सोमबार, १४ जुलाइ, २०२५
00:15 | ०५:००

अल्डरसटमा भव्य समारोहबीच क्षेत्री समाज बेलायतको १८ औं वार्षिक भेला

नेपाली लिङ्क जुलाइ १३, २०२५

लन्डन । क्षेत्री समाज बेलायतले एक भव्य समारोहबीच शनिबार आफ्नो १८ औं वार्षिक भेला सम्पन्न गरेको छ ।

अल्डरसटस्थित एम्पायर हलमा आयोजित उक्त भेलामा समाजका विभिन्न व्यक्तित्व र उच्च शिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई अवार्ड एवं नेपाल र बेलायतका राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति गरियो ।

कार्यक्रम उद्घाटन समाजका अध्यक्ष टेक जिसी, प्रमुख अतिथि रोयल बरो अफ ग्रीनवीच काउन्सिलका पूर्व मेयर काउन्सिलर जीत रानाभाट, समाजका संरक्षक ध्रुव केसी र संस्थापक अध्यक्ष कृष्ण बहादुर थापाकी जीवनसंगिनी संगीता थापाले संयुक्त रुपमा गरेका थिए ।

पहिलो औपचारिक कार्यक्रममा प्रमुख अतिथी  रानाभाटले समाजले गरेका उदाहरणीय कामको प्रशंसा गरे । उनले जातभन्दा माथि उठेर समाजले समग्र समुदायकै लागि विभिन्न सामाजिक कार्य गरेकामा धन्यवाद पनि दिए ।

मन्तव्यका क्रममा समाजका संरक्षक ध्रुव केसीले झण्डै १२ वर्षको मेहनतपछि संस्था बेलायतको च्यारिटी कमिसनमा दर्ता हुन सफल भएकामा सबैप्रति आभार व्यक्त गर्दै अब यसको उद्देश्य अझ सार्थक हुने आशा व्यक्त गरे ।

क्षेत्री समाज बेलायतका अध्यक्ष टेक जिसीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै संस्था च्यारिटीमा दर्ता भएसंगै अझ मजवुत बनेको बताए । अध्यक्ष जिसीले आगामी दिनमा सबैको सहकार्यबाट प्रभावकारी कार्य गर्दैै जाने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रम सञ्चालन गर्दै संयोजक तथा समाजका उपाध्यक्ष नरेन्द्र बस्नेतले क्षेत्री समाजमा सबै जातजाति समेटिएको उल्लेख गरे । उनले संस्था हालै च्यारिटीमा दर्ता भएपछि यसको मुल नारा नै जातका लागि होइन साथका लागि राखिएको जनाए ।

कार्यक्रममा पूर्व अध्यक्ष भीम बानियाले आफ्नो ६४ औं जन्मदिनको उपलक्ष्यमा क्षेत्री वेलफेयर सोसाइटीको सहयोगार्थ ८ घण्टाभित्र स्कटल्याण्डको बेन नेभिस चढ्ने उद्घोष गर्दै गोफण्डमार्फत च्यारिटीमा सघाउन सबैमा अपिल गरे ।

कार्यक्रममा आइटी विज्ञ निरन्जन कुंवर तथा सफल युवा व्यवसायी राज पाण्डेलाई उनीहरुको सफल करिअर एवं व्यवसायिक प्रगतिका लागि विशेष सम्मान गरियो ।

साथै बेलायतको विभिन्न विश्वविद्यालय तथा स्कुलमा अध्ययन गरेर उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरु तथा नयां आजीवन सदस्यहरुलाई मायाको चिनो र खादासहित अवार्ड प्रदान गरिएको थियो । समाजको आजीवन सदस्यता प्राप्त  गर्ने नयाँ  सदस्हयरुलाई पनि मायाको चिनोसहित सम्मान गरिएको थियो

समाजका महासचिव बुद्धिबहादुर भण्डारी एमभिओले सम्मानित व्यक्तित्वहरुको नाम घोषणा गरेका थिए ।

दोश्रो चरणको सांगीतिक कार्यक्रम सांस्कृतिक सचिव सन्तोषी कार्की र उज्ज्वल कार्कीले सञ्चालन गरे । सो क्रममा नेपालबाट आएका चर्चित कलाकारहरु गायक गायिका सुनिता दुलाल, बालचन्द्र बराल र रमिला बुढामगर तथा स्थानीय कलाकार निराजन केसीले गायन प्रस्तुत गरे ।

सो अवसरमा बेलायतमै जन्मिएका हुर्किएका आदिती अधिकारी, सन्जोग जीसी, रक्षा क्षेत्री, माया खड्का, बेन्सन क्षेत्री, श्रेया कुँवर, इलिसिया थापा, कृष्टा थापा, रुपा थापा, निरन्जन केसीलगायत किशोरकिशोरीहरुले नाच प्रस्तुत गरे ।

रचना क्षेत्रीले स्वागत नृत्य गरेकी थिइन् । समाजका आजीवन सदस्य हेम विष्टले साउण्ड सिस्टम व्यवस्थापन गरेका थिए ।

कार्यक्रममा राफल ड्र समेत गराइएको थियो जसको संयोजन माया केसी र बिनिता क्षेत्री खड्काले गरेका थिए । विजेतालाई पुरस्कार स्वरुप सुनका गरगहना र नगदसहित विभिन्न आकर्षक गिफ्ट ह्याम्पर दिइयो ।

पहिलो र दोश्रो पुरस्कार क्रमशः सुनको चन्द्रमा र सुनको खुकुरी क्षेत्री समाज आफैंले प्रायोजन गरेको थियो भने ११० पाउण्ड नगद पुरस्कार संगीता थापा, १०१ पाउण्ड पुरस्कार गोर्खा स्टोर फेल्थाम र अन्य आकर्षक गिफ्ट ह्याम्परहरु माया केसी, सन्जयध्वज भण्डारी, अमिका क्षेत्री, बिनिता बस्नेत लगायतले प्रायोजन गरेका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू