आइतबार, १३ जुलाइ, २०२५
00:53 | ०५:३८

एनआरएनए यूके महासचिवमा स्कटल्याण्ड राज्य परिषद अध्यक्ष दिवाकर पाण्डेको उम्मेद्वारी

नेपाली लिङ्क जुलाइ १२, २०२५


लन्डन- एनआरएनए यूकेको महासचिव पदमा स्कटल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष दिवाकर पाण्डेले उम्मेद्वारी दिने भएका छन्।

आइतबारको उम्मेद्वारी दर्ता कार्यक्रमको पूर्वसन्ध्यामा शनिबार बेलुका उनले महासचिव पदमा उम्मेद्वारी दिने निचोडमा पुगेको जानकारी नेपालीलिंकलाई गराए।

स्कटल्याण्ड राज्य समन्वय परिषदका वर्तमान अध्यक्ष पाण्डेले त्यसअघि परिषदमा सचिवको जिम्मेवारी समेत सम्हालिसकेका छन्।

‘राज्य समन्वय परिषदमा दुई कार्यकाल अनुभव बटुलें। पछिल्लो दुई वर्ष नेतृत्व नै सम्हालेको छु। यस अवधिमा संगालेको अनुभव र सिकाइलाई अब राष्ट्रिय समन्वय परिषदमा सदुपयोग गर्ने मेरो आकांक्षा छ’, पाण्डेले भने।

बेलायतवासी सबै नेपालीको साथ, सहयोगको अपील गर्दै उनले नतिजाकेन्द्रित आफ्नो सामाजिक कार्यमा हौसला थपिदिन आग्रह गरेका छन्।

‘जस्तोसुकै अफ्टेरो अवस्थामा पनि मेरो नेतृत्वमा एनआरएनए स्कटल्याण्डले नमुना कामहरु सम्पन्न गर्न सकेकोमा गौरव छ। दूतावाससंग मिलेर इतिहासकै पहिलो नेपाली मेला भव्यताका साथ सफल बनायौं। नियमित दूतावासको घुम्ती शिविर चलायौं’, आफ्नो कार्यकालको स्मरण गर्दै भने, ‘एनआरएनए यूकेमा पनि पहिलोपटक स्कटल्याण्डबाट ऐतिहासिक संख्याको सदस्यता बिस्तार गरायौं।’

बोलीभन्दा कामबाटै देखाउने आफ्नो अठोट दृढ रहेको जनाउंदै पाण्डेले एनआरएनए यूकेको महासचिव पदमा पुगेर पनि नातिजाजुखी काम देखाउने प्रतिवद्धता गरेका छन्।

सामाजिक कार्यमा लामो समयदेखि सक्रिय उनी स्थानीय पशुपति मन्दिर, फाइफ नेपाली कम्युनिटीलगायतमा पनि सचिवको भूमिकामा छन्।

एनआरएनए यूके निर्वाचन यही जुलाइ २६ मा अनलाइन हुँदैछ। जम्मा ३५ सय मतदातामध्ये स्कटल्याण्डबाट मात्रै १५ सय बढी छन्।

अध्यक्ष पदमा हालसम्म स्कटल्याण्डबाट काशीराम भण्डारी र मनिष खत्रीसंगै गोविन्द खरेल र राजेन्द्र पुडासैनीले पनि उम्मेद्वारी दिने घोषणा गरेका छन्। उम्मेद्वारी दर्ता १३ जुलाइ आइतबार गरिंदैछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू