१५ मार्चदेखि बेलायतमा ‘ए स्टार नेपाल बास्केटबल लिग’



फाइल फोटो
लन्डन– ए स्टार फाइनान्सियल सलुशन्स युके तथा ए स्टार मोर्गेजेज युकेसंगको सहकार्यमा नेपाल बास्केटबल यूकेले आयोजना गर्न लागेको ‘ए स्टार नेपाल बास्केटबल लिग २०२६’ यही आइतबार (१५ मार्च) देखि सुरु हुन लागेको छ।
आयोजकका अनुसार लिगको फाइनल खेल ४ जुलाई २०२६ मा सम्पन्न हुनेछ।
यसपटक पुरुषतर्फ ११ टिम र महिलातर्फ ३ टिमले प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ प्रत्येक टिमले १० वटा लिग खेल खेल्नेछन्।
लिग चरणपछि क्वार्टर–फाइनल, सेमिफाइनल र फाइनल खेलहरू आयोजना गरिनेछ। महिलातर्फ भने ‘होम एण्ड अवे’ प्रणालीअनुसार प्रत्येक टिमले २–२ खेल खेल्नेछन् र त्यसपछि फाइनल खेल हुनेछ।
लिगदेखि सेमिफाइनलसम्मका खेलहरू फेल्थाम स्प्रिङवेस्ट एकेडेमी र एल्डरशट ग्यारिसनमा सञ्चालन गरिनेछन् भने फाइनल खेल ब्रुनेल विश्वविद्यालयमा आयोजना गरिने आयोजकले जनाएका छन् ।
हालै प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाल बास्केटबल यूकेका अध्यक्ष रुपक गुरुङले प्रतियोगिताको मुख्य उद्देश्य युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलमार्फत बेलायतस्थित नेपाली समुदायबीच आपसी सम्बन्ध र एकता सुदृढ गर्नु रहेको बताए।
उक्त लिग आयोजना गर्न विमेन्स बलर्स क्लब (डब्लुबीसी) संग पनि सहकार्य भै रहेको गुरुङले जनाए। उनले प्रमुख प्रायोजक ए स्टार लगायत सबै प्रायोजकहरुलाई धन्यवाद पनि दिए।
नेपाल बास्केटबल लिग २०२६ का कोअर्डिनेटर तथा कोच सार्थक गुरुङले हरेक आइतबार पांच ओटा गेम संचालन हुने, टप आठ ओटा टोली नक आउटमा पुग्ने र त्यस पछि क्वार्टर फाइनल, सेमी फ़ाइनल्स र फाइनल प्रतियोगिता हुने जनाए ।
उनले गत जनवरी महिनामा नेपाल बास्केटबल यूकेले अन्डर २३ टुर्नामेन्ट आयोजना गरेको र उक्त प्रतियोगितामा १८ वर्ष भन्दा मुनिका युवाहरुको सहभागिताबाट आफुहरु निकै उत्साहित भएको बताए।

सुरुदेखि नै लिगको प्रमुख प्रायोजक रहँदै आएको ए स्टार फाइनान्सियल सलुशन्स यूकेका प्रवन्ध निर्देशक मीन दर्लामीले बेलायतमा रहेका नेपाली युवायुवतीका लागि एक प्लेटफर्म सृजना गरी बास्केटबलमार्फत उनीहरुको व्यक्तित्व विकासमा सघाउने उद्देश्यबाट प्रभावित भएर मुख्य प्रायोजन गरिएको बताए ।
युवाहरुलाई प्रोत्साहन गर्ने कार्यमा ए स्टारले निरन्तर सहयोग पुर्याउदै आएको पनि दर्लामीले जनाए ।
सन् २०११ मा स्थापना भएको ए स्टार फाइनान्सियल सलुशन्सले बेलायतमा बसोबास गर्ने नेपाली लगायत अन्य समुदायलाई मोर्गेज, रियल एस्टेट, बिमा, विल लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।
सो कम्पनीले नेपाली समुदायद्वारा आयोजित रचनात्मक काममा सक्दो सहयोग पनि गर्दै आएको छ ।


