शनिबार, १४ मार्च, २०२६
12:10 | १७:५५

एनआरएनएको १२ औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन सुरु

नेपाली लिङ्क मार्च १४, २०२६

काठमाडौं, ३० फागुन- गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन सुरु भएको छ ।

काठमाडौंस्थित सोल्टी होटलमा परराष्ट्र मन्त्री बालानन्द शर्मा र पूर्वप्रधानमन्त्री झलनाथ खनालले पानसमा दिप प्रज्वलन गरेर अधिवेशन उद्घाटन गरेका हुन् ।

अधिवेशन उद्घाटन गर्दै परराष्ट्रमन्त्री शर्माले गैरआवासीय नेपालीको अनुभव, सीप, अन्तर्राष्ट्रिय सम्पर्क नेपालको विकास र रुपान्तरणका लागि महत्त्वपूर्ण भएको बताए । यसले औद्योगिक विकास, रोजगारी सिर्जनामा योगदान पुर्याउने उनको भनाइ थियो ।

नेपालको संविधान र कानुनमा गैरआवासीय नेपालीलाई राष्ट्रको साझेदारको रुपमा स्वीकार गरिएको भन्दै उनले लगानी, सांस्कृतिक जिम्मेवारी बढाउनुपर्ने बताए ।

अन्तर्राष्ट्रिय सम्बन्धका आयाममा नयाँ चुनौतीहरु सिर्जना भएको बेला गैरआवासीय नेपाली संघले लगानी र प्रविधिको प्रभाव बढाउने, ज्ञान र पुँजीको दायरा बढाउने दायित्व भएको उनको भनाइ थियो ।

मन्त्री शर्माले प्रवासमा रहेर नेपाली सांस्कृतिक दूतको रुपमा रही नेपाली माटोमा योगदान पुर्याएको भन्दै प्रशंसा गरे ।

गैरआवासीय नेपालीले नेपालको आर्थिक विकास र समृद्धि ल्याउन महत्तवपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे ।

मन्त्री शर्माले मध्यपूर्वमा देखिएको संकटमा परेका नेपालीको सुरक्षामा सरकार सजग रहेको बताए । ‘पछिल्ला दिनमा देखिएको घटनाले नेपालीको सुरक्षाप्रति देखिएको चिन्ताप्रति नेपाल सरकार सजग छ । मध्यपूर्वमा कार्यरत नेपालीको सुरक्षाप्रति चासो बढेको छ । विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा, हित र सहायतालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक कार्यहरु अगाडि बढाइरहेको छ । खाडीमा देखिएका समस्या सम्बोधनका लागि इमरजेन्सी कन्ट्रोल रुम सञ्चालनमा ल्याएको छ । मन्त्रालयले श्रमिक र परिवारबीच सेतुको काम गर्नेछ । कुनै घटना घटेमा नेपाली नियोग तथा नेपालीस्थित सम्पर्क गर्ने व्यवस्था मिलाइएको छ,’ उनले भने ।

दिर्घकालीन लगानी, उत्साहमुखी उद्योग, नवप्रवर्तन, ज्ञानमा आधारित अर्थतन्त्रका लागि सरकार, निजी क्षेत्र र गैरआवासीय सहकार्य जरुरी भएको भन्दै उनले यसका लागि नीतिगत सुधार र पारस्परिक विश्वास आवश्यक भइसकेको बताए ।

यसका लागि मन्त्रालयमा समन्वय महाशाखा स्थापना गरी नीतिगत कार्यगत सुधार अगाडि बढाइएको मन्त्री शर्माले बताए । यसअन्तर्गत गैरआवासीय नेपाली ऐन ०६४ र आवश्यक अन्य कानुन सुधार गर्न अन्तर निकाय समन्वय भइरहेको शर्माले बताए ।

आगामी दिनमा प्रवासमा रहेका एकीकृत तथ्यांक प्रणालीलाई अझै प्रभावकारी ढंगले अगाडि बढाउँदै लगिने उनले प्रतिबद्धता जनाए ।


उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै कार्यकारी अध्यक्ष महेशकुमार श्रेष्ठले प्रवासमा रहेका नेपालीको मनमा मातृभूमिका लागि केही गरौ भन्ने भावना रहेको बताए । उनले संघभित्रको विवाद अन्त्य गर्दै एकता स्थापित भएको र समृद्ध नेपालको अभियानमा गैरआवासीय नेपालीको योगदान रहने बताए ।

आपसी विवादले नागरिकता, श्रमिकको विषय र मतदानको मुद्दा औझेलमा परेको भन्दै उनले एनआरएनएको विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशनले संघको भावी दिशा निर्धारण र विगतको समीक्षा गर्ने बताए ।

विश्वभरका नेपाली एकताबद्ध छन् भन्ने सन्देश दिने र आउने कार्यसमितिले यसमा भूमिका खेल्ने भन्दै अध्यक्ष श्रेष्ठले संघभित्र विवादको कारकको रुपमा रहेको निर्वाचन प्रणाली, डेलिगेट्स प्रणालीमा व्यापक परिमार्जन गरेर सबैलाई मतदानको अधिकार सुनिश्चित गरिने बताए ।

गैरआवासीय लगानीलाई वैदेशिक लगानीभन्दा फरक लिनुपर्ने र विदेशमा रहेका नेपालीको पुँजी, सीप, ज्ञान सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

संस्थापक अध्यक्ष उपेन्द्र महतोले संघको एकताप्रति हर्ष व्यक्त गरे । व्यक्तिगत सफलताको जुनसुकै उचाइमा पुगे पनि देश बनेन भने त्यसको अर्थ छैन भन्दै ‘नेपालका लागि नेपाली’ नाराका साथ गैरआवासीय नेपाली अभियान सुरु गरिएको बताए ।

नेपालीको क्षमता सबै हिसाबले अब्बल रहेको भन्दै महतोले मात्र संकल्पको अभाव रहेको बताए । संकल्प गर्यो भने धेरै समृद्ध हुनसक्ने उनको भनाइ थियो ।

देश अफ्ठेरो परेको, नियम कानुन अफ्ठेरो भएको बेला लडेर नेपाल बनाउने संकल्प लिनुपर्नेमा उनले जोड दिए । भिसा, काम गर्ने भिसाको समस्या देखिएको भन्दै पहिला देश बनाउनुपर्ने बताए ।

‘जबसम्म आफ्नो देश बनाउँदैनौ तबसम्म जुनसुकै देशमा बसे पनि विदेशी नै हुन्छौ त्यसैले जुनसुकै देशमा बसे पनि आफ्नो देश बनाउन लागौं,’ उनले भने ।

गैरआवासीय नेपाली ८० लाख नेपालीको अभियान भन्दै महतोले सय दुई सय जनाबीच मनमुटाव हुँदैमा अन्य नेपालीलाई ठेस नपुर्याउन अपिल गरे । ८० लाख नेपालीले आफ्नो क्षमताअनुसार जुन योगदान गरेको छ उनीहरुलाई उत्साहित बनाइदिन महतोले संघलाई अपिल गरे ।

जबसम्म गैरआवासीय नेपालीको लगानी आउँदैन अरु विदेशीको लगानी नआउने महतोले बताए । देशभित्रका उद्योगी संघसंस्थाले एनआरएनएसँग समन्वय गर्न छोडेको भन्दै मनमुटावले कसैलाई फाइदा नपुर्याएको उनको भनाइ थियो ।

उनले ८० लाख प्रवासीकै प्रतिनिधित्व गर्नेगरी काम गर्न संघलाई अनुरोध गरे । ‘सबै मिलेर अगाडि बढौं । देशलाई समृद्ध बनाउ,’ उनले भने ।

कार्यकारी अध्यक्ष डा. बद्री केसीले फुटदेखि एकतासम्मको यात्रामा आफू नै नेतृत्वमा रहेको भन्दै अझै एकता सुदृढ बनाइने बताए । उनले कार्यव्यवस्थाले पूर्वअध्यक्षहरु सहभागी हुन नसकेको तर उनीहरुको समर्थन रहेको बताए । एकजना पनि गैरआवासीय नेपाली आफ्नो मताधिकारबाट वञ्चित हुन नहुने गरी काम गरिने र काम गर्न चाहनेलाई जिम्मेवारी दिएर पठाउने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्रीको हातबाट गैरआवासी नेपाली नागरिकता लिएको तर आज त्यो कार्यान्वयन नहुने अवस्था रहेको भन्दै उनले गैरआवासीय ऐन, अन्य ऐन परिमार्जन गर्नुपर्ने बताए ।

पुरानो नागरिकता पनि निष्क्रिय भएको र नयाँ गैरआवासीय नागरिकताले काम नगरेको भन्दै केसीले छिटो कानुनी जटिलता हटाउन सरकारलाई अनुरोध गरे । आउने सरकारले सय दिनभित्र गैरआवासीय ऐन संसदमा पुर्याएर कार्यान्वयन ल्याउन उनले माग गरे ।

पीएनओ नेपालीहरुले भाषा, संस्कृति जोगाएर राखेको भन्दै आउने सरकारले उनीहरुलाई नेपालीको पहिचान र गैरआवासीय प्रमाणपत्र दिन केसीले माग गरे ।

उनले लगानीसम्बन्धी कानुनहरु पनि परिमार्जन गरेर सहजीकरण गर्न र गैरआवासीय नेपालीको लगानी सहजै भित्र्याउने वातावरण बनाउन पनि माग गरे ।

एनआरएन डेभलपमेन्ट फण्डमा सहयोग जुटे पछि सरकारको असहयोगले सुरुवात गर्न नसकेको बताए । आगामी सम्मेलनमा उद्द्घाटन गर्नेगरी वातावरण बनाइदिन उनले अनुरोध गरे ।

गैरआवासीय नेपालीले आफ्नो खर्चमा विदेशमा नेपालको पर्यटन र संस्कृति विस्तार गरिरहेको भन्दै सरकारले सहयोग नगरेको गुनासो गरे । विदेशमा नेपाली दूतावासमा कर्मचारी नै पर्याप्त नहुँदा पासपोर्ट समयमा पाउन समस्या भएको, क्याम्पेन गरेर पासपोर्ट दिनुपर्ने अवस्था रहेको भन्दै कमर्चारीहरु बढाउन माग गरे ।

कोभिडको बेलामा पनि गैरआवासीय नेपालीहरुले ज्यान जोखिममा राखेर भोलियन्टर परिचालन गरेको स्मरण गर्दै अहिले मध्यपूर्वमा गहिरिएको संकटमा नेपालीको सुरक्षाका लागि सरकारसँग सहकार्य गर्न संघ तयार गरेको बताए ।

पूर्वअध्यक्ष विनोद कुँवरले एकता महाधिवेशनले पूर्णता दिएको र आउने कार्यसमिति अझै एकतालाई पूर्णता दिने बताए । ८० लाख गैरआवासीय नेपाली बाहिर बसिरहँदा नेपालको विकासको चिन्ता रहेको बताए ।

पहिलो महिला अध्यक्ष रबिना थापाले असहमति भए पनि सहमतिमा जानु संस्थाको उद्देश्य भएको बताउँदै छुटेका साथीहरुलाई जोड्नुपर्ने बताइन् । प्रवासी नेपालीको ज्ञान, सीप, पुँजी, विज्ञतालाई नेपालमा ल्याएर कसरी देश समृद्ध बनाउनुपर्छ भनेर लाग्नुपर्ने र यसका लागि प्रवासी नेपालीबीच एकता जरुरी रहेको उनको भनाइ थियो ।

प्रवासी नेपालीको विज्ञतालाई प्रयोग गर्न एनआरएनएले नयाँ सरकारसँग समन्वय गर्नुपर्ने उनले बताइन् । हरेक नेपाली प्रवास गइरहेको, परराष्ट्र मन्त्रालयले विदेश मामिला हेर्ने भएकाले अब एनआरएनए मन्त्रालय राख्नुपर्ने माग अघि सारिन् ।

पूर्वअध्यक्ष आरके शर्माले गैरआवासीय नेपाली नागरिकताको साथसाथै श्रमिक नेपालीको सामूहिक लगानीबाट समृद्धिको अभियान अगाडि बढाउन जरुरी रहेको बताए ।

अधिवेशन हुँदै गर्दा केही व्यक्ति छुटेको भन्दै नयाँ कार्यसमितिले समेट्नुपर्ने शर्माले बताए । मध्यपूर्वमा संकट चुलिरहेको भन्दै उनले यो कुरालाई सरकारले ध्यान दिनुपर्ने बताए ।

पूर्वअध्यक्ष जीवा लामिछानेले नागरिकता, लगानीलगायत थुप्रै मुद्दाहरु निर्णायक तहमा पुग्दा विभाजनले एनआरएनए अभियान पछाडि परेको बताए ।

‘आज खुसी लागेको छ कि आज सबै साथीहरुले रियलाइजेस गर्नुभएको छ । टुट फुटबाट कसैलाई फाइदा छैन जुट्नुपर्छ भन्ने ठाउँमा पुग्नुभएको छ । हामी एक भयौ भने मात्र योगदान गर्न सक्छौं । एजेण्डा स्थापित गर्न सक्छौं,’ उनले भने ।

पूर्वअध्यक्ष भवन भट्टले एकता अधिवेशन खुसीको कुरा भएको बताए । प्रवासी नेपालीबाट लगानी ल्याउने मेकानिजम बनाएमा सहजै ९० राष्ट्रबाट लगानी भित्रिने भन्दै उनले हाइड्रो, एग्रिकल्चर, टुरिजम र आइटीमा केन्द्रित गर्नुपर्ने बताए । नयाँ आउने सरकारले यो कुरामा ध्यान दिने उनले अपेक्षा गरे ।

भीम उदासले संघको एकतामा नेपालको समृद्धिलाई जोड्नुपर्ने र त्यसमा एनआरएनएले भूमिका खेल्नुपर्ने बताए ।

डायस्पोराको सहयोगले भारत र चीन उकासिएको भन्दै उनले आउने नेपाल सरकारले वातावरण बनाएर आह्वान गर्नुपर्ने, विकासमा साझेदार बनाउनुपर्ने बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू