शनिबार, १२ जुलाइ, २०२५
20:53 | ०१:३८

एनआरएनए यूके अध्यक्ष रेसमा नयाँ मोड, स्कटल्याण्डबाट काशीराम भण्डारीको ‘इन्ट्री’

नेपाली लिङ्क जुलाइ १२, २०२५

लन्डन- एनआरएनए यूके स्कटल्यान्डको अध्यक्ष पदका प्रत्यासीद्वय शेर केसी र रामप्रसाद कंडेलबीच सहमतिसंगै एनआरएनए यूके अध्यक्षका लागि काशीराम भण्डारीको ‘इन्ट्री’ भएको छ ।

केसी र कंडेलले एकतावद्ध समिति गठनको तयारी साथै भण्डारीलाई एनआरएनए यूके अध्यक्ष पदमा समर्थन गर्ने घोषणा गरेका छन् । 

केही दिनदेखि जारी छलफलपछि दुबै अभियन्ताबीच पारस्परिक सहकार्य र भण्डारीलाई समर्थनको सहमति भएको छ। 

सहमति अनुसार, रामप्रसाद कंडेलले आफ्नो उम्मेदवारी त्याग्ने र शेर केसीलाई स्कटल्यान्ड राज्य समन्नय समिति अध्यक्ष पदमा समर्थन गर्ने निर्णय गरिएको छ । बदलामा केसीले कंडेललाई यूके एनएनसीको उपाध्यक्ष पदमा समर्थन जनाउने छन्।  

यसैसँगै, उनीहरुले स्कटल्यान्डमा ‘एकताबद्ध समिति’ गठन गर्ने निर्णय पनि गरेका छन्। यसले स्थानीय नेपाली समुदायलाई एकजुट बनाउने र नव गठित समितिमा सशक्त प्रतिनिधित्व दिने उद्देश्य अपेक्षा छ।  

शेर केसीले यस सहमतिलाई “नेपाली समुदायको हितमा ऐतिहासिक फैसला” भन्दै सबैलाई एकजुट हुन आह्वान गरे। उनले भने, “यो समझदारीले हाम्रो संघर्षलाई नयाँ ऊर्जा दिनेछ।”  

त्यस्तै, कंडेलले पनि यस सहकार्यलाई सकारात्मक पहलको रूपमा व्याख्या गर्दै भनेका छन्, “मलाई मेरा समर्थक, मेरो टिमले पनि मिलेर जादा समाजमा राम्रो सन्देश जान्छ पहल गर्नुस् भनेकाले सहमति गर्‍यौं । हामी स्कटल्यान्ड र यूकेमा नेपालीहरूको आवाज बलियो बनाउनेछौं।”  

यस सहमतिपछि छिट्टै एकताबद्ध समिति गठनप्रक्रिया पूरा हुने अपेक्षा गरिएको छ।  

एनआरएनए यूकेमा देखिएको विभाजन र ‘लिडरसीप क्राइसिस’ बीच नेपाली समुदायलाई एकताबद्ध गर्ने उद्देश्यले एनआरएनए एनसीसीको अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको भण्डारीले नेपालीलिंकसँग पुस्टि गरे ।

भण्डारीले यसअघि उम्मेदवारी घोषणा गर्ने अरु तीनै जना दाबेदारले सहमतिका लागि आफूलाई समर्थन गर्ने वचन दिएकाले आफ्नो पक्षमा सर्वसम्मति बन्ने विश्वास व्यक्त गरेका छन्।

जुलाई २६ तारिख शनिबार अनलाइन माध्यमबाट एनआरएनए यूके निर्वाचन हुंदैछ । अध्यक्षका लागि अहिलेसम्म राजेन्द्र पुडासैनी, गोविन्द खरेल र मनिष खत्रीले पनि उम्मेद्वारी घोषणा गरेका छन्।

भण्डारी एक सामाजिक, गैर-राजनीतिक, इमान्दार र समुदायको हितमा निस्वार्थ भावले काम गर्ने व्यक्ति मानिन्छ।

लामो समयदेखि स्कटल्यान्डलाई कर्म थलो बनाएका काशीराम भण्डारी सफल व्यवसायी हुन् ।  

निर्वाचन समितिले मंगलबार जम्मा ३ हजार ५ सय १ जना मतदाताको अन्तिम नामावली प्रकाशन गरेको थियो । जसमध्ये इंग्ल्यान्डबाट १ हजार ८ सय ६०, स्कटल्यान्डबाट १ हजार ५ सय १३, वेल्सबाट ७४ र नर्दन आयरल्यान्डबाट ५४ मतदाता छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू