शुक्रबार, चैत १६, २०८०
18:16 | ००:०१

पूर्व-पश्चिम तनाव र सम्भाव्य विश्वयुद्ध

धन बुढाथोकी मगर सेप्टेम्बर १५, २०२०

नैतिक राजनीतिको आवरणमा मौलाइरहेको अर्थ राजनीति अहिले पराकाष्ठामा पुगेको छ । विशेष गरी अमेरिकन दादागिरी र चीनको विकास, प्रगति पूर्व पश्चिम तनावको कारण बनिरहेको छ ।

सन् १९५०-६० को दशकसम्म चीनलेअत्यन्त गरीबी तथा दुश्काल भोगिरहेको भएपनि तत्कालीन सोभियत संघको सहयोगमा परमाणु हतियार बनाउन सुरुवात गरेको थियो । त्यो समयमा अमेरिकनहरु आफ्ना बाल बालिकाहरुलाई चीनमा भोकाएका बालबालिकाहरु छन्, तिमी तिम्रो खाना खाऊ भन्ने गर्थे रे ।

सन् १९७०-८० को दशक पहिला चीन पूर्णत कृषिमा आश्रित गरीब राष्ट्र थियो । त्यस अवधिमा चीनमा औधोगिक विकास भयो । सन् १९७८ मा चीनले अर्थनीति सुधार गरयो । फोब्र्स म्यागाजिन र अन्य पत्रपत्रिकाका अनुसार त्यो समयबाट चीनको जीडीपी ९ प्रतिशतको दरमा रह्यो ।

सन् १९८८ -१९९८ को अवधिमा चीनले पहिलोपटक व्यापक औधोगिक क्रान्ति सुरु गरयो । त्यो समयबाट चीनको विकास अति द्रुत गतिमा भयो । त्यो विकासक्रम देखेर पश्चिमाहरु कतै चीनको आर्थिक विकासको पछाडि कुनै गोप्य हर्मोन तत्व त छैन् भन्नेसम्म सोच्न पुगे ।

चीनको विकास गति यस्तो किसिमले वृद्धि भयो कि कसैलाई पत्याउन 
गारहो परिरहेको थियो र अहिले पनि परिरहेको छ । यस्तो द्रुत गतिमा विकास हुनुका ३ वटा रहस्यहरु थिए- १. ठूलो जनसंख्याको कारणले प्रचुर जनस्रोत २. वृहत उत्पादन क्षमता ३. पूंजीगत लगानी, पृथक विकास नमुना, उत्पादनमैत्री नीति तथा आधुनिक प्रविधि ।

सुरुमा चिनीयाहरु नक्कल चाप्लुसीको सर्वोच्च स्वरुप हो भन्ने ठान्ने गर्थे । चीनमा प्रविधि आयात गरिएको प्रसंग रोचक र चालाखीपूर्ण छ । माछा नदेउ, बरु माछा मार्न सिकाइदेऊ भन्ने युक्तिलाई आत्मसात गरेर यो देशले विकास गरेको देखिन्छ । चीनको निर्माण सेवा नक्कलबाट सुरु भएको थियो । उनीहरु ठूला ठूला ब्राण्ड कम्पनीका वस्तुहरूको नक्कल उत्पादन गर्न थाले । फलस्वरूप उनीहरु उपभोग्य वस्तु उत्पादन गर्ने देशको रुपमा परिचित भए । अनी विकसित देशहरुले त्यसको फाइदा लिन सुरु गरे ।

साथै आफ्ना वस्तु निर्माण गर्ने कलकारखाना चीनमा स्थानान्तरण गर्न थाले। यसले गर्दा चिनमा प्राविधिक ज्ञान भित्रियो । चिनीयाहरुले वैैदेशिक कम्पनीहरुलाई सिप सिकाउन बाध्य पार्थे । त्यसपछि उनीहरु स्वयं दक्ष बने । अहिले चिनीयाहरुले अत्यन्त आधुनिक तथा जटिल प्रविधि विकास गरेका छन् । परीणामस्वरुप चीन आज आर्थिक तथा सामाजिक दुवै रुपमा बालियों भएको छ । यही आधारमा आर्थिक गतिविधिलाई विश्लेषण गर्ने अधिकांश मानिसहरु अब चीन विश्व शक्ति हुनेछ भनिरहेका छन् । यसकै कारण पूर्व र पश्चिम अर्थात् चीन र अमेरिकाबीच तीव्र गतिमा तनाब बढिरहेको देखिन्छ ।

विशेष गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उनका राज्य सचिव माइक पोम्पेओ चीनप्रति आक्रामक बनिरहेको अवस्था छ । डोनाल्ड ट्रम्पको उदय कसरी भयो ? अधिकांश अमेरिकन राजनीतिज्ञहरु उनलाई बेतुक अनी बुझ्न नसकिने व्यक्तित्व मान्दछन् । सन् १९८० ताका उनले जापानसंगको व्यापार निष्पक्ष छैन्, हामीले जापानसंग ठूलो व्यापार घाटा बेहोर्नुपरेको छ भन्थे ।

त्यसपछि उनी चीन अमेरिकाको मुख्य प्रतिद्वन्दी तथा खतरा हुने भन्दै आए । करिब ३० वर्ष लामो समयपश्चात सन् २०१६ मा ट्रम्पको पूर्वीय व्यापारविरुद्धको अभियान आम दर्शकसामू पुग्यो । यही कारण सन् २०१६ को राष्ट्रपति चुनावमा हिलारी क्लिन्टनलाई पछि पारेर उनी राष्ट्रपति चुनिए ।

भनिन्छ, ट्रम्प राष्ट्रपतीय चुनावमा विजयी हुनुको एउटा प्रमुख कारण अमेरिका चीन व्यापार एजेन्डा थियो । चुनाव प्रचारप्रसारको क्रममा एकचोटी उनले २ घन्टाको सभामा ३० मिनेटसम्म चीनसंगको व्यापारबारे बोलेका थिए । जसले अमेरिकन जनताको मन मस्तिष्क छोएको थियो भन्ने बुझाइ छ । अति राष्ट्रवादी उनको अर्को चुनावी नारा थियो । उनले मेक्सिकन आप्रवासीहरुलाई बढी आलोचना गरे ।

मदिरा ओसारपसार गर्ने झुन्ड र देश लुटेरा भन्दै अमेरिकाको संस्कृति तथा सेवाप्रति अत्यधिक चाप परेको भनेर समग्र आप्रवासीलाई अनेक लान्छना लगाएका थिए । उनको यो अभियानले अमेरिकन मतदाता भित्र ठूलो मानसिक परिवर्तन ल्याइदियो । अर्को रोचक विषय रसियाले अमेरिकन राजनीतिमा दखल गरेको थियो भन्ने पनि छ ।

त्यतिबेला युक्रेनप्रति रसियाको नीतिबारे पश्चिमाहरु त्यति खुसी थिएनन् । सन् २०१४ ताका युक्रेनी राष्ट्रपति भिक्टोर यानुकोभविरुद्ध ठूलो आन्दोलन भयो । भिक्टोर यानुकोभ रसियापरस्त राष्ट्रपति थिए । त्यसैले पश्चिमी राष्ट्रहरु विशेष गरी अमेरिका उनलाई पदच्युत गर्न चाहन्थ्यो । युक्रेनी जनतालाई उनको विरुद्धमा उचालिएको थियो ।

फलस्वरूप आन्दोलनले चरम रुप लियो । त्यतिबेला अमेरिकी कूटनीतिक अधिकारीहरू खुलेआम उनको विरोधमा आन्दोलनकारीमाझ उत्रिएका थिए । अन्तत 
रसियाले सैनिक शक्ति प्रयोग गरेर क्रिमियालाई 
रसियाअन्तर्गत गाभ्यो । त्यो समयमा हिलारी क्लिन्टन विदेशमन्त्री थिइन् र उनले क्रान्तिकारीहरुलाई समर्थन गर्दै विभिन्न वक्तव्यबाजी गरिरहेकी थिइन् । त्यसकै परिणाम स्वरुप हिलारी क्लिन्टनलाई पराजय गराउन रसियन राष्ट्रपति भ्लादामिर पुटिन लागि परेका थिए भनिन्छ । हिलारिका तीस हजार इमेल ह्याक गरिएर उनको राष्ट्रपतीय चुनाव प्रचार प्रसारमा दखल पुरयाइएको थियो भन्ने समाचारहरु आएका थिए ।

यस वर्ष सन् २०२० मा अमेरिकन राष्ट्रपतीय चुनाव हुंदैछ । रिपब्लिकन पार्टीको तर्फबाट ट्रम्प राष्ट्रपतिको उम्मेदवार हुन् । त्यसैगरी जो बाइडन डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका लागि उम्मेदवार छन् । यस वर्षको राष्ट्रपतीय चुनावमा ट्रम्पले चाइना कार्ड र राष्ट्रवाद प्रयोग गरेर सम्भवतः पुन जीत हात पार्न सफल हुनेछन् । यहां आश्चर्य लाग्दछ, के अमेरिका भन्दा अन्य देशहरु शक्तिशाली र धनी हुन मिल्दैन् ? के अमेरिका यूद्ध भड्काएर चीन लगायत भर्खर प्रगति गरिरहेका अन्य देशहरुलाई तहसनहस पार्न चाहन्छ ?

हाल डोनाल्ड ट्रम्पले आफ्नो स्वार्थ पूरा गर्न चीन लगायत विश्वका अन्य राष्ट्रहरुमा दवाव, नाका बन्दी, युद्ध भड्काउने अभिव्यक्ति दिंदै चुनावी अभियान तीव्र पारिरहेका छन् । विशेष गरी चीन डोनाल्ड ट्रम्पको मुख्य दुष्मन भएको छ । उनी आफ्नो बलबुताले भ्याएसम्म चीनविरुद्ध लागेका छन् ।

चीनका कारण अमेरिकाले नेपालभित्र पनि आफ्नो बर्चश्व कायम गर्न खोजेको देखिन्छ । यदि एमसीसीमार्फत अमेरिकाले नेपालमा आफ्नो अखडा जमायो भने आञ्चर्य मान्नुपर्ने छैन् । एमसीसी के हो ? यसबारे विगतमा व्यापक छलफल तथा टिप्पणीहरु भएका छन् । यो एक अमेरिकन लगानी हो नेपालमा जलविद्युत र यातायातका मार्ग विकास निर्माण गर्ने । तर नेपाली जनमानस यसको पक्षमा देखिंदैन् । तथापि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी पास गराउने पक्षमा छन् । जुन् दुःखद विषय हो ।

चीनको प्रगति देखेर अमेरिकाले पूर्ण असहिष्णुता प्रकट गर्दै आएको छ । जसले गर्दा निम्तिएको पूर्व पश्चिमको यस तनावले विश्व पुनः युद्धमा होमिने त होइन् भन्ने हामी सबैको चिन्ताको विषय हुन सक्छ । तर आशा गरौं, त्यसो नहोस् र विश्वमा शान्ति कायमै रहिरहोस् ।

(लेखक स्वीन्डन नेपाली समाजका पूर्व अध्यक्ष हुन्)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू