शनिबार, १२ जुलाइ, २०२५
23:53 | ०४:३८

‘लिडरसीप क्राइसीस’ सुधार्न एनआरएनए यूके अध्यक्षमा मेरो उम्मेदवारी: पुडासैनी (भिडियो)

नेपाली लिङ्क जुलाइ १२, २०२५

लन्डन- गैर आवासीय नेपाली संघ यतिखेर छिन्नभिन्न अवस्थाबाट गुज्रिरहेको छ । यस्तो ध्रुवीकरण केन्द्रदेखि विदेशका राष्ट्रिय परिषदहरुसम्म झांगिदो छ ।

बेलायत एनआरएनमा पनि ‘लिडरसीप क्राइसीस’ भएको महशुस गर्दै त्यसलाई सुधार्न अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहेको बताउंछन् अभियन्ता राजेन्द्र पुडासैनी । नेतृत्वको होडबाजीले एनआरएनएको छवि नराम्रोसंग बिग्रिएको उनको बुझाइ छ ।

एनआरएनए स्थापनामा बेलायतको भूमिका अग्रणी मानिन्छ । तर, यही देशमा चरम विभाजन छ । समुदायमा एकता र सहिष्णुता खडेरी छ । एक खालको भ्याकुम भइरहंदा साथीभाई र अग्रजहरुको सल्लाह बमोजिम आफू उम्मेदवारी दिने निचोडमा पुगेको पुडासैनीले प्रष्टयाए ।

‘मेरो उम्मेदवारी प्राउड नेपाली कम्युनिटी बनाउन र अग्रजहरुले गर्न बांकी रहेका कुरा पुरा गर्न हो’, उनले भने । संस्थाप्रति आममानिसको आकर्षण नहुनुको मुख्य कारण पिपुल्ससंग जोडिन नसक्नु रहेको उनको धारणा छ । उनी पहिला संस्थाको जग बलियो बनाउन जरुरी ठान्छन् ।

बेलायतमा ‘ग्रासरुट लेभल’ का मानिसहरुसंग कनेक्ट भएर नेतृत्वदायी भूमिका निर्वाह गर्न आफू इच्छुक रहेको उनले बताए ।

संस्थालाई कसैको स्वार्थसंग बन्दी बनाउनु हुन्न भनेर निरन्तर वकालत गरिरहेको बताउंदै उनले एनआरएनलाई डायनामिक प्लेटफर्म बनाएर सबैको प्रतिनिधित्व हुने गरि कनेक्ट गर्न पनि नेतृत्वमा आकांक्षा राखेको जनाए ।

दुई दशक अघि एनआरएनए स्थापनाकालदेखि नै आवद्ध रहे उनी । ‘हामीले समाजसेवा भनेर धेरै उर्जा खर्च गरयौं । अधिकार सम्पन्न बनाउन, संगठित गर्न रातदिन लाग्यौं । तर, सिभिल इन्गेजमेन्ट हुन सकेन । समावेशी, पारदर्शी हुनुपर्छ संस्थामा त्यो भएन । अन्तर्राष्ट्रिय र स्थानीय मुद्दालाई फरक ढंगले पहिचान गर्न सकेनौं’, उनले भने ।

एनआरएन एउटा अभियान भएकाले नेपालीको एकतालाई बलियो बनाउन र अन्य साझा समस्या समाधान गर्न सकिने उनको विश्वास छ ।

पुडासैनीले अध्यक्ष भएपछि गर्ने वाचा त्यस्तो ठूलो भने नभएको बताए । ‘मेरा सामान्य कुरा छन् । स्थानीय नेपाली नेटवर्क बलियो बनाउन, बेलायत नेपाल सम्बन्ध मजवुत बनाउन र ज्ञान सीपका कुरा बांड्न विशेष भूमिका खेल्नु पर्नेछ’- उनको जोड छ ।

एनआरएनए यूके विभाजनले चुनौतिसंगै सम्भावना पनि रहेको उनले बताए । ‘केही साथीको व्यक्तिगत इगो र मनोकांक्षाले संस्था विभाजित भयो । अर्को पक्ष (प्रेम गाहामगर) संग मिल्न मसंग मार्गचित्र छ । हाम्रा साझा एजेण्डा छन् । नेपाली कम्युनिटीलाई उदाहरणीय बनाउन महाअभियान चलाउनु पर्छ’, उनले भने ।

पुडासैनीले एकतावद्ध र एउटै एनआरएनए, नेपाली नागरिकताको निरन्तरता, नेपालमा रहेको सम्पत्तिको सुरक्षा, भूतपूर्व ब्रिटिश गोर्खाजको समानता लडाईंमा ऐेक्यवद्धता, एनआरएनएमा नयाँ पुस्ताको सहभागिता, नेपाली कला, साहित्य र संस्कृतिको संवर्धन एवं प्रवर्धन, नेपाली विद्यार्थी र कामदारहरुको अधिकार तथा सुरक्षा जस्ता विषय आफ्नो प्रमुख मुद्धा भएको बताए ।

एनआरएनए अभियानमा एकतावद्ध भएर लागे सबै मुद्दा समाधान गर्न सकिने उनको आत्मविश्वास छ । एनआरएनए यूकेलाई नमुना संस्था बनाउने आफूसंग विशेष ‘रोडम्याप’ भएको उनको जिकिर थियो ।

को हुन् पुडासैनी ?

नुवाकोटको साविक जिलिङ गाउंपालिका २, हाल बेलकोटगडी नगरपालिका ८ का स्थायी बासिन्दा पुडासैनी स्वर्गीय उपेन्द्र पुडासैनी तथा माता लोकमाया पुडासैनीको माइला सुपुत्र हुन् । उनी २५ वर्ष अगाडि बेलायत आएका थिए ।

पढाइकै क्रममा बेलायतको प्रतिष्ठित युनिभर्सिटीबाट एमबीए तथा बीएस्सी अनर्स उत्रिर्ण पश्चात विगत १५ वर्षदेखि स्वास्थ्य सेवा विभागमा कार्यरत छन् उनी । ३ छोरा, २ नाती, १ नातिनीका हजुरबुवा उनी विद्यार्थीकालदेखि नै सामाजिक रुपान्तरणमा क्रियाशील थिए ।

नेपालमा रहंदा त्यतिबेला प्रख्यात सरस्वती बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापति समेत भएका पुडासैनी बेलायतको ट्रेड युनियन आन्दोलनको अग्रणी मोर्चामा रहेर काम गरिरहेका छन् ।

बेलायतको सबैभन्दा ठूलो ट्रेड युनियनमध्ये एक जीएमबी नेशनल युनियन लन्डन सेन्टर नर्थको सचिव पदमा रहि श्रमिकहरुको हकहितको पैरबी गर्दैछन् ।

सामाजिक अन्तरघुलनमा विश्वास गर्ने उनी सन् २०१४ मा लन्डन बरो अफ ह्यारोको ह्यारो अन द हिलबाट काउन्सिलर पदमा प्रत्यासी उनी राजनीति र समाजसेवालाई शुद्धीकरणमा विश्वास गर्छन् । हाल इसेक्सको हार्लो शहरका स्थायी बासिन्दा उनी बेलायतको विभिन्न सामाजिक संघसंस्था जस्तै यती नेपाली एसोसिएसन यूकेको दुईपटक महासचिव, प्रवासी नेपाली मञ्च बेलायतको अध्यक्ष लगायत विभिन्न संघसंस्थाको सल्लाहकार हुंदै एनआरएनए अन्तराष्ट्रिय कमिटीको २०२१–२३ मा सदस्य समेत थिए ।

नेपालमा महाभूकम्प, बाढी पहिरोजस्ता प्राकृतिक विपदहरुमा बेलायती स्वास्थ्यकर्मीहरुको नेतृत्व 
गर्दै आफूले उल्लेख्य सहयोग गरेको उनले बताए ।

संघको मतदान अनलाइनमार्फत २६ जुलाई र राष्ट्रिय महाधिवेशन २७ जुलाई, २०२५ मा तय छ ।

भिडियो:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू