शुक्रबार, १८ जुलाइ, २०२५
17:55 | २२:४०

स्कटल्यान्डमा त्याग गरी सर्वसम्मति बनाएका कंडेल एनआरएनए यूके उपाध्यक्षमा मत माग्दै

नेपाली लिङ्क जुलाइ १८, २०२५

लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आसन्न निर्वाचनमा स्कटल्यान्डबाट प्रतिनिधित्व गर्ने एनसीसी उपाध्यक्षमा उम्मेदवार छन् रामप्रसाद कंडेल । दुई दशक लामो सामाजिक क्षेत्रको अनुभव संगालेका उनी पछिल्लो समय एनआरएनए अभियानमा पनि सक्रियतासाथ खटिएका छन् ।

एनआरएनए स्कटल्यान्ड राज्य परिषदका वर्तमान कार्यसमिति सचिव कंडेलकै व्यक्तिगत त्यागमा यसपटक एनआरएनए स्कटल्यान्डमा सर्वसम्मति सम्भव बनेको छ । परिषदको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरी चुनावी अभियानमा लागेका कंडेलले स्थानीय अग्रज र सहकर्मी अभियन्ताहरुको आग्रह स्वीकार गर्दै अध्यक्ष उम्मेदवारीबाट ‘ब्याक’ हुन राजी भए । उनको त्यही त्यागकै परिणामस्वरुप एनआरएनए स्कटल्यान्ड परिषदमा सर्वसम्मत कार्यसमिति चयन हुन सफल भयो ।

राज्य परिषदमा पछि हटेर सर्वसम्मति बनाएका कंडेल यतिबेला स्कटल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षको उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् । स्थानीय अग्रज एवम् अभियन्ताहरुको सल्लाह र हौसलामा आफू एनआरएनए यूके एनसीसीमा उपाध्यक्ष उम्मेदवार बनेको उनले बताए ।

‘स्कटल्यान्ड राज्य परिषदको सचिवका रुपमा विगत दुई वर्ष मैले इमान्दार र समर्पित भएर आफ्नो भूमिका निर्वाह गरे । यो अवधिमा मैले संस्थालाई बुझ्ने मात्र हैन, अब कस्तो नीति र नेतृत्व आवश्यक छ भनेर महसुस गर्ने मौका पनि पाएं’, कंडेलले नेपालीलिंकसंग भने, ‘त्यसैले मैले स्वभाविक उम्मेदवारका रुपमा परिषदको अध्यक्षमा दाबी गरें । तर पछि साथीभाइको आग्रहलाई ध्यानमा राख्दै आफ्नो व्यक्तिगत आकांक्षालाई थाती राखेर सर्वसम्मति बनाउनका लागि त्याग गरें ।’

व्यक्तिगत आकांक्षाभन्दा संस्थाको हित र एकता नै बढी महत्वपूर्ण ठान्ने कंडेलले एनसीसी यूके उपाध्यक्षको आफ्नो उम्मेदवारीमा सबैको साथ, समर्थन अपेक्षा गरेका छन् । ‘संस्था र समुदायको हितका लागि म पछि हटेरै भएपनि त्याग गर्न पनि तयार भएं । सबैको सल्लाह सुनेर नै एनसीसी उपाध्यक्षमा उम्मेदवार बनें । त्यसैले अब सबैले मलाई साथ दिनुहुन्छ भन्ने आशा लिएको छु’, उनले भने ।

एनआरएनएसहित विभिन्न सामाजिक संघसंस्थाहरुमा लामो समयदेखि संगालेको अनुभव र शुभेच्छुकहरुको सल्लाहबाट प्रेरित भएर उम्मेदवारी दिएका कंडेलले एनआरएनए यूकेलाई सबल र सक्षम बनाउन योगदान दिने प्रतिवद्धता गरेका छन् ।

एनआरएनए यूकेलाई सदस्यकेन्द्रित, समावेशी र पारदर्शी बनाउने, महिला नेतृत्व, सीप विकास र उद्यमशिलतालाई प्रोत्साहन गर्ने, नयाँ पुस्ताको सहभागिता बढाउने, एनआरएनए यूकेलाई बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीको अभिभावक बनाउने, आपतकालीन सहयोग र कल्याणकारी कोष सुदृढ बनाउने, नेपाली कला, संस्कृति प्रवर्द्धन गर्नेलगायतका कार्यमा सशक्त भूमिका निर्वाह गर्ने प्रतिवद्धता कंडेलको छ ।

विगतमा विभिन्न जिम्मेवारीमा रहंदा नतिजा देखिने गरी गरेको आफ्नो योगदानको मूल्यांकन बेलायतवासी नेपालीहरुले गर्ने विश्वास उनको छ ।

एनआरएनए स्कटल्यान्डका हालसम्मका सबैजसो कार्यसमितिमा रहेर काम गरिसकेका कंडेलले विभिन्न कार्यक्रम र अभियानमा संयोजनकारी तथा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । पशुपतिनाथ मन्दिर स्कटल्यान्डमा समेत सचिव रहेका उनी अन्य विभिन्न सामाजिक संघसंस्था र अभियानमा पनि सक्रिय छन्।

स्कटल्यान्डमा नेपाली दूतावासको घुम्तीसेवा, पहिलो नेपाली मेलाजस्ता कार्यक्रमहरुको संयोजनदेखि एनआरएनए र स्थानीय समुदायका सबै कार्यक्रम तथा अभियानमा पनि कंडेलले सक्रिय भूमिका निर्वाह गरेका छन् ।

संस्थालाई बुझेको र वर्षौंसम्म सशक्त काम गरेको आधारमा पनि आफ्नो उम्मेदवारी जायज र सशक्त रहेको उनले विश्वास लिएका छन् ।

बेलायतवासी सबै नेपालीहरुबाट साथ, सहयोग आव्हान गर्दै कंडेलले भनेका छन्, ‘यहाँहरुले दिनुभएको हौसलाले नै दुई दशकभन्दा लामो समयदेखि सामाजिक कार्यमा छु । अहिलेसम्म धेरै फोकस स्कटल्यान्डमै भयो । अब बेलायतभरको नेपाली समुदायसंग काम गर्न उत्साहित छु । स्कटल्यान्ड र सिंगो बेलायतको नेपाली समुदायलाई जोड्न र सद्भाव, सहकार्य बढाउंदै अघि बढ्न निरन्तर कोशिस गर्ने वचनवद्धता व्यक्त गर्दछु ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू