शुक्रबार, वैशाख ७, २०८१
07:18 | १२:०३

ब्रेक्जिटपछि नेपालीलाई बेलायतमा राम्रो अवसर

नेपालका दक्ष जनशक्तिलाई बेलायतमा काम र व्यवसाय गर्न ढोका खुल्ने

नेपाली लिङ्क सेप्टेम्बर ८, २०२०


लन्डन । ब्रेक्जिट (ईयूबाट बेलायतको बहिर्गमन) को संक्रमणकालिन समयसीमा यही ३१ डिसेम्बरमा सकिंदै छ । अहिले बेलायत र युरोपेली संघ (ईयू) बीच पोष्ट ब्रेक्जिट सम्झौताका लागि वार्ता जारी छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले गत डिसेम्बरको आमनिर्वाचनमा अत्याधिक वहुमत हासिल गरेपछि ईयूसंग वार्ता सहज नभए बिना सम्झौता (नो डिल) नै बहिर्गन हुने आफ्नो नीति स्पष्ट पार्दै आएका छन् । वहुमत बेलायती ब्यवसायीले बोरिस नीतिको आलोचना गरेपनि यसले ईयूलाई थप लचिलो हुन वाध्य बनाएको छ ।

ईयूभित्र जर्मनीपछि बेलायतको अर्थतन्त्र सबैभन्दा ठूलो छ । त्यसकारण पनि रोजगार, उत्पादन, ब्यापार, सुरक्षा लगायत अन्य विषयमा यी दुबैका लागि निकट सम्बन्ध अत्यावश्यक छ ।

नेपालीलाई के फाइदा हुन सक्छ ?

ब्रेक्जिटपछि बेलायतको अध्यागमन नियम परिवर्तन गरी दक्ष र सीप भएका मानिसलाई मात्र बेलायतमा काम गर्न अवसर दिइने बेलायती नीति घोषणा भइसकेको छ । अंकमा आधारित उक्त प्वाइन्ट बेस्ड इमिग्रेसन सिस्टमले नेपालका दक्ष जनशक्तिलाई बेलायतमा काम गर्न आउने ढोका थप सहज रुपले खुल्ने विश्वास अर्थ व्यवस्थापनविदहरुको छ ।

बेलायतले ब्रेक्जिटपछि विभिन्न देशसंग ब्यापार सम्झौता गर्ने हुंदा नेपाल सरकारले पनि यस अवसरमा बेलायतसंग राम्रो ब्यापारिक सम्बन्ध बनाई नेपाली उत्पादन बेलायती बजारमा प्रवर्धन गर्ने ठूलो मौका हुने विश्वास अर्थव्यवस्थापनका जानकार बिकलचन्द्र आचार्यको छ ।

ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष डा. कपिल रिजाल ब्रेक्जिटपछि शुरुका वर्ष बेलायतलाई केही अप्ठेरो भएपनि नेपाल र नेपालीलाई भने फाइदा पुग्ने धारणा राख्छन् ।

‘ब्रेक्जिटपछि नेपालबाट विद्यार्थी र दक्ष जनशक्तिलाई यूके प्रवेश सहज हुने आशा गर्न सकिन्छ र व्यापारी पनि यसबाट लाभान्वित हुन सक्छन्’, रिजालले भने, ‘नेपालमा भएका व्यवसायीले ईयूबिना बेलायतसंग सिधै डिल गरि चिया, कफी, हयाण्डीक्राफ्ट जस्ता व्यवसाय गर्न सक्छन् ।

बेलायतमा रहेका व्यवसायीलाई पनि विद्यार्थीहरु बेलायत आउने भएपछि जनशक्ति सजिलै उपलब्ध हुनेछ ।’

बेलायत नेपाल दुई सय चार वर्ष भन्दा बढीको सम्बन्धले गर्दा पनि ब्रिटेनले नेपाललाई हेर्ने दृष्टिकोण फरक र लचक हुने विश्वास डा. रिजालको छ ।

बेलायतको युनिभर्सिटी अफ नर्थहयाम्पटनमा अन्तर्राष्ट्रिय व्यापार तथा रणनीतिका लेक्चरर डा. बुद्धि पाठक बेलायत र ईयू बिना सम्झौता बाहिरिए कोभिड १९ महामारीको अनिश्चितताबीच अप्रत्यासित सामाजिक तथा आर्थिक प्रभाव पर्ने औंल्याउंछन् ।

डा. पाठक पोष्ट ब्रेक्जिटमा कुनै जाती वा वर्गलाई तुरुन्त फाइदा हुने देख्दैनन् । तर नेपालीहरु सेक्युरिटी, सरसफाइ, हस्पिटालिटी जस्ता क्षेत्रमा काम गर्ने भएकाले पूर्वी युरोपेली श्रमिकहरुसंग भने कम प्रतिष्पर्धा हुने उनको विश्वास छ ।

दोश्रो पुस्ताका नेपालीलाई भने ब्रेक्जिटपछि ‘ग्रयाजुएट जब’ का लागि युरोपेलीसंग न्यून प्रतिष्पर्धा हुन सक्ने पाठकले बताए । ब्रिटिश सरकारले बेलायती जनतालाई ‘हेल्थ केयर’ क्षेत्रमा शिक्षित बनाउन ‘स्किल्स् अप फण्ड्स’ को प्रतिज्ञा गरेकाले नर्सिङ क्षेत्रबाट नेपालीमुलका बेलायती पनि लाभान्वित हुने पाठकको धारणा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू