शुक्रबार, फागुन २१, २०७७
12:35 | १८:२०

त्यो रेल यात्रा अनि त्यो संयोग (भिडियो)

प्रमोदराजको लन्डन डायरी– ३

प्रमोदराज अक्टोबर १९, २०२०

त्यो रेल यात्रा अनि त्यो संयोग- अक्टोबर २००९

१२ डिब्बाको त्यो रेल, हामी चौथोमा थियौं । लन्डनको भिक्टोरिया स्टेशनबाट सुरु हुने यो रेल यात्राको अन्तिम गन्तब्य लण्डनदेखि ७० माइल टाढाको दक्षिणी समुद्री किनारमा अवस्थित एउटा टाउन इष्टबर्न थियो । १० दिन अघि यही स्टेशन बाट टिकटका लागि पैसा नपुगेर फर्केका थियौं हामी । मान्छेले कि परेर जान्दछ कि पढेर भन्थे । हामीलाई परेर थाहा भयो । पहिलेनै अनलाइनबाट बुक गर्दा धेरै सस्तो पाइने रहेछ टिकट । यसपटक हामीले त्यसै गर्यौं । २ जनाको टिकटलाई त्यस्तै १६-१७ पाउण्ड मात्रै परयो । लण्डन बाहिर नेशनल ट्रेनको यो हाम्रो पहिलो यात्रा थियो । त्यसैले पनि हामीले चढ्ने ट्रेन कुन प्लेटफर्ममा छ भनेर पत्ता लगाउन हामीलाई केहि बेर लाग्यो । डिस्प्ले बोर्डमा हेर्दा १२ ओटा डिब्बाको रेलमा अगाडिको ८ ओटा मात्र इष्टबर्न जाने देखाएको थियो ।

त्यसैकारण हामी रेलको चौंथो डिब्बामा खाली सिट खोजेर बस्यौं । 
ट्रेनभित्रबाट बाहिर प्लेटफर्म तिर हेर्दै गर्दा मेरा आंखामा कहीं कतै हेरेको एउटा भिडियोका दृश्यहरु नाचिरहेका थिए । सन् १९६० को राजा महेन्द्रको बेलायत भ्रमणको भिडियो थियो त्यो। बेलायतकी महारानी एलिजाबेथले राजा महेन्द्र र रानी रत्नलाई बकिङ्घम प्यालेस नजिकै रहेको यही भिक्टोरिया स्टेशनमा भब्य स्वागत गरेकी थिइन्। पानीजहाजबाट बेलायतको दक्षिणी किनारमा अवस्थित साउथह्याम्टन बन्दरगाहमा ओर्लेपछि राजा महेन्द्र त्यहांबाट ट्रेन चढेर यही भिक्टोरिया स्टेशनमा उत्रेका थिए। राजा महेन्द्रको त्यो राजकीय स्वागत कति भब्य थियो अझै पनि युट्युबमा हेर्न सकिन्छ । महारानी एलिजाबेथ आफैं यही स्टेशनमा आएर स्वागत गरेकी थिइन् ।

लन्डनका सडकमा बेलायतकी महारानीसंगै एउटै बग्गीमा बसेर पूर्ण राजकीय लावालस्करसहित  बडो शानले राजकीय पोसाकमा सजिएर राजा महेन्द्र बकिंमघहम प्यालेसमा प्रवेश गर्दै गरेको त्यो भिडियोको दृश्य निकै आकर्षक देखिन्थ्यो। राजा महेन्द्र मात्र होइन्, जंगबहादुर र चन्द्र शमशेर पनि निकै ठांटबाटसहित बेलायतको भ्रमणमा आएका थिए । सन् १८९० मा जंगबहादुर र १९०८ मा चन्द्रशमशेरलाई लन्डनले यही भिक्टोरिया स्टेसन मै स्वागत गरेको थियो। त्यसैले पनि नेपालका लागि ऐतिहासिक महत्व समेत बोकेको स्टेसन हो यो।

अब बिस्तारै रेल छुट्ने बेला हुंदै थियो। रेल छुट्ने समय, अगाडि रोकिने स्टेशन र अन्तिम गन्तब्यबारे जानकारी डिस्प्ले भैरहेको थियो । अझै पनि केहि मानिस हतारहतार भित्र छिर्दै पनि थिए । हामी भने सबै कुरा उत्सुकतापूर्वक नियाल्दै थियौं। किनकि यो यात्रा नौलो थियो । 
स्टेशन र रेल नै पनि हाम्रा लागि नौला थिए । अन्डरग्राउण्ड ट्रेन अलि सांघुरा हुन्थे र तेज गतिमा दौड्दा लिगबाट बेला बेला डाङ्गडुंग आवाज आउथ्यो तर लन्डन बाहिर जाने यी ओभर ग्राउण्ड ट्रेनहरु फराकिला हुंदा रैछन् । सिटहरु पनि ठूला र आरामदायी । ठाउंठाउंमा सिट आमने सामने फर्काएर बीचमा टेबल पनि राखिएको हुंदो रैछ । ट्रेन लगभग भरिभराउ थियो तर पनि हल्ला खल्ला केहि थिएन् । एकदम शान्त, सबै आफ्नै धुनमा । कोहि किताब पढ्दै थिए, कोहि टेबलमा ल्यापटप राखेर केहि काम गरिरहे  जस्ता देखिन्थे भने कोही चाहिं मोबाइलमा मेसेज टाइप गर्न ब्यस्त थिए ।

त्यति बेला आइफोन आइसकेको थिएन तर पनि नोकिया र ब्ल्याकबेरी जस्ता कम्पनीका केहि एड्भान्स फोन हरु थिए बजारमा । हामीले कोचको चारै तिर नियाल्यौं । हातमा कफी लिएका मानिसहरु कफीको चुस्कीसंगै कतै हराइरहेका जस्ता देखिन्थे , कतिपय चाहिं त्यतिकै चुपचाप थिए । मैले चाहिं यति बेला आफ्ना स्कुलका दिनहरु सम्झें। काठमान्डूमा दार्जिलिंगबाट आएका शिक्षकहरुको टिम थियो । अलि अलि अंग्रेजी बोली टोपल्ने तिनिहरु अति नै रिसाहा र निर्दयी थिए । विद्यार्थीहरुलाई स-सानो कुरामा पनि निकै ठूलो सजाय दिन्थे। हामी उनीहरुको छांयाले समेत तर्संनथ्यौं । त्यसमाथि ठूलो स्वरले साइलेन्ट भनेर थर्काए भने त सातोपुत्लो उड्थ्यो। सियो खसे पनि थाहा होला जस्तो गरि नहल्लिकन अनुशासित भएर बस्थ्यौं। रेलभित्रका यात्रुहरु किन किन तिनै आज्ञाकारी विद्यार्थीझैं लाग्यो मलाई । शान्त, अनुशासित र ब्यवस्थित ।

रेलको ढोका लाग्यो । ड्राइभरको अनाउन्समेन्टबाट थाहा भयो रेल अब छुट्दैछ। लन्डनभित्र चल्ने टयूबको तुलनामा स्पीड अलि कम हुने रैछ तर आवाज खासै नआउने, स्मुथ तरिकाले घरि जमिनमा त घरि पुलमाथि चल्ने रैछ । पुलबाट तल गाडीहरु दौडेको र मान्छेको चहल पहल हेर्दै, वरपरका घरहरु, पार्कहरु र बजारतिर आंखा दौडाउदै अगाडि बढ्दै गयौं । लण्डनका घरहरु साना साना हुने । सुरुमा हामी आउंदा घरको आकार देखेर मेरी श्रीमतीले भनेकी थिइन् कस्तो सलाइको बट्टा जस्ता घर हुंदा रैछन् । हुन पनि सरसफाई र ब्यवस्थापन गर्न सजिलो हुने गरि एक परिवारका लागि बनाइएका यी घरहरु झट्ट हेर्दा निकै सानै लाग्थे ।

पुल माथिबाट रेल अगाडी बढ्दै गर्दा यी घरका छानामा चिम्नीहरु देखिन्थे। हामीले पछि मात्र थाहा पायौं कि यहांका घरहरु निकै पुराना हुने रहेछन् । सय, डेढ सय, दुई सय वर्ष पुराना। बाहिरी स्वरुपलाई जस्ताको तस्तै राखेर बेला बेलामा मर्मत मात्र गरिने रहेछ। त्यती बेला अहिले जस्तो बिजुली र ग्यांसबाट नभै घर तताउन दाउरा बालिने रैछ र धुंवा बाहिर फाल्न यी चिम्नीहरु राखिएका रैछन् । यस्ता घरहरुको बैठक कोठामा अझै पनि दाउरा बाल्ने ति अगेनाहरु सुरक्षित नै देखिन्छन् तर प्रयोगमा भने छैनन् ।
अब भने रेलले शहर छोडिसकेको थियो ।

पहिलोपटक लन्डन बाहिर निस्केकाले हामीलाई बाहिरका दृश्यहरु हेर्न भ्याईनभ्याई थियो। बाहिर सिमसिम पानी परिरहेको थियो । जाडो याममा घामको मुख देख्न अलि गार्है हुने रैछ यहां । ठूला ठूला डांडाकांडा कतै देखिएनन् । साना साना थुम्काहरु र तिनका मुनी हरिया लामा र फराकिला फांटहरु लमतन्न परेर सुते जस्ता देखिन्थे। छेउ छाउमा साना ठूला रुखहरु थिए र कतै कतै ति मैदानमा गाई, घोडा र भेडाहरु चरिरहेका देखिन्थे। हाम्रोतिरको जाडोयाम प्राय सुख्खा हुने गर्छ तर यतातिर भने पानी परिरहंदो रैछ। मनसुन मा जस्तो ठूलो पानी चाहिं होइन् । सिम सिम पानीले गर्दा जमिन ओसिलो भइरहने रैछ । त्यसैले होला जता हेरे पनि खाली ठाउंमा हरियो घांस देखिन्थ्यो । धुलो उड्ने सुख्खा माटो कतै देखिएन ।

ट्रेन आफ्नै रफ्तारमा थियो। बाटोमा साना ठूला गाउंहरु देखिन्थे। तर कस्तो एकरुपता उस्तै खालका घरहरु, उस्तै बाटो घाटो, उस्तै पसलहरु। सबै योजनावद्ध तरिकाले बनाए जस्तो। एक किसिमले हाम्रो गाउंघरकै पनि झझल्को आउने। कुनै ढुंगाले त कुनै टायलले छाएका साना साना एक तले घरहरु बाहिरबाट हेर्दा साधारण लाग्ने। धेरै सिंगारपटार केहि नदेखिने। हामीले पछि थाहा पायौं यी घरहरु ठ्याक्कै नेपालका गाउंघरका जस्तै काठै काठ प्रयोग गरि बनाइएका हुने रैछन्। भुइंमा पनि काठ, भरयाङमा काठ, माथि दलिनमा अनि छानोमा पनि सबै काठ नै तेरस्याइएका हुंदा रैछन् ।

आजकल हामीलाई भने आधुनिकताले बढिनै छोएर होला हाम्रा ति दुर दराजका गाउं घरमा समेत हामीले आफ्नो मौलिकता छाड्दै गयौं । ढलान गरेर कंक्रिटका घरहरु बनाउन थाल्यौं। वातावरण मैत्री र तातो चिसो दुवैमा बस्न उपयुक्त हुने हाम्रा ति मौलिक बासस्थानलाई मासेर कंक्रिटमा रमाउन थाल्यौं। बरु आधुनिक मानिएका यिनीहरु सयौं वर्ष अघि कै प्रविधि र स्वरुपलाई जोगाएर आफ्नोपनमा बांचेका रैछन् । हामी बुढाबुढी अलमलमा पर्यौं। बास्तवमा आधुनिक को होला ? हामीहरु कि यिनी हरु ? 

बेलायतको कन्ट्री साइड सांच्चै सुने जस्तै सुन्दर लाग्यो।

बाहिर पानीसंगै तेज हावा चलिरहेको छ। चारैतिरबाट समुन्द्रले घेरेको भएर होला जति बेला पनि हावा हुरी आए जस्तो हुने रैछ। त्यसैले होला छाता ओडेर हिंडेका मान्छे बिरलै देख्यौं। धेरै जसो मानिसहरु टोपी भएको ज्याकेट लगाउंदा रैछन् । पानी पर्दा प्राय त्यही टोपीले टाउको छोपेर हिंडेको देखियो । अक्टोबरको मध्ये समय जाडो सुरु भइसकेको थियो । जतिबेला पनि धुम्म भइरहने ।

घामको मुख नदेखिने यस्तो बेला त बेलायतका यी गाउंघर यति सुन्दर देखिएका थिए भने उज्यालो समरको बेला कति चम्किलो देखिएलान् । म अंग्रेजी साहित्यको विद्यार्थी। अंग्रेजी समरको सुन्दरतासंग बैशालु जोडीका माया प्रेमका भावहरुलाई संगै जोडेर लेखिएका थुप्रै अंग्रेजी कविताहरु पढेको थिएं । हाम्रो तिरको समर गर्मी र मनसुन झरीले गर्दा खासै राम्रो लाग्थेन । त्यसै कारण ति साहित्यहरुमा समरलाई यति धेरै ग्लोरिफाइ किन गरेको होला जस्तो लाग्थ्यो। अब भने लाग्यो वीन्टर मै पनि यति धेरै लोभ्याएका बेलायतका यी कन्ट्री साइडले समरमा हामीलाई मोहनी लगाउने कुरामा कुनै शंका थिएन ।

ट्रेन आफ्नै रफ्तारमा छ । बेला बेला स्टेसनमा रोकिन्थ्यो । अगाडि कुन स्टेशन आउंदैछ डिस्प्ले भैराख्थ्यो। यस्तैमा डिब्बाको परबाट एकजना मान्छे कांधमा एउटा मेसिन भिरेर आउंदै गरेको देखियो। टिकट चेक गर्ने मानिस रहेछ । वरिपरि हेर्यौं। धेरै जसो यात्रुहरु हातमा टिकट निकालेर अघिनै तम्तयार भएर बसिसकेका रहेछन् । हामीले पनि उनीहरुकै सिको गर्दै टिकट हातमा लियौं। टिकट चेक गर्ने मान्छे निकै हँसिलो र फुर्तिलो देखिन्थ्यो। आफ्नो काम निकै मन लगाएर समर्पित भएर गरे जस्तो। एकैछिनमा हाम्रो पालो आयो। ‘हेल्लो गुड इभिनिङ ! क्यान आइ सी योर टिकेट सर ?’ नम्र तरिकाले टिकट माग्यो उसले । मेसिनबाट चेक गरेपछि हांस्दै मेरो आंखामा हेरेर ‘थ्याङ्क यु, ह्याब अ नाइस डे’भन्दै अघि बढ्यो । लिटरेचरको विद्यार्थी भएकोले हो कि जे कुरा पनि अलि क्रिटिकल्ली हेर्ने बानी परेको छ मेरो । उसको नम्रता, शिस्टता र कामप्रतिको लगाव र गम्भीरताले छोयो मलाई ।

यस्तो लाग्थ्यो कि यो उस्को जागिर होइन् । कामका लागि काम होइन, उसको प्यासन हो। यस्तो देखिन्थ्यो कि मानौं उ हामीप्रति आभारी छ भेट्न पाएकोमा, टिकट चेक गर्न पाएकोमा, काम गर्न पाएकोमा । सेवाग्राहीलाई सेवा दिंदा खुशी हुने, अनुग्रहित हुने यस्तो ‘कल्चर’ हामीले कमै देखेका थियौं । 

हेवार्ड्स हिथ भन्ने स्टेसनमा ट्रेन रोकियो। केही अनाउन्समेन्ट आइरहेको थियो । मानिसहरुको झर्ने र चढ्ने अनि एक डिब्बाबाट अर्कोमा सर्ने क्रम अलि बढी नै भए जस्तो लाग्यो। राम्ररी बुझ्न खोजें। कहां जाने हो त्यहि अनुसार सही डिब्बामा  बस्नु भन्ने सन्देश थियो । वरिपरी कै मानिसहरु पनि सल्याङ बल्याङ गर्दै अर्को डिब्बातिर लागे। सुन्दै जांदा स्पष्ट भयो कि १२ डिब्बाको हाम्रो ट्रेन छुट्टिएर २ ओटा बन्दै रहेछ । एउटा ८ डिब्बाको हाम्रो गन्तव्य इस्ट्बोर्न जाने र अर्को ४ डिब्बाको छुट्टिएर अन्तै जाने रहेछ ।

हामीले सोचेका थियौ भिक्टोरिया स्टेसनबाटै ८ ओटा मात्रै डिब्बा आउने होला भनेर। यसरी बीच बाटोमा ट्रेन छुट्टिएर दुईटा भएको र हेर्दा हेर्दै एकैछिनमा दुई भाग दुई तिर लागेको देख्दा हामीलाई अनौठो लाग्यो।
ट्रेनको अन्तिम गन्तव्य थियो इस्ट्बोर्न । हाम्रो गन्तव्य चाहिं त्यस्को एक स्टप वर ह्याम्डेन पार्क थियो। पुगेपछि देख्यौं एउटा सानो चिटिक्कको गाउं रहेछ ।

अगाडि पछाडि नै गार्डेन भएका घर हरु। सबै ढुङगा र टायलले छाइएका । गाडीहरू राम्रै चले पनि मानिसहरु खासै नदेखिने । बाटोमा ट्राफिक जाम जस्तो गाडीका लस्कर देखियो । तीन ओटा बत्ती पिलिक पिलिक बलेको, तर यो नर्मल ट्रफिक बत्ती भने थिएन् । खासमा हामी आएको ट्रेनले यो बाटोलाई क्रस गरेर जाने रहेछ। ट्रेन आउने बेला ट्वाङ ट्वाङ घन्टीसंगै यस्तो बत्ती बल्न थालेपछि रेलको लिगको अलि वर दुबै तिर ठाडो भएर बसेको फलामे बार झरेर बाटो छेक्दो रैछ । ट्रेन पास नहुंदासम्म गाडीहरु रोकिने रैछन् । हेर्दा हेर्दै एकैछिनमा बाटो क्रस गरेर ट्रेन पास भयो । फलामे बार घड्याक्क गरेर आफैं खुल्यो ।

रोकिएका गाडीहरु बिस्तारै फेरि सुचारु भए। हामी चाहिं नयां कुरा देखेकोले रमाइलो मानेर हेरिरहयौं । 

सानो बजार सबै खालका कमसेकम १-१ ओटा पसलहरु, अनि अलि अलि मानिसहरुको चहलपहल हेर्दै अघि बढ्दै जांदा परबाट आउंदै गरेका एक जोडी गोरा बुढाबुढी हाम्रो नजिक आएपछि रोकिए जस्तो गरे । हामीले पुलुक्क हेरेपछि ‘हेल्लो हाउ आर यू ?’ भनेर बोलाए । हामी केही अल्मलिए जस्तो गर्दै शिष्टाचारपूर्वक जवाफ दियौं- ‘वी आर गुड । एन्ड हाउ आर यू ?’ उनीहरु सामान्य रुपमा ‘वी आर फाइन, थ्याङ्क यू’ भन्दै अघि बढे। हामीले पछि थाहा पायौं नचिने पनि बाटोमा भेटिंदा यसरी अभिवादन गर्ने चलन हुंदो रैछ। मैले फेरि हाम्रै गाउंघर सम्झें । गाउंमा कोहि नयां मानिस देखिए भने बोलाउने मात्रै होइन कहांबाट आउनु भाको कसकोमा आउनु भाको भनेर सोध्ने अनि कुरा गर्ने गर्छौं नि हामी। मलाई लाग्यो मानिसका आनिबानी र व्यवहार जहां बसे पनि उस्तै उस्तै त हुने रैछन् नि ।

मेरी श्रीमतिको कुनै बेलाको असाध्दै मिल्ने साथीको बैनी ज्वाईंको घर थियो त्यो । त्यसैले भेट्घाट गर्न पाउंदा उनी खुशी नहुने त कुरै भएन् । मलाई पनि घरको न्यास्रो केही कम भए जस्तो लाग्यो । सांझपख खानपानको कुरा आयो । घर अगाडिकै को-अपरेटिभ फुड भन्ने स्टोरमा गयौं । युके भरी नै सयौं आउट्लेटहरु भएको गुण्स्तरीय फूड स्टोरको चेन रहेछ यो। संयोग नै भनौं स्टोरको ढोकैमा भ्याकेन्सी नोटिस रहेछ । खरर्र पढेर ल राम्रो भो भन्दै ज्वार्इं साहेब सिधै पसलको काउन्टरतिर लाग्नु भो । स्टाफसंग एउटा फर्म  लिनुभएको देखें । एकैछिनमा केहि ड्रिंक्स लिएर पसलबाट निस्कियौं हामी ।

घर पुगेपछि थाहा भयो बास्तवमा त्यो फर्म मेरा लागि रहेछ लिनुभएको । वीकेन्ड जब, शनिबार र आइतबार ६ र ९ घण्टा गरि जम्मा १५ घन्टाको काम रहेछ । ल यो तुरुन्तै भरेर अहिले नै गएर बुझाउनु पर्छ । यो काम १०० प्रतिशत पाइन्छ । ठोकुवा गर्दै भन्नु भयो उहांले । हामी छक्क परेर बुढाबुढी मुखामुख गर्यौं ।

कलेज लण्डनमा छ । यहां त घुम्न पो आको। कसरी बस्न मिल्ला र यहां ? अनि कलेज कसरी जाने ? मेरी श्रीमतीको कुरा सुने पछि ज्वाईं साहेबको सविस्तार तर्क यस्तो थियो, हेर्नुस् बिहान सबेरै अफ पिकको टिकट अनलाइन लियो भने सस्तो पाइन्छ । कलेज मजाले जान सकिन्छ। म कहां तपाईंहरुका लागि एउटा कोठा खाली पनि छ । सबैभन्दा ठूलो काम हो । लण्डनमा त्यस्तो हाहाकार छ कामको । यो ठाउंलाई बढी घाम लाग्ने न्यानो ठाउं मानिन्छ र प्राय बुढाबुढीहरु रिटायर्ड भएपछि बस्ने ठाउं हो । त्यहि भएर केयर जब प्रशस्तै पाइन्छ । यहीं  नजिकै केयर एजेन्सी छ । दिदीका लागि त्यहीं रजिस्टर गरौंला । तपाईं पार्टटाइम गर्दै गर्नुस् फुल टाइम अरु केही खोजौंला ।

हेर्दा हेर्दै यति सजिलै दुवै जनाको काम पक्का हुने जस्तो कुरा पो आयो । यसै पनि लण्डनमा हाम्रो आफ्नो मान्छे खासै को नै छ र ? काम कहां कहिले पाइएला कुनै अत्तोपत्तो थिएन । हामी बुढाबुढी दुबैलाई कुरा ठिकै हो जस्तो लाग्यो । तुरुन्तै  फर्म भरेर हामीले उतिन्खेरै गएर म्यानेजर लाई बुझायौं । मलाई लाग्यो अरु कतिले अप्लाई गरेका होलान् । त्यसमाथि म भर्खर नेपाल बाट आएको। यहांको कुनै अनुभव हुने कुरो पनि भएन । त्यसैले बोलाउला भन्ने मलाई खासै आशा थिएन् । नजिकै ‘सी साइड’ भएकाले हामीलाई सबैभन्दा पहिले समुन्द्र नै हेर्नु थियो । हामी बसेको ठाउं बाट झन्डै २० मिनेट तल हिंडेर गयौं । सयौं साना ठूला डुंगाहरु पार्क गरि राखिएको हार्बर रैछ त्यो । जाडो महिना त्यसमाथि हावा बेतोडले चल्ने रहेछ । सिमसिम पानी जति बेला पनि पारिराख्ने, आकाश धुम्म हुने । सूर्यनारायणको कुनै अत्तोपत्तो थिएन ।

नेपालबाट ल्याएको नर्थ फेस को भुक्के ज्याकेट र त्यसको टोपीले पनि जाडो थेग्न गाह्रो भइरहेको थियो । चिसोले गर्दा समुन्द्रको वास्तविक मज्जा लिन नपाएपनि बेलायत आएर पहिलो पटक सी साइडको दर्शन गरेको यो क्षणलाई निकै उत्साहपूर्बक फोटोमा कैद गर्यौं हामीले । अर्को रमाइलो कुरा के भने जांदा आउंदा बाटोमा थुप्रै स्याउ र नास्पतिका रुखहरु देखिए। झरेर बाटोमा असरल्ल थिए । कसैले पनि टिपेर खांदा रहेनछन् । त्यस्तै ऐसेलुका झाडीहरुमा काला र राता ऐसेलुहरु लटरम्म देखिए । गोराहरुले वाइल्ड भन्दै यसरी सिधै टिपेर नखाने रैछन् । हामीले भने मन थाम्न सकेनौं। वरिपरि हेर्यों । कोही मान्छे नदेखेपछि झाडीबाट ऐसेलु टिप्यौं र पहिलोपटक बेलायतका यी ऐसेलु चाख्यौं हामीले । नेपालमा पाइने पहेंलो ऐसेलु भन्दा आकारमा अलि ठूला थिए । हाम्रो तिरको भन्दा अलि अमिला पनि हुने रैछन् ।

बेलायती समुन्द्री किनारको वास्तविक सुन्दरता र रमाइलो चाहिं इस्ट्बोर्न टाउनको सि साइड मा पायौं हामीले । किनारमा बालुवा होइन स साना गिटी ढुङ्गाहरुले भरिएको थियो । बाहिर रंगीचंगी फुलहरुले भरिएको अनुपम 
बगैंचा । किनाराको छेउमा लहरै अनेक किसिमका फास्ट फुड पसलहरु, रेस्टुरेन्टहरु थिए । हामीलाई चाहिं सबैभन्दा धेरै यहांको लामो पानी माथिको पुलले लोभ्यायो । पियर भनिंदो रैछ यसलाई । यो हाम्रो लागि निकै नौलो र रोमान्चक थियो । समुन्द्रको किनारबाट सुरु भएर पानी माथि झन्डै १ किलोमिटर टाढासम्म निकै फराकिलो पुल जस्तो संरचना खडा गरिएको हुने रैछ । पुलमाथि रेस्टुरेन्ट, पब, आइसक्रिम सपदेखि मनोरन्जनका लागि पैसा राखेर खेलिने विशाल गेमिंग स्टोर थियो । रंगीचंगी बत्तीहरु भएको एकदम रमाइलो । मान्छेहरुको निकै चहलपहल हुने यो ठाउंमा समुन्द्र र टाउन क्याप्चर हुने गरि थुप्रै फोटोहरु खिच्यौं हामीले । पानी माथि भएकोले समुन्द्रको हावाले बेस्सरी हान्ने रैछ ।

क्षितिज परसम्म पानी नै पानी मात्र देखिने यो विशाल अनि खुला संसारमा निरन्तर बहिरहने  चिसो हावासंगै मन हल्का भएको महसुस हुने रैछ । तनाव र चिन्ता जति यही समुन्द्री सिरेटोले उडाएर लगे जस्तो लाग्ने । एकदम ‘फ्रेस फिल’ हुंदो रैछ । 

पर्सीपल्ट बिहानै कोअपबाट फोन आयो र अन्तर्वार्ताका लागि आउन भनियो । पातली गोरी त्यस्तै ५०-५५ वर्ष जतिकी देखिन्थि म्यानेजर । नेपालमा १९ वर्षको सानै उमेरदेखि स्कुलको प्रिन्सिपल हुंदै कलेजको म्यानेजमेन्टमा काम गरेको अनुभव भएकोले खासै नर्भस फिल भएन । अंग्रेजी कै शिक्षक भएकाले कुराकानीमा पनि खासै समस्या भएन । तर, कतै कतै नेटिभ एक्सेण्ट बुझ्न गारहो चाहिं परेको थ्यो । कुरा गर्दै जांदा म्यानेजर मसंग इम्प्रेस्ड भए जस्तो लाग्यो । भर्खर ४ हप्ता अघि मात्रै युके आएको थाहा पाएपछि उसले नेपालमा के काम गर्दथ्यौ भनेर सोधी । मैले कलेजमा टिचिङ्ग गर्थें र एफ एममा बोल्थें भनेर बताइदिए ।

यो सुनेर उ छक्क पर्दै भनि यस्तो मान्छे यहां किन आएको ? मैले मेरो श्रीमतीको अध्ययनका लागि हो र म आफैं पनि पछि केही कोर्स गर्न चाहन्छु भनें। अर्को कुरा युके र युरोप घुम्न पनि आएको हो भनेर गफ पनि दिएं । नेपालमा कामै बोल्ने भएकाले बोलेर इम्प्रेस पार्ने आफूसंग अलि अलि भएको कलाको भरपुर उपयोग गरें मैले । अन्तमा उसले मेरो आत्मविश्वास र अभिब्यक्ति कलाको प्रशंसा गरि । म भने ल अब जागिर पक्का भयो जस्तो लागेर दङ्ग थिए । तर उसले अन्तर्वार्ताको नतिजा फोन गरेर बताउने भन्दै बिदा गरि मलाई । म पनि अब काम सकियो जे त होला भन्ने सोच्दै लन्डन तिर लागें।

भोलिपल्ट नै फेरी को-अपबाट फोन आयो र भनियो यु आर सेलेक्टेड, भोलि नै ट्रेनिङ्गका लागि आउनु । खुशी र आश्चर्य दुवै थियो । एकप्रकारको उत्साह पनि । हामी प्राय सोचिबुझीकन, योजना बनाएर ब्यवस्थित तबरले काम गर्न प्रयासरत हुन्छौं । तर सधैं सोचे जस्तै र खोजे जस्तै दिशा तिर जीवन अघि बढ्ने चाहिं होइन रैछ । जीवनमा बेलायत आइएला भनेर कहिले पनि सोचेको थिइन् । बरु कलेजमा पढाउने भएकाले हाइ स्किल्डमा क्यानाडातिर विचार गरुं कि जस्तो चाहिं लागेको हो । मेरा कतिपय साथीहरु क्यानाडा गएका पनि छन् । तर आफू आइयो बेलायत ।

समयले भनुं, तक्दिरले भनुं या संयोगले । डेढ पाउण्ड नपुगेर भिक्टोरिया स्टेसनबाट १० दिन अघि फर्कनु, फेरी आउंदा कोअपमा भ्याकेन्सी निकालेको बेला पर्नु र सांझ ड्रिंक्स लिन जांदा हामीले नोटिस देख्नु र अप्लाई गरे पछि मैले नै जागीर पाउनु ।  जीवनमा संयोगको ठूलै महत्व रहेछ जस्तो लाग्यो ।  
यसरी बिना योजना सोच्दै नसोचेको ठाउंमा संयोगले पाएको जागिरका कारण लन्डनदेखि ७० माइल टाढाको सानो टाउन इस्ट्बोर्न बसाइ सरियो । सांच्चिनै समयले मानिसलाई कहांकहां पुरयाउने रहेछ ।

सुनौं ‘प्रमोदराजको लन्डन डायरी -३ ‘

 

‘प्रमोदराजको लन्डन डायरी’का पछिल्ला अंकहरु सुन्न तलका लिंक क्लिक गर्नुहोस् ।

(श्रृङ्खलावद्ध रुपमा प्रस्तुत लन्डन डायरी युट्युब च्यानल ‘प्रमोद राज’ र ‘नेपाली लिङक’ बाट एकैसाथ प्रकाशन गरिन्छ)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू