बेलायतको अक्सब्रीजमा बस्छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू