शुक्रबार, वैशाख १४, २०८१
05:31 | १०:१६

नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार नाघ्यो, थप १५ को मृत्यु

रासस सेप्टेम्बर १४, २०२०

काठमाडौँ, २९ भदौ–कोराना भाइरस (कोभिड १९) को सङ्क्रमण आज एक हजार १७० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ३९९ महिला र ७७१ पुरुषमा सङ्क्रमण देखिएको बताए ।

उनका अनुसार  १० हजार ८७८ जनामा गरिएको पिसिआर परीक्षणमा एक हजार १७० जनामा सङ्क्रमण देखिएको हो ।

आज देखिएकासँगै नेपालमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ५५ हजार ३२९ पुगेको छ । त्यस्तै अहिलेसम्म कूल आठ लाख ५१ हजार ४०५ जनामा पिसिआर परीक्षण गरिएको छ । 

यस्तै विगत २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन् । हालसम्म ३९ हजार ५७६ जना डिस्चार्ज भएका छन् । कोभिड १९ जितेर ७१.५४  प्रतिशत सङ्क्रमित घर फर्किसकेका छन् । यस्तै सङ्क्रमितमध्ये १५ हजार ३९३  सक्रिय छन् ।

यस्तै सात हजार २७५ होमआइसोलेसन, आठ हजार ११८ संस्थागत आइसोलेसन र छ हजार ८९२ जना क्वारेन्टिनमा छन् । 

यसैगरी सङ्क्रमितमध्ये सघन उपचार कक्ष (आइसियु) मा १७९ र भेन्टिलेटरमा २९ जना रहेका छन् । आइसियुमा प्रदेश नं. १ मा पाँच, प्रदेश नं २ मा नौ, वागमतीमा १२९, गण्डकीमा छ, प्रदेश नं ५ मा २० जना र कर्णाली प्रदेशमा १० जना छन् ।

यस्तै भेन्टिलेटरमा प्रदेश नं. १ मा एक, वागमतीमा २६, प्रदेश नं. ५ मा एक र सूदुरपश्चिम प्रदेशमा एक जना रहेका छन् । 

सात जिल्ला संक्रमण शून्य

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार ५०० भन्दा बढी सङक्रमित भएका सात जिल्ला मोरङ, सुनसरी, सर्लाही, काठमाडौ, चितवन, भक्तपुर र  रुपन्देही छन् ।

सङ्क्रमति शुन्य रहेकामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला रहेका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू