शनिबार, वैशाख ८, २०८१
11:49 | १६:३४

नेपालमा हालसम्मकै उच्च ३ हजार ४ सय ३९ नयाँ संक्रमित

१५ को मृत्यु

रासस अक्टोबर ७, २०२०

काठमाडौं । देशभर आज तीन हजार ४३९ सङ्क्रमित थपिएसँगै कुल सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार सात पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार ६८४ सङ्क्रमित थपिएको जानकारी दिए ।

उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा एक हजार २९६, भक्तपुरमा ९५ र ललितपुरमा २९३ छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १४ हजार २०९ नमूना परीक्षण भएको थियो । हालसम्म ११ लाख १३ हजार ४८५ नमूना परीक्षण भइसकेको छ । 

देशभर पछिल्लो २४ घण्टामा एक हजार १२६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या जम्मा ६८ हजार ६६८ रहेको छ । यो जम्मा सङ्क्रमितमध्ये ७२ प्रतिशत हो ।

देशभर क्वारेन्टिनमा रहनेको सङ्ख्या चार हजार १६४ छ । देशभर सक्रिय सङ्क्रमितमध्ये १० हजार ५९६ संस्थागत आइसोलेसन र १४ हजार ४११ होम आइसोलेसनमा रहेका छन् । 

प्रदेशअनुसार संस्थागत आइसोलेसनमा सक्रिय सङ्क्रमित प्रदेश १ मा ५४६, प्रदेश २ मा ३३३, बाग्मती प्रदेशमा सात हजार ९०८, गण्डकी प्रदेशमा ४४१, लुम्बिनी प्रदेशमा ८४२, कर्णाली प्रदेशमा ३५२ र सुदूरपश्चिम प्रदेशमा १७४ रहेका छन् । 

त्यस्तै होम आइसोलेनमा प्रदेश १ मा एक हजार ८४७, प्रदेश २ मा ५३०, बाग्मती प्रदेशमा नौ हजार १७२, गण्डकी प्रदेशमा ५६५, लुम्बिनी प्रदेशमा एक हजार ४७४, कर्णाली प्रदेशमा ३१५ र सुदूरपश्चिम प्रदेशमा ५०८ रहेका छन् । 

देशभर गरी २३३ सङ्क्रमित आइसियुमा रहेका छन् । प्रदेश १ मा २७, प्रदेश २ मा १४, बाग्मती प्रदेशमा १२७, गण्डकी प्रदेशमा छ, लुम्बिनी प्रदेशमा ४१, कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा एक जना आइसियुमा रहेका छन् । 

त्यस्तै भेन्टिलेटरमा रहेका सङ्क्रमितको सङ्ख्या प्रदेश १ मा चार, प्रदेश २ मा दुई, बाग्मती प्रदेशमा २५ र लुम्बिनी प्रदेशमा छ गरी जम्मा ३७ रहेको छ । मन्त्रालयको कल सेन्टरमा पछिल्लो २४ घण्टामा ८९६ कल प्राप्त भएको पनि डा गौतमले बताए । 

प्रवक्ता डा गौतमले काठमाडौँ उपत्यकालगायत देशभरमा सङ्क्रमितको सङ्ख्या दैनिक बढिरहँदा बिरामीले आफूलाई पायक पर्ने स्थानमा अस्पतालको शैय्या नपाउने अवस्था भएको बताए ।

उपत्यकामा पछिल्लो समयमा चुनौती अझै थपिरहेको उनको भनाइ छ । सार्वजनिक स्थानमा भीडभाड बढ्नु, मास्कको सही प्रयोग हुन नसक्नुलगायत व्यवहारका कारण जोखिम बढ्दै गएको उनले औँल्याए । 

धेरै नागरिकले दशैँ, तिहारलगायतका चाडपर्व नजिकिँदै गर्दा कोरोना बिर्सिए जसरी घर बाहिर निस्कन थालेको उनले बताए । कतिपयले सामान्य रुघाखोकी लाग्नासाथ अस्पताल गएको भन्दै उनले थप लक्षण देखिए मात्रै अस्पताल जान पनि सुझाव दिए । उनले भने, “सास फेर्न, पिसाब फेर्न गारहो वा पिसाब नै नहुने भएमा मात्रै अस्पताल जानुपर्छ ।”

सात जिल्लामा बढी र तीन जिल्लामा शून्य सङ्क्रमित

आजसम्म देशभरका ७७ जिल्लामध्ये सात जिल्लामा सङ्क्रमित ५०० बढी छन् भने तीन जिल्लामा शून्य छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही रहेका छन् ।

त्यस्तै सङक्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा मनाङ, मुस्ताङ र सोललुखुम्बु रहेका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू