शनिबार, वैशाख ८, २०८१
15:27 | २०:१२

जारी छ पूर्वपश्चिम रेलमार्गको काम

रासस सेप्टेम्बर ६, २०२०

फाइल तस्विर

सर्लाही ।  लकडाउन तथा निषेधाज्ञाका समयमा  बर्दिबास–सिमरा विद्युतीय रेलमार्गको कामले निरन्तरता पाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम रेलमार्गको बर्दिबासबाट रौतहटको गुजरासम्मको कामलाई १७ खण्डमा विभाजन गरिएको छ ।

यस खण्डमा १५  साना तथा ठूला  पुल निर्माण भइरहेको छ । बर्दिबासबाट सिमरासम्मको १०८ किलोमिटरमध्ये बर्दिबासबाट रौतहटको गुजरा नगरपालिकासम्मको ७० किलोमिटरमा बोलपत्र भई करिब ५० प्रतिशत काम सम्पन्न भएको रेल इञ्जिनीयर सुरेश साहले जानकारी दिए ।

उनका अनुसार सो खण्डमा विभाजन गरिएको मार्गका बीचबीचमा पानी बग्न र जनावरलाई आवतजावत गर्नका लागि करिब १५० भन्दा धेरै कल्भर्ट निर्माण भइरहेको छ ।

रेलमार्गका काममा लालबन्दी नगरपालिकाले समन्वयात्मक भूमिका निर्वाह गरिरहेको नगर प्रमुख मानबहादुर खड्काले बताए । सबैभन्दा धेरै सार्वजनिक तथा ऐलानी जग्गामा र घर तथा बस्ती परेका स्थानमा समस्या परेका कारण समाधानमा धेरै समय लागेको उनको भनाइ छ ।

बर्दिबासमा मुआब्जाको र जङ्गलको रुख कटानको विवादले गर्दा काम शुरु हुन नसकेको बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले जानकारी दिए   

रेलमार्गको काम निरन्तर जारी रहेको गजुरमुखी निर्माण कम्पनीका प्रतिनिधि टीका गजुरेल बताउँछन् । रेलमार्गको कामलाई आफ्नो कम्पनीले धेरै महत्व दिएर गरिरहेको उनको भनाइ छ । सरकारले गत असार, साउन र यही भदौ तीन महिना नदी दोहन बन्द गरेका कारण माटो भर्ने काम रोकिएको भए पनि अरु काम निरन्तर भइरहेको कम्पनीले जनाएको छ ।

मुआब्जा विवादका कारण सङ्घर्ष समितिसमेत गठन गरेर काम गर्न अवरोध भएका कारण कतिपय स्थानमा काम शुरु हुननसकेको जनाइएको छ । सर्लाहीमा २०  र रौतहटमा ७० प्रतिशत मुआब्जाको विवाद कायमै रहेको जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू