तमु समाज यूकेको स्वास्थ्य तथा कल्याण तालिम प्रभावकारी



लण्डन– तमु समाज यूकेले स्वास्थ्य र कल्याण सम्बन्धी एकदिने तालिम सम्पन्न गरेको छ।
समाजकी आजीवन सदस्य तथा पेशेवर नर्स श्रीमती मनिका गुरुङको सहकार्यमा वारहम पार्कस्थित तमु समाज कम्युनिटी हलमा उक्त तालिम गरिएको हो । तालिममा समाजका सदस्यहरू, जेष्ठ आमाबाबा तथा अन्य समुदाय सदस्यहरूको सहभागिता थियो।
बिग लटरी फन्डबाट प्राप्त आर्थिक सहयोग अन्तर्गत संचालन गरिएको सो तालिममा श्रीमती मनिका गुरुङले स्वास्थ्य जीवनशैली, सन्तुलित आहार, र स्वास्थ्यमा प्रभाव पार्ने खाद्य पदार्थहरूका बारेमा जानकारीमूलक प्रस्तुति दिइन्।
उनले विशेष गरि स्वास्थ्यका लागि कस्तो खाना लाभदायक हुन्छ? कुन खाना हानिकारक मानिन्छ? पोर्शन साइज कस्तो हुनुपर्छ? स्वास्थ्य जीवनशैलीका लागि दैनिक व्यवहारमा के–कस्ता सुधार गर्न सकिन्छ? जस्ता विषयमा जानकारी दिइन् ।
यसबाहेक, तालिममा जेष्ठ नागरिकहरूका लागि उपयुक्त दैनिक व्यायामहरू पनि प्रस्तुत गरिएको थियो जसले उमेर अनुसारको शारीरिक सक्रियता कायम राख्न सहयोग पुर्याउँछ।
तालिममा सजिलो स्ट्रेचिङ (तनाव कम गर्न र लचिलोपन बढाउन), घाँटी र काँध घुमाउने अभ्यास (तनाव हटाउन), कुर्सीमा बस्दै खुट्टा उठाउने अभ्यास (खुट्टा बलियो बनाउन), एकै ठाउँमा हिँड्ने अभ्यास (रक्त सञ्चार सुधार गर्न), हात उठाउने र शरीर साइडतिर तान्ने अभ्यास (जोर्नीको लचिलोपन बढाउन), गहिरो श्वासप्रश्वास अभ्यास (तनाव घटाउन र फोक्सोको क्षमता बढाउन) बारे सुझाइएको थियो ।
यी व्यायाम घरमै सजिलै गर्न मिल्ने, कम प्रभाव पर्ने र उपकरण नचाहिने भएकाले जेष्ठ नागरिकहरूका लागि निकै उपयुक्त मानिन्छ।
कार्यक्रम बिहान १० बजे सुरू भई दिउँसो ३ बजे सम्पन्न भएको थियो। सहभागीहरूले तालिमलाई प्रयोगशील, व्यवहारिक र जानकारीमूलक भएको प्रतिक्रिया दिएका छन्।
तमु समाज यूकेकी अध्यक्ष श्रीमती बिन्दु गुरुङ घलेले प्रशिक्षक गुरुङप्रति धन्यवाद व्यक्त गर्दै उनको समय, ज्ञान र सहयोगप्रति आभार प्रकट गरिन्।
साथै, कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सल्लाहकार याम बहादुर गुरुङ र आजीवन सदस्य बालकृष्ण गुरुङलाई पनि धन्यवाद दिइन् ।
कार्यक्रममा सहभागी सम्पूर्ण सदस्यहरूप्रति समेत समाजले हार्दिक आभार व्यक्त गरेको छ।
यस तालिम कार्यक्रमका लागि बिग लटरी फन्डका समन्वयकर्ताहरू अवकाशप्राप्त कप्तान टेसेर्जाङ गुरुङ (सचिव) र संस्थापक अध्यक्ष चित्र गुरुङ थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५