शुक्रबार, वैशाख २१, २०८१
07:00 | ११:४५

बीबीसी मास्टर सेफमा पहिलोपटक नेपाली खाना पुरयाउने सन्तोष

नेपाली खाना संसारलाई चिनाउने अभियानमा सेफ सन्तोष शाह

नेपाली लिङ्क अक्टोबर २२, २०२०

लन्डन । सिरहा कर्जन्हाबाट २ दशकअघि १५ वर्षको कलिलो उमेरमै भारत भासिंदा सन्तोष शाहसंग त्यस्तो ठूलो महत्वकांक्षा थिएन । केवल जिविकोपार्जनको चिन्ता थियो । एसएलसी फेल भएर विक्षिप्त उनमा थप अध्ययन गर्न न पैसा थियो, न धैर्यता ।

पारिवारिक पृष्ठभूमि निकै दयनीय । ५ दाजुभाई र दुई दिदीमध्ये कान्छो छोरा उनलाई आफ्नो बुवाले ६ वर्षमै छाडेका थिए । बांच्नकै लागि गुजरात गन्तव्य बनाएका उनले त्यहां शुरुमा निकै सास्ती खेपे । उनको संघर्षको एउटा पुस्तक नै तयार हुन्छ ।

शुरुमा एउटा सामान्य होटलमा ‘किचन पोर्टर’ गरे तीन महिना । त्यसपछि हेल्परमा प्रमोशन भएर रोजगारी अगाडि बढ्यो । तर, त्यही कामले जिन्दगीमा थप प्रगति हुने सम्भावना नदेखेपछि सन्तोषले एक वर्षपछि जागिर छाडे । अर्को होटलमा हेल्परभन्दा एक तहमाथि अवसर मिल्यो, पढाइका लागि अफर पाए उनले ।

काम गर्दागर्दै त्यही होटलको व्यवस्थापनद्धारा सञ्चालित ‘इन्सटिच्यूट अफ क्याटरिंग एण्ड होटल म्यानेजमेन्ट’ मा ‘डिप्लोमा इन होटल एण्ड क्याटरिंग म्यानेजमेन्ट’ कोर्स गर्ने अवसर पाए उनले । डेढ वर्षको पढाइ सकेपछि करिअरले नयां मोड लियो । सन्तोषले अझ राम्रो पोजिसनमा मौका पाए र ५ वर्षकै अवधिमा पांच तारे होटलको एक्जुकेटिभ सेफ बने ।

सामान्य शैक्षिक पृष्ठभूमि र कमजोर आर्थिक स्थिति गुजारेका एक नेपाली युवा एकाएक भारतीय कम्पनीमा करिब ८० कामदारको हेड बन्नु चानचुने थिएन । त्यहाँ २ वर्ष एक्जुकेटिभ सेफ भएपछि उनलाई तेश्रो विकसित मुलुक जाने रहर पलायो । उनले कयौं देशमा अप्लाइ गरे । केही एजेन्सीले ठगिदिए । एउटा एजेन्सीले यूके भनेर युरोपको मोन्टेनिग्रो पठाइदियो, अस्वीकार गर्न अन्य विकल्प थिएन । त्यहां एक वर्ष जति ५ तारे होटलमा सेफ भए तर सन्तोषले त्यो मुलुकमा स्वर्णीम भविष्य देखेनन् । कमाइ पनि भारतमा भन्दा कम थियो ।

अन्ततः उनी गुजरात नै फर्किने सोच बनाए । त्यसबीचमा उनले भारतमा सम्पर्क बढाइरहे र गुजरातमा नयां ५ तारे होटल खुलेपछि सन्तोष एक्जुकेटिभ सेफको जिम्मेवारी सम्हाल्न फर्किए । यो सन् २००९ को कुरा थियो ।

काम राम्रो हुंदै गयो । काम थालेको एक वर्ष हुन लाग्दै गर्दा भारतीय चर्चित अखबार ‘टाइम्स अफ इण्डिया’ ले उनीका बारेमा राम्रो कभरेज गर्यो । त्यही मिडिया रिपोर्ट पढेर लन्डनमा रेष्टुरेन्ट सञ्चालन गरिरहेका एक भारतीय व्यापारीले उनलाई लन्डनमा कामको अफर गरे । सन् २०१० अन्त्यतिर वर्क पर्मिटमा लन्डन उत्रिएपछि उनको जीवनमा फरक अध्याय शुरु भयो ।

बेलायत उत्रिएको एक दशक बित्दा नबित्दै सन्तोषको सफलता उचाईंमा छ । अहिले उनी संयुक्त अधिराज्यस्थित प्रतिष्ठित भारतीय रेष्टुरेन्ट तथा होटलहरुमा उच्च तहको सेफका रुपमा कार्यरत छन् । यहां निकै प्रतिष्ठित मानिने ‘मिसिलिन स्टार’ प्राप्त कम्पनीहरुमा एक्जुकेटिभ सेफसम्मको उच्च पोजिसिनमा पुगेका छन् उनी । बेलायतमा रेष्टुरेन्ट तथा होटल क्षेत्रमा एक नेपालीले पाएको यस्तो सफलता सायदै अन्य नेपालीले पाएका होलान् ।

लन्डन उत्रिएपछि सन्तोषले शुरुका केही वर्ष क्रोयडनको ‘स्पाइस अफेयर’ करी हाउस र ढिसुममा काम गरे । ढिसुममा काम गर्दागर्दै उनलाई मिसिलिन स्टार कम्पनीहरुमा अनुभव लिने रहर जाग्यो । त्यही क्रममा उनी सेलिब्रेटी सेफ अतुल कोचरद्धारा सञ्चालित प्रतिष्ठित ‘बनारस’ रेष्टुरेन्टमा पुगे ।

अतुल कोचरसंग तीन वर्ष काम गरेपछि उनलाई फ्रेन्च खाना बनाउन सिक्ने अर्को रहर पलायो । भाग्यवश फ्रेन्च कुजिइनका ‘गडफादर’ मानिने रेमण्ड ब्लांक (ओबिइ) को रेष्टुरेन्टमै उनलाई अवसर मिल्यो । एक वर्ष त्यहां काम गरेपछि सन्तोष इन्डियन कुजिइनको अर्को प्रतिष्ठित कम्पनी ‘सिनामन’ ग्रुप जोइन गरे । त्यहां सेलिब्रेटी सेफ विवेक सिंहका साथ तीन वर्ष उनी हेडसेफको जिम्मेवारीमा रहे । त्यसपछि उनको अर्को यात्रा शुरु भयो ५ तारे होटल ललितबाट । जहाँ उनले शुरुमै एक्जुकेटिभ सेफको जिम्मा पाए ।

भारतीय कुइजिनमा करिब दुई दशक बिताएपछि अहिले सन्तोषमा नेपाली खाना अन्तर्राष्ट्रिय बजारमा चिनाउने भावना जागृत भएको छ । आफूले यसअघि संगै काम गरेका मिसिलिन स्टार, सेलिब्रेटी सेफहरुबाट सिकेको व्यवसायिक सीप र अनुभव नेपाली खाना प्रवर्धनमा सदुपयोग गर्ने संकल्प लिएर अगाडि बढेका छन् उनी । इण्डियन कुइजिनका लागि जुन तहमा काम गर्ने अवसर पाए, नेपाली खानालाई पनि त्यही तहमा पुरयाउने उनको सपना छ । नेपाली कुइजिनबाट मिसिलिन स्टारप्राप्त गर्ने पहिलो नेपाली सेफ बन्ने उनको अठोट छ । उनी अहिले नेपाली सेफहरुले सञ्चालन गरेको ‘टेस्ट अफ नेपाल’ अभियानमा साथ दिइरहेका छन् ।

सन्तोष अहिले बीबीसीबाट प्रसारण हुने हस्पिटालिटी क्षेत्रमा विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ मा नेपाली खाना लिएर गएका छन् । उक्त प्रतियोगितामा नेपाली खाना प्रतिनिधित्व भएको सम्भवतः यो नै पहिलो अवसर हो । उक्त प्रतियोगितामा भारतीय वा अन्य कुनै कुइजिन लिएर पुग्ने नेपाली सेफहरु समेत खासै चिनिएका छैनन् ।

भारतीय कुइजिनमा बेलायतकै सबैभन्दा प्रतिष्ठित कम्पनीहरुमा काम गरेका सन्तोष फाइनान्सियल टाइम्स, इभिनिंग स्टाण्डर्ड, सिटी एएम जस्ता बेलायती राष्ट्रिय मिडियालगायत हस्पिटालिटी क्षेत्र समेट्ने अन्य कयौंमा पनि छाइसकेका छन् ।

‘निरन्तर मेहनत र सकारात्मक सोचसंगै लक्ष्य राखेर अगाडि बढे सफलताको शिखर चढ्न सकिने रहेछ’, सन्तोषले नेपाली लिंकलाई बताए । ‘नेपाली खानामा प्रशस्त सम्भावना हुंदापनि यो अझै ओझेल परेको छ’, उनले भने, ‘अब म अन्तर्राष्ट्रिय जगतमा नेपाली खाना चिनाउने अभियानमा लागिसकेको छु । मलाई पुरा विश्वास छ, छिट्टै नेपाली स्वादलाई विश्वले कदर गर्नेछ ।’  सेफ सन्तोषलाई उनको इन्सटाग्राम आइडी मा फलो गर्न सकिन्छ ।

सन्तोषको मेन्यूका केही नेपाली परिकारहरु :

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू